स्मार्ट प्रविधीमा आधारित नगर प्रोफाईल बनाउँदै धुनिबेशी

आइतवार, असार १७, २०७५



धादिङ । धादिङको धुनिबेशी नगरपालिकाले स्मार्ट प्रविधीमा आधारित नगर प्रोफाईल निर्माण सुरु गरेको छ । नगरपालिकाको सेवा प्रवाह प्रक्रियालाई चुस्त बनाउन र विकास निर्माणलाई फलदायी बनाउन पुर्ण रुपले डिजिटल प्रविधीमा आधारित नगर प्रोफाईल बनाउन लागेको हो ।
नगरपालिकाको कार्यालय खानीखोलामा वस्तुगत विवरण संकलकहरुका लागि आयोजित कार्यक्रममा प्रमुख बालकृष्ण आचार्यले निर्वाचनका क्रममा गरिएको प्रतिवद्धता र समयको माग अनुसार डिजिटल प्रविधीमा आधारित नगर प्रोफाईल बनाउन लागेको बताए । उनले भने, ‘हामी हाम्रा काम गर्ने तरिकाहरु बदल्न चाहान्छौँ । सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउने प्रयासमा छौँ । त्यसैले हामीले पहिलो पटक डिजिटल प्रोफाईल बनाउने कार्यको सुरुवात गरेका हौँ ।’

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र बहादुर अर्यालले नगरपालिकाको काममालाई पारदर्शी बनाउन र विकास निर्माणमा विनियोजन गरिएको रकमको अधिकतम प्रयोग गर्ने हेतुले प्रविधी मार्फत प्रोफाईल बनाउन लागेको बताए ।

प्रोफाईल निर्माणका लागि छनौट भएको परामर्शदाता कम्पनी हेडलाईट प्रा.ली., काठमाडौँका प्रबन्ध निर्देशक दीपेन्द्र खड्काले डिजिटल प्रविधीमा आधारित नगर प्रोफाईल निर्माण कार्य देशकै नमुना हुन सक्ने विश्वास व्यक्त गरे । उनका अनुसार प्रोफाईलका लागि आवश्यक तथ्याङक संकलन तथा त्यसको विश्लेषण पुर्ण रुपमा सफ्टवेयर प्रणाली मार्फत गरिने बताए । खड्काले नगरबासीका लागि आवश्यक एकीकृत तथ्याङकलाई अफलाईन र अनलाईन गरी दुवै प्रणालीमा राखेर सेवा प्रवाह गर्न सक्ने प्रविधी नगरपालिकालाई हस्तान्तरण गर्ने बताए ।

यो प्रणाली मार्फत आवश्यक पुर्वाधारहरुको जिपिएस लोकेशनको रेकर्ड समेत सजिलै लिन सकिने परामर्शदाता कम्पनीले जनाएको छ । नगरपालिकाका सुचना अधिकृत भोला प्रसाद गौतमका अनुसार डिजिटल प्रोफाईल निर्माण कार्य सम्वतः जिल्लाकै पहिलो हुनेछ । उनले प्रविधीले मात्र सेवा प्रवाहलाई प्रभावकारी गराउन सक्ने भएकोले आफुहरुले त्यसको सूरुवात गरेको बताए ।

350 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank