सोर्ह श्राद्ध शुरु, कुन-कुन तिथिमा क-कसको श्राद्ध गर्ने ?

शनिबार, भदौ २८, २०७६



सोर्‍ह श्राद्ध आज(शनिबार)बाट शुरु भएको छ । आफ्ना पितृहरुको सम्झनामा जल र अन्न दिएर गरिने यो श्राद्ध शनिबारबाट शुरु भएको हो । चन्द्रमान अनुसार आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोर्‍ह श्राद्ध भनिन्छ।

पितृहरुको सम्झनामा गरिने स्रोह श्राद्ध हरेक वर्ष असोज कृष्ण प्रतिपदादेखि औशीसम्म जारी रहन्छ । आज बिहान सुर्योदय पूर्णिमा तिथिमा भए पनि बिहान ८ बजेर ४१ मिनेटबाट प्रतिपदा तिथि लागेकाले स्रोह श्राद्ध शनिबारबाट नै शुरु भएकोे पण्डित माधव प्रसाद शर्मा बताउँछन् ।

एकोद्दिष्ट श्राद्ध, आभ्युदयिक श्राद्ध, तीर्थ श्राद्ध, पुष्टि श्राद्ध, यात्रा श्राद्ध, काम्य श्राद्धसँगै सोह्र श्राद्ध नेपाली समाजमा प्रचलित छ । पितृपक्षमा मांसाहारीहरू पनि शुद्ध शाकाहारी भोजनमा रहेर आफ्ना पितृहरूलाई फलफूल, दूध, नैवेद्य आदिले पूजा गर्दछन् । साथै ज्वाइँ, भानिज, नाति, नातिना र ब्राह्मण वर्गलाई भोजन गराइ दक्षिणा दिने गर्छन् ।

एक पक्षमा १५ तिथि हुने भए पनि भाद्र शुक्लपूर्णिमा देखि आश्विन औंसी (जमरे औंसी) सम्मका १६ तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोर्‍ह श्राद्ध भनिएको हो ।

हिन्दू धर्म अनुसार चाडपर्व, यज्ञ जस्ता ठूला कर्म गर्नुपूर्व पितृको पूजा गर्ने परम्परा अनुरुप यो अवधिमा हरेकले पितृलाई दशै तिहारको नाममा भाग दिने चलन छ । जसरी हामी दशैमा मिठा मिठा खानेकुरा खान्छौँ, त्यसै गरी दशैका अवसर पारी पितृहरुको लागि पनि सिदा दिने गरिन्छ ।

अघिपछिको श्राद्धमा एउटा मात्र जौ अथवा खिरको पिण्ड दिने गरिन्छ भने स्रोह श्राद्धमा सबै पितृका लागि छुट्टाछुट्टै पिण्ड दिने गरिन्छ । यसरी बनाइएको पिण्ड चिल्लो र गोलो पार्दा आफ्ना सन्तति राम्रा र सुखी हुने जनविश्वास रहेको छ ।

स्रोह श्राद्धमा बुबा, हजुरबुबा र जिजुबुबा तथा मामाघरको हजुरबुबा, जिजुबुबा र बुढा जिजुबुबाको नाम उच्चारण गर्दै श्राद्ध गर्ने गरिन्छ ।संस्कृतिविद मधुसुधन सुवेदीका अनुसार श्राद्ध गर्दा सब्यमा विश्वदेव ब्राम्हण र अपसब्यामा पितृब्राह्मणलाई पुजा गरिने चलन छ । यो १५ दिनको समयमा प्राय सबैको घरघरमा श्राद्ध पर्छ । यो अवधिमा पार्वण श्राद्ध गर्ने गरिन्छ ।

सोर्‍ह श्राद्धका महत्वपूर्ण तिथि

आश्विन कृष्णपक्ष पञ्चमीको तिथिमा श्राद्ध गर्नु महत्वपूर्ण मानिन्छ । जसको मृत्यु अविवाहित स्थितिमा भएको छ यसलाई कुमार पञ्चमी पनि भनिन्छ ।

आश्विन कृष्णपक्ष नवमीका तिथिमा गरिने श्राद्ध उत्तम मानिन्छ । त्यसैले यसलाई मातृनवमी भनिन्छ । यस तिथिमा श्राद्ध गर्दा कुलका सबै दिवङ्गत महिलाहरूको श्राद्ध सम्पत्र हुन्छ भत्रे विश्वास गरिन्छ ।

आश्विन कृष्णपक्ष एकादशी र द्वादशी तिथिका दिन परिवारका सन्यास लिएका व्यक्तिहरूको श्राद्ध गर्ने विधान छ ।

आश्विन कृष्णपक्ष चतुर्दशी तिथिका दिन दुर्घटना, हत्या, आत्महत्या, शस्त्रद्वारा मृत्यु लगायत अकाल मृत्यु भएकाहरुको श्राद्ध गरिने चलन छ ।

आश्विन कृष्णपक्ष औशीका दिन कुनै कारणले पितृपक्षका सबै तिथिमा पितृहरूको श्राद्ध गर्न विघ्न परेमा अथवा कुनै पनि पितृको तिथि सम्झना नभएको अवस्थामा यस तिथिमा सबै पितृहरूको श्राद्ध गर्न सकिने संस्कृतिविद् एवं पण्डितहरुले जनाएका छन् ।

आश्विन कृष्णपक्ष शुक्ल प्रतिपदाका दिन मावली बाजेबज्यैको श्राद्धका लागि उत्तम मानिन्छ । यदि मावलीको परिवारमा श्राद्ध गर्ने व्यक्तिको अभाव छ र उनीहरुकोे मृत्युतिथि पनि थाहा छैन भने यस तिथिका दिन श्राद्ध गर्दा मृतकका आत्मालाई शान्ति प्राप्त हुन्छ भत्रे मान्यता छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata