स्थायी समिति र केन्द्रीय समिति बैठक बसाल्न माग गर्दै नेकपाका २० नेताले बुझाए ओली र प्रचण्डलाई पत्र (पत्रसहित)

बुधबार, बैशाख १०, २०७७



काठमाडौं । नेकपाका २० स्थायी समिति सदस्यहरुले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयुक्त पत्र लेखेर तत्काल स्थायी समिति र केन्द्रीय समिति बैठक बसाल्न माग गरेका छन् । सरकारले ल्याएको अध्यादेश र कोरोना संक्रमणको विषयमा छलफल गर्न माग गर्दै बैठक बोलाउन माग गरेका हुन् ।

आज(बुधबार) ९ जना पूर्वएमाले र ११ जना पूर्वमाओवादी पूष्ठभूमिका नेताहरुले सो माग गरेका हुन् । अष्टलक्ष्मी शाक्य, गणेश शाह, गोकर्ण विष्ट, चक्रपाणी खनाल जनार्दन शर्मा, टोपबहादुरर रायमाझी, देव गुरुग, देवेन्द्र पौडेल पम्फा भुषाल, वेदराम भुषाल भीम आचार्य, भीम रावल, मणि थापा, मात्रिका यादव, मुकुन्द न्यौपाने युवराज ज्ञवाली, रघु पन्त, लिलामणि पोखरेल, सुरेन्द्र पाण्डे र हरिबोल गजुरेलले बैठक बोलाउन माग गरेका हुन् ।

‘देश र जनता सामु आएको कोरोना भाइरस संक्रमणको गम्भीर स्वास्थ्य संकट र त्यसबाट सिर्जित समस्याहरु तथा नेपालको राजनीतिक प्रणाली तथा संविधानको मर्ममा असर पार्ने कानुन संशोधन गर्ने अध्यादेश जस्तो संवदेनशील विषयमा पार्टीमा गहन र व्यापक छलफल गरिनु पर्दछ । यसका लागि स्थायी कमिटीको बैठक तत्काल बोलाइयोस् भनी माग गर्दछौं,’ पत्रमा लेखिएको छ ।

पत्रमा थप लेखिएको छ, ‘स्थायी कमिटीको बैठकपछि केन्द्रीय कमिटीको बैठकमा समेत यी विषयमा छलफल गरी विद्यमान चुनौतीको सामना गर्न सामूहिक निर्णय र संकल्प गरियोस् भन्नेमा जोड दिन चाहन्छौं ।’

पार्टीभित्र र बाहिर समेत कुनै छलफल नगरी हठात् रुपमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी ऐन, २०६६ मा संशोधन गरी अध्यादेश जारी गरिएको विषयमा २० नेताले आपत्ति जनाएका छन् । यस कदमले राष्ट्रका सामु उपस्थित मूल समस्या समाधान गर्ने जिम्मेवारीबाट ध्यान अनावश्यक विषयमा मोडिनसक्ने देखिएको  उनीहरुको तर्क छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments