उपसभामुखलाई राजीनामा दिन नेकपाको आग्रह

शनिबार, पुस २६, २०७६



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालयको बैठकले उपसभामुख तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, “सभामुख पदमा नेकपाले उम्मेदवारी दिने निर्णय गरेको छ ।” प्रवक्ता श्रेष्ठले नेकपाको तर्फबाट रिक्त सभामुख पदका लागि उम्मेदवारी दिने निर्णय भएको जानकारी दिए ।

उनले भने “त्यसका लागि उपसभामुख पदमा हाम्रो पार्टीबाट निर्वाचित हुनुभएका शिवमाया तुम्बाहाङफेले राजीनामा दिनुहुनेछ ।” नेकपाले सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने बारेमा भने कुनै निर्णय गरेको छैन । सभामुख कसलाई बनाउन खोज्नु भएको हो भन्ने प्रश्नमा प्रवक्ता श्रेष्ठले कुनै जानकारी दिएनन्।

गत असोजदेखि प्रतिनिधिसभाको सभामुख पद रिक्त रहँदै आएको छ । सभामुख कसलाई बनाउने भन्ने विषयमा सत्तारुढ नेकपा भित्र छलफल जारी भएपनि ठोस निर्णय हुन सकेको छैन । निर्णय हुन नसक्दा प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । प्रतिनिधिसभाको बैठक आइतबारका लागि बोलाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments