सिटामोल लिन २ दिन पैदल

शनिबार, कार्तिक २४, २०७५



काठमाडौं । नेपालको संविधानले आधारभूत स्वास्थ्यको अधिकारलाई मौलिक हकको रूपमा मान्यता दिएको दुई वर्ष पूरा भइसक्यो  । तर बझाङमा अझै पनि यस्ता गाउँहरू छन्, जहाँका स्थानीयहरूले सिटामोल लिनकै लागि पनि आउँदा जाँदा दुई दिनको पैदल यात्रा गर्नुपर्ने बाध्यता छ  ।

जिल्लाको दक्षिणी भेगमा रहेको बुङ्गल नगरपालिका वडा नं. ६ मा पर्ने दुर्गम गाउँ बड्डी ज्यावनका स्थानीयहरू वर्षाैदेखि यो समस्या झेल्दै आएका छन् । यस गाउँका मानिसहरूले उपचारको लागि जाने ठाउँ भनेको साबिक पिपलकोट गाविसको खौलाधारमा रहेको स्वास्थ्य चौकीमा हो । यो गाउँबाट त्यहाँ पुग्न स्वस्थ मान्छेले लगातार ७ घण्टा पैदल यात्रा गर्नुपर्छ । बिरामी मान्छे हिंडेर जाँदा पूरै दिन लाग्छ ।

‘गाउँमा मेडिकलसम्म पनि छैन । सामान्य बिरामी भए पनि खौलाधार नै पुग्नुपर्छ’ स्थानीय सुरेश धामीले भने ‘हिंड्न सक्ने बिरामी दिनभर हिंडेर साँझ पुग्छन् । हिंड्न नसक्नेलाई बोकेर लैजानुपर्छ’ गाउँमा स्वास्थ्य सुविधा नभएका कारण यहाँका मानिसहरू सामान्य बिरामी हुँदा धामीझाक्रीकै भर पर्ने गरेको उनले बताए ।

यस गाउँमा ३० परिवार धामी र बोहरा जातिको बसोबास रहेको छ । यहाँबाट नजिकको अर्काे गाउँ पुग्न कम्तीमा ५ घण्टा पैदल यात्रा गर्नुपर्ने हुन्छ । कोही बिरामी भयो र बोकेर लैजानुपर्‍यो भने गाउँ नै खाली हुने गरेको स्थानीय बेलमती बोहरा बताउँछिन् । उनी भन्छिन् ‘टाढाको बाटो छ । एक जना बिरामी भयो भने पालैपालो बोक्नका लागि २०/२५ जना सँगै जानुपर्छ । एक जना बोक्नुपर्ने बिरामी भयो भने गाउँ नै खाली हुन्छ।’

गाउँमा प्रसूति केन्द्र तथा खोप केन्द्र नहुँदा बढी समस्या हुने गरेको धना बोहराले बताइन् । ‘कुनै महिलालाई व्यथा लाग्यो भने स्ट्रेचरमा बोकेर दौडाउनुपर्छ । भनेको बेला बोक्ने मान्छे पनि हँुदैनन्’ उनले भने ‘कतिपय बाटैमा बच्चा जन्माउँछन् । कतिपय बाटैमा ज्यान गुमाउँछन्’ । उनले नवजात शिशुलाई खोप केन्द्रसम्म ल्याउँदा लैजादा सुत्केरी महिलाले लामो यात्रा गर्नुपर्ने भएकाले विभिन्न स्वास्थ्य समस्या देखिने गरेको बताए ।

खोप केन्द्र लैजानका लागि दिनभर लाग्ने भएका कारण यहाँका कतिपयले बच्चाहरूलाई खोप नै नलगाउने गरेको अर्की स्थानीय देउमली बोहराको भनाइ छ । ‘खोप लगाउन जान दिनभर लाग्छ’ उनले भनिन् ‘खोपको महत्व बुझेकाहरू त हिंडेरै गएर पनि लगाउँछन् । धेरैजसो अशिक्षित र नबुझेकाहरू आजसम्म लगाइएन अब लाएर के नै पो हुन्छ भनेर खोपै लाउँदैनन्’ उनले गाउँमै खोप केन्द्र भइदिएको भए कोही पनि बालबालिका खोप लिनबाट वञ्चित हुन नपर्ने बताइन् ।

स्वास्थ्य संस्था टाढा भएका कारण बिरामी हुने बित्तिकै उपचार नपाउने र बिरामी थलिएपछि मात्र बोकेर उपचारका लागि लैजाने गरेको प्रताप धामीले बताए । यसो गर्दा कतिपय बिरामीहरू सिकिस्त भइसकेपछि मात्र स्वास्थ्य संस्थामा पुग्ने र ज्यानैसमेत गुमाउने गरेको उनको भनाइ छ । यो गाउँको जनसंख्या २ सयको हाराहारीमा संख्या रहेको उनले बताए ।  कान्तिपुरबाट

90 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank