सातौँं राष्ट्रिय खेलकुद नेपाली सेना र सशस्त्र प्रहरी क्रिकेट उपाधिका लागि भिड्दै

loading...

शुक्रबार, पुस १५, २०७३



मोरङ । सातौँं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपाली सेना र सशस्त्र प्रहरी पुरुष क्रिकेटको फाइनलमा आज भिड्दै छन् । दुवै टोली केहीबेरपछि यहाँस्थित बैजनाथपुरको खेल मैदानमा फाइनल खेल्ने तयारीमा छन् ।

बिहीबार बैजनाथपुर खेल मैदानमा सम्पन्न खेलमा सेनाले नेपाल प्रहरीलाई आठ विकेटले तथा सशस्त्र प्रहरीले मध्यमाञ्चललाई आठ विकटले नै पराजित गरी उपाधिका लागि आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

बैजनाथपुरको खेल मैदानमा बिहीबारको खेलमा सेनाले नेपाल प्रहरीलाई आठ विकेटले पराजित ग¥यो । टस जितेर ब्याटिङ गरेको प्रहरीले निर्धारित २० ओभरमा सबै विकेट गुमाई एक सय ४४ रन बनायो । सेनाले विजयी लक्ष्य १८।३ ओभरमा दुई विकेट गुमाई पूरा गरेको थियो । सेनाका लागि सागर पुनले ४८ बलमा एक छक्का र सात चौका प्रहार गरी ५९ रन तथा अविजित रहेका अनिल मण्डलले ५४ बलमा ६ चौकाको मद्दतमा ६२ रन बनाए । बलिङतर्फ प्रहरीका मञ्जित श्रेष्ठ र दीपेन्द्र ऐरीले एक–एक विकेट लिए ।

यसअघि प्रहरीका लागि ब्याटिङ गर्ने क्रममा प्रेम तामाङले ३७ बलमा ४ चौकाको मद्दतमा ३५ रन तथा दिलीप नाथले २५ बलमा एक छक्का र तीन चौका हान्दै ३२ रन बनाए । बलिङतर्फ सेनाका सोमपाल कामीले चार ओभरमा २५ रन खर्चेर तीन विकेट तथा विक्रम सोव र चन्द्र साउदले दुई–दुई विकेट लिएका थिए ।

यस्तै, अर्को खेलमा सशस्त्र प्रहरीले मध्यमाञ्चललाई आठ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको मध्यमाञ्चलले निर्धारित २० ओभरमा सबै विकेट गुमाई ६१ रन मात्र बनायो । विजयका लागि ६२ रनको लक्ष्य पछ्याएको सशस्त्रले ९।३ ओभरमा दुई विकेट गुमाई पूरा गरेको थियो । सशस्त्रका लागि प्रदीप ऐरीले अविजित रही २४ बलमा चार चौकाको मद्दतमा ३३ रन तथा पृथू बाँस्कोटाले अविजित ९ रन बनाए । बलिङतर्फ मध्यमाञ्चलका रसिद खानले दुई विकेट लिए ।

यसअघि मध्यमाञ्चलका लागि ब्याटिङ गर्ने क्रममा हरिशङ्कर साहले २१ रन बनाएका थिए । बलिङतर्फ सशस्त्रका करण केसी र वसन्त रेग्मीले दुई–दुई विकेट तथा शक्ति गौचन, पारस खड्का, यज्ञमान कुमाल र भुवन कार्कीले एक–एक विकेट लिएका थिए ।

स्क्वास
ललितपुरको सातदोबाटोमा बिहीबार भएको स्क्वास खेलको पुरुष एकलमा सेनाका अरहान्तकेशर सिंह र अमृत थापा मगर फाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलमा अरहान्तले मध्यमाञ्चलका विनोदरत्न शाक्यलाई ११–१, ११–२ र ११–५ अ्ङ्क तथा अमृतले मध्यपश्चिमाञ्चलका ज्ञानु चौधरीलाई ११–५, ११–८ र ११–५ को सोझो सेटमा पराजित गरे । उक्त स्पर्धाको महिलातर्फ सेनाका विपना ब्लोन र मध्यमाञ्चलका भावना सुनवारले उपाधिका लागि स्थान पक्का गरिसकेका छन् । फाइनल खेल आज हुनेछ ।

ह्यान्डबल
मोरङको टङ्कीसुनवारीमा बिहीबार भएको ह्यान्डबल खेलमा पुरुष र महिला दुवैमा नेपाली सेना र सशस्त्र प्रहरी फाइनलमा प्रवेश गरेका छन् ।

पुरुषतर्फ सेनाले आयोजक पूर्वाञ्चललाई ३५–२० अङ्कले तथा सशस्त्रले पश्चिमाञ्चललाई ३२–२६ अङ्कले हराएको थियो । महिलातर्फ सेमीफाइनलमा सेनाले पश्चिमाञ्चललाई २७–१२ अङ्कले पाखा लगायो भने सशस्त्रले मध्यमाञ्चललाई ४३–६ अङ्कले पराजित गरेको थियो ।

रेपिड चेस
नेपाली सेनाका क्यान्डिडेट मास्टर केशव श्रेष्ठ र महिला फिडेमास्टर सुजना लोहनी रेपिड चेस च्याम्पियन बनेका छन् ।

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत धनकुटामा बिहीबार सम्पन्न खेलमा केशवले ७ खेलबाट ५.५ अङ्क बटुल्दै स्वर्ण जिते । समान ५।५ अङ्क बनाएका पूर्वाञ्चलका प्रकाश नेपालले रजत तथा मध्यमाञ्चलका गणेशमान दुवालले कास्य पदकमा चित्त बुझाए । महिलातर्फ ७ खेलबाट समान ६ अङ्क बनाएका सेनाका सुजना लोहनीले स्वर्ण, सेनाकै सिन्दिरा जोशीले रजत तथा सशस्त्रका शान्ता थापाले कास्य पाए ।

जिम्न्यास्टिक
झापाको धुलाबारीको पासाङ ल्हामु कभर्ड हलमा बिहीबार सम्पन्न जिम्न्यास्टिक प्रतियोगितामा सशस्त्र प्रहरीले १० वटा स्वर्ण जितेको छ ।

पुरुषतर्फ टिम इभेन्टसहित सात तथा महिलातर्फ टिम इभेन्टसहित तीनवटा स्वर्ण जितेको हो । पुरुषतर्फको भुइँ व्यायाममा सशस्त्रका राजु राईले सशस्त्रकै उज्जवल तिवारीलाई हराएर स्वर्ण जितेका हुन् भने मध्यमाञ्चलका त्रिदेव गिरीले कास्य पदक जिते ।

यस्तै, पोमेल हर्समा सशस्त्रका राजु राईले स्वर्ण, सशस्त्रकै रमेश श्रेष्ठले रजत तथा सुदूरपश्चिमका भक्तबहादुर चौधरीले कास्य जिते । रोमन रिङमा समेत सशस्त्रका राजु राईले स्वर्ण, सशस्त्रकै श्रीकृष्ण गर्वुजाले रजत तथा मध्यमाञ्चलका सत्यनारायण मानन्धरले कास्य जिते ।

यसैगरी, पारलर वारमा सशस्त्रका राजु राईले स्वर्ण, सशस्त्रकै विष्णु बाटाले रजत र मध्यमाञ्चलका सत्यनारायण मानन्धरले कास्य पदक जिते । यस्तै राजु राईले नै अलराउन्ड च्याम्पियनमा स्वर्ण, मध्यमाञ्चलका उज्जवल तिवारीले रजत तथा सुदूरपश्चिमका भक्तबहादुर चौधरीले कास्य जिते ।

यस्तै, पुरुषतर्फको मल्तिङमा मध्यमाञ्चलका उज्ज्वल तिवारीले स्वर्ण, सशस्त्रका दिनेश सुनारले रजत तथा सशस्त्रकै रमेश श्रेष्ठले कास्य जिते । पुरुष टिम इभेन्ट्समा सशस्त्रले स्वर्ण, मध्यमाञ्चलले रजत र सुदूरपश्चिमाञ्चलले कास्य पदमा चित्त बुझायो । महिलातर्फको टिम इभेन्ट्समा पनि सशस्त्रले स्वर्ण, मध्यमाञ्चलले रजत र सुदूरपश्चिमाञ्चलले कास्य जित्यो ।

यसैगरी, भल्टिक टेबलमा सशस्त्रका रेसिका श्रेष्ठले स्वर्ण, मध्यमाञ्चलका तारा सिवाकोटीले रजत र सशस्त्रका पिङ्की झाङले रजत र सशस्त्रकै सुनिता निरौलाले कास्य जितिन ।  भुइँ व्यायाममा तीनवटै पदक सशस्त्रले नै जित्यो । सशस्त्रका पिङ्की झाङले स्वर्ण, रेसिका श्रेष्ठले रजत र सुनिता निरौलाले कास्य पदक पाइन ।

अलराउन्डमा समेत तीनवटै पदक सशस्त्रकै पोल्टामा गयो । सशस्त्रका रेसिका श्रेष्ठले स्वर्ण, पिङ्की झाङले रजत र सुनिता निरौलाले कास्य जितिन। विजेता खेलाडीलाई युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

5979 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Below samsung cement health right side Samsung health right side Samsung health right side bottom