देउवालाई आँटिलो र हिम्मतवाला भन्दै स्वार्थी समूहले उचाल्दैछ: सिटौला

शनिबार, पुस १९, २०७६



नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी सभापति शेरबहादुर देउवालाई आँटिलो र हिम्मतवाला नेता भन्दै प्रशंशा गर्नेहरुले एकलौटी निर्णय गराउँदै स्वार्थसिद्ध गरेको आरोप लगाएका छन् ।

१४ मंसिरमा भएको उपनिर्वाचनमा बाग्लुङमा प्रदेशसभा सदस्यमा उम्मेदवार भएका कांग्रेसका युवा नेता जीत शेरचनले मतदाता र शुभेच्छुकका लागी आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै सिटौलाले सभापति देउवालाई उनी निकटका केही नेताले अहंकारको बाटोमा डोर्याएको दाबी गरे ।

‘शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएपछि उहाँ सम्पूर्ण कांग्रेसको सभापति बन्नु भएको हो तर, उहाँ गुटको मात्र नेता बन्नु भएको छ,’ सिटौलाले भने, ‘केपी शर्मा ओलीलाई नेकपाका अध्यक्षभन्दा देशको प्रधानमन्त्रीको हैसियतमा काम र व्यवहार गर्नुस् भन्ने कांग्रेसले सभापतिलाई गुटको नेता नबन्नुस् भन्ने कि नभन्ने ?’

सभापति देउवाले गत ११ पुसमा केन्द्रीय कार्यसमितिमार्फत् एकलौटी ढंगले विधान संशोधन गर्दै भएका निर्णयहरु सच्याएमा आफूले सहयोग गर्ने, तर गल्ती नसच्याएमा सभापति मान्न गाह्रो हुने सिटौलाले चेतावनी दिए ।

देउवा एक्लैले तय गरेको यात्रा सफल नहुने भन्दै सिटौलाले सरकारविरुद्ध उनले एक्लै लड्न नसक्ने र केही पनि गर्न नसक्ने दाबी गरे । उनले भने, ‘मैलै सभापतिलाई गल्ती सच्याउन लिखित पत्र दिएको छु । त्यही अनुसार सच्चिनु होला भन्ने विश्वास छ । जुन दिन विश्वास टुट्छ त्यस दिनदेखि उहाँलाई सभापति मान्नु पर्छ भन्ने छैन ।’

सिटौलाले सभापति देउवाका कदम हेर्दा निष्पक्ष महाधिवेशन हुने विषयमा समेत आशंका पैदा भएको भन्दै पार्टी भित्रको बृहत एकता चाहने हो भने समझदारीको विकल्प नरहेको पनि बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments