सुन्तलीले मोडिएकी सुमित्रा भन्छिन्–सेवा गर्दा एकदुई जनाले पिटे पनि

बिहिबार, चैत्र ८, २०७४

- बविता ढकाल



काठमाडौँ । सञ्चार क्षेत्रमा लागेपछि प्रायःले पेशा चटक्कै छाडेर अन्य क्षेत्रमा हात हाल्न रुचाउँदैनन् । तर मकवानपुरको हेटौंडा उपमहानगरपालिकास्थित मयुरधापकी २७ वर्षे सुमित्रा चौलागाईँलाई भने सञ्चारक्षेत्र छाडेर मानव सेवामा समर्पित भएकी छिन् । आफ्ना अनगिन्ती दुःख सम्झिएर बसेकी सुमित्राले जब असहाय सुन्तलीलाई देखिन् त्यसपछि उनको जीवनमा क्रान्ति भयो । नौ वर्षसम्म सञ्चारकर्मी भएर काम गरेकी सुमित्रालाई कलम र आवाजको दम भन्दा मिठो सेवाको भावना लाग्यो । उनी भन्छिन्, ‘कलमले अरुको पीडा र खुसीलाई लेख्दा र आवाजमा व्यक्त गर्दा जुन आनन्द मिल्छ त्यो भन्दा सयौं गुणा आनन्द दुःखी र असहायहरुलाई आफैंले स्याहार्दा मिल्दोरहेछ ।’
…………
मकवानपुरको हेटौंडास्थित हेटौंडा एफएम र थाहा सञ्चारमा गरी लगभग नौं वर्ष काम गरेकी सुमित्रालाई सञ्चारक्षेत्रमा काम गरिरहँदा पनि मनमा एउटा कुरा खड्कि रहन्थ्यो । कसरी पीडामा परेकाहरूलाई सहयोग गर्न सकिन्छ भन्नेमा उनी बेलाबेलामा चिन्तित हुन्थिन् । सञ्चारकर्मीको रुपमा काम गर्दा रेडियो नाटकमार्फत जनचेतना फैलाउने काम गरेकी सुमित्रा आफुले काम गरेको संस्थाले वार्षिक उत्सवमा आश्रमहरूमा फलफुल वितरण लगायतका काम गर्दा उनी पनि पुग्थिन् । भजन, गीत गाउने प्रतिभा समेत भएकी सुमित्रा त्यस्ता आश्रमहरूमा भजन गाएर आश्रममा रहेकालाई आनन्दित पार्थिन । समय बित्दै जाँदा सुमित्रालाई असहायहरूको पीडा आफ्नै पीडा जस्तो लाग्न थाल्यो । तर पनि उनलाई लाग्यो म केनै गर्नु सक्छु र ?
…………
हेटौंडा क्याम्पसबाट विएड गरेकी सुमित्रा सानैदेखि प्रतिभावान थिइन् । उनले स्कुलले जीवनमा र सञ्चारकर्मीको रुपमा समेत आफ्ना प्रतिभाबाट अरुको मन जित्न सकेकी थिइन् । तर, आफ्नै परिवारको मन जित्न भने सकेकी थिइनन् । उनी भन्छिन्, ‘मेरो घरमा छोरीले धेरै पढ्नु हुँदैन, चाँडै विहे गरेर अर्काको घर सम्हाल्नुपर्छ भन्ने थियो । कविता लेख्न र भन्न अनि वक्तृत्वकलामा भाग लिए पनि नाच्न र गाउँन उनलाई छुट थिएन । केही सिक्न समेत घरमा बुवासंग झुट बोलेर बजार आउनु पथ्र्यो ।’ त्यसका बावजुद पनि सुमित्राले हार मानिनन् र उनीले रेडियोमा काम गरिन् । नौं वर्षसम्म एउटै संस्थामा काम गरेकी सुमित्राले आफ्नो वच्चाको राम्रो शिक्षादिक्षाको लागि भन्दै राजधानी छिरिन् । राजधानीमा आएर एउटा हेल्थ केयरमा काम गर्ने मौका पाईन् ।

त्यति मात्रै हैन उनले समयको सदुपयोग गर्दै रेडियो मिरमिरेमा पनि काम गर्ने अवसर पाईन् । उनलाई त्यहाँ स्वास्थ्य सम्वन्धि कार्यक्रम बनाउनु पथ्र्यो । त्यो उनको लागि धेरै राम्रो अफर बन्यो । किन भने उनी हेल्थ केयर सेन्टरमा काम गर्थिन् । तर रेडियो मिरमिरेमा उनले केही समयमात्रै काम गरेर छोडिन् । पछि हेल्थ केयरले उनको कामलाई मन पराएर त्रिपुरेश्वरमा विरामीहरूलाई काउन्सिलिङ गर्न अफर ग¥यो । उनी त्यहाँ काम गर्न थालिन । त्यसैक्रममा उनले मानवसेवा आश्रममा काम गर्ने हेटौंडाकै एकजना भाईलाई संयोगवस भेट्न पुगिन् । त्यसपछि आफ्ने जीवन नै अर्कै भएको स्मरण गर्दै उनी भन्छिन् ‘जब मैले सुमनलाई भेटे, सुमनको कामको बारेमा थाहा पाए । त्यसपछि मलाई मानव सेवाको काम गर्ने प्रेरणा जाग्यो ।
…………
उनी जव काठमाडौंको सामाखुसीस्थित मानवसेवा आश्रममा गइन । त्यहाँ उनले दाङबाट उद्दार गरिएकी मानसिक अवस्था ठिक नभएकी सुन्तलीलाई देखिन् । उनले भनिन् ‘सुन्तली त्यो बेला आठ महिनाकी गर्भवती थिइन् । जब मैले उनलाई देखेँ त्यपछि म घर गएर पनि सुत्न सकिनँ । धेरै पीडा बोध भयो । तर म कामका कारण आश्रममा आउन सकिरहेको थिइनँ । फेसबुकबाट उनले छोरालाई जन्म दिएको थाहा पाएँ । फोटो फेसबुकमा देखेपछि मैले आफुलाई सम्हाल्न नसकेर सुमन भाईलाई फोन गरें । अनि भोलिपल्टै आश्रम आएं । त्योे बाबुलाई भेटें । मेरो आफ्नो छोरा छ तरपनि मैले त्यो बच्चालाई अनि मानसिक अवस्था ठिक नभएकी आमालाई देखेर भक्कानो छुट्यो । त्यसपछि सुमन भाईसंग मानव सेवामा म पनि लाग्नुप¥यो भने र कुरा गरे । तर, पैसामै आएर समस्या भयो । सानैदेखि आत्मनिर्भर भएकाले कसैसँग पनि हात फैलाउनु परेको थिएन । आश्रममा बसेपछि पूर्ण रुपमा सेवा मात्रै गर्नुपर्छ । त्यस्तो अवस्थामा जीवन कसरी चलाउने भन्ने प्रश्न पनि दिमागमा आयो । तर, दुई छाक खान र एकसरो लगाउन पनि कति मरिहत्ते गर्नु भन्ने लाग्यो । मानव सेवामा केन्द्रित भएँ । सेवा गर्ने क्रममा एकदुई जनाले पिटे पनि ।’
…………
जुनसुकै काम पनि आफैँमा सजिलो हुँदैन । त्यहाँमाथि मानसिक सन्तुलन ठिक नभएकाहरूको हेरचाह गर्नु आफैँमा कठिन काम हो । सुमित्राले त्यो कठिन कामलाई सहज रुपमा लिइन र निरन्तर सेवामा होमिइन् । उनी भन्छिन् ‘काम गर्न सजिलो छैन । तर सेवा गर्दाको आनन्द बेग्लैछ ।’ २०७३ साल साउनदेखि मानवसेवा आश्रममा सेवा गर्न थालेकी सुमित्रा अहिले ललितपुरमा रहेको मानवसेवा आश्रमको सहसंयोजकको भूमिकामा छिन् । आफ्नो छोरोसंगै आश्रममा बसेर सुमित्रा असहाय, मानसिक सन्तुलन विग्रिएका व्यक्तिहरूलाई सडकबाट उठाएर आश्रममा सेवा पु¥याउँछिन् । सेवा गर्न पाउँदा उनी दंग छिन् । भन्छिन्, ‘म त यस्तै व्यक्तिहरूलाई सेवा गर्न जन्मिएकी हुँ ।

…………
परिवारलाई भने उनको काम चित्त बुझेको छैन् । तर सुमित्रा भन्छिन् , ‘मेरो परिवारले पनि यो कुरापछि अवश्य बुझ्नुहुन्छ र उहाँहरुको साथ पाउनेमा विश्वस्त छु । अब म पछाडि फर्किएर हेर्नेे छैन ।’ अहिले मानवसेवा आश्रमले दश वटा जिल्लामा आफ्नो शाखा विस्तार गरेको छ । ‘मानव सेवा आश्रमको मुख्य उदेश्य सडकमा अलपत्र अहसहाय व्यक्तिहरुको उद्दार र सेवा गर्नु हो ।’ उनी भन्छिन् ‘अहिले सबै आश्रममा गरि एक हजार भन्दा बढी असहाय व्यक्तिहरू छन् । ती सबै आश्रममा स्वयंसेवकहरू परिचालित छन् ।’

990 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank