प्रदेश-३ को राजधानी बनेपा सार्ने तयारी, यस्तो छ भित्री छलफल

बुधबार, साउन २३, २०७५



काठमाडौं । प्रदेश-३ को स्थायी राजधानी हेटौडाबाट सार्ने गरि उच्च तहमा छलफल सुरु भएको छ । भूगोल र संरचनाका हिसावले हेटौडामा राजधानी उपयुक्त नदेखिएको भन्दै सार्ने विषयमा राजनीतिकतहमा छलफल सुरु भएको छ ।

हेटौडाबाट काभ्रेमा राजधानी सार्ने विषयमा नेकपाको उच्च नेतृत्व पनि सहमत भएको उच्च स्रोतले नेपालपाटीलाई जानकारी दिएको छ ।
राजधानी सार्ने विषयमा प्रदेशसभा सचिवालयमा यस अघि नै प्रस्ताव दर्ता भइसकेको छ ।

तत्कालिन एमाले काभ्रेका सांसद चन्द्रबहादुर लामाले प्रस्ताव दर्ता गराएका छन् । काभ्रेको बनेपास्थित आइटीपार्कलाई स्थायी राजधानी बनाउन सकिने प्रारम्भिक  मुल्याङ्कन समेत भइसकेको एक नेताले जानकारी दिए । नेपालको संविधानको धारा २८८ को उपधारा (२) मा प्रदेशको राजधानी प्रदेश सभाको दुई तिहाई सदस्यको निर्णयमा उल्लेख छ ।

संविधान अनुसार प्रदेशसभा गठन भएको छ महिना भित्र प्रदेशको स्थायी राजधानी तोकिसक्नु पर्ने हुन्छ । २०७४ साल माघ ३ गते बसेको तत्कालीन शेरबहादुर देउवा सरकारले प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौंडा बनाउने निर्णय गरेको थियो ।

प्रदेश सभा सचिवालयमा राजधानी सार्ने प्रस्ताव दर्ता भएपछि सभामुखले उक्त प्रस्तावलाई प्रदेश सभा बैठकमा निर्णयार्थ प्रस्तुत गर्नुपर्ने हुन्छ । तर प्रस्ताव पेश हुन सकेको छैन ।

मंगलबार प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । भेटमा प्रदेश राजधानी सार्ने विषयमा लामो छलफल भएको एक नेताले जानकारी दिए । प्रधानमन्त्रीको भेटपछि सभामुख श्रेष्ठले राजधानी बनेपा सार्ने विषयमा प्रधानमन्त्री सकारात्मक रहेको निकटका एक नेतालाई भनेका थिए ।

प्रदेश नम्बर ३ मा मुख्यमन्त्री डोरमणी पौडेलले पनि बनेपा राजधानी हुन सक्ने बताए । उनले प्रदेश सभाको अबको बैठक लगत्तै औपचारिक छलफल हुने जानकारी दिए । ‘अहिले प्रदेश सभा सञ्चालनमा नरहेकाले सभा सुरु भएपछि त्यसमा छलफल हुनेछ ’ मुख्यमन्त्री पौडेलले नेपालपाटीलाई भने, ‘बनेपा पनि एउटा सम्भावित ठाउँ हो । सार्ने निर्णय भयो भने बनेपा पनि हुनसक्छ । ’ प्रदेश नम्बर १, २, ३,५ र ७ ले अहिले सम्म पनि प्रदेशको नाम र राजधानी तोक्न सकेका छैनन ।

670 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank