कम अंक ल्याउँदा ३४ विद्यार्थीको हात ब्लेडले चिरियो

आइतवार, फाल्गुन २५, २०७६

राजधानीमा नै एक विद्यालयकी शिक्षिकाले आफ्ना ३४ जना विद्यार्थीलाई कक्षा परीक्षामा कम अंक ल्याएको भन्दै ब्लेडले हात चिरिदिएकी छन् ।

जडिबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यले कक्षा ६ मा अध्ययनरत २५ जना र कक्षा ७ मा अध्ययनरत ९ जना गरी ३४ विद्यार्थीको हात बेन्चमा उभ्याएर ब्लेडले चिर्न लगाएकी हुन् ।

शिक्षिका कर्माचार्यले करिब एक साताअघि विद्यार्थीलाई परीक्षा लिएकी थिइन् । सोही बखत नै उनले कम अंक ल्याउने विद्यार्थीले आफ्नो हात आफैंले ब्लेडले चिर्नुपर्ने नभए आफैंले चिरिदिने धम्की दिएकी थिइन् ।

विगत १२ वर्षदेखि उनले सोही स्कुलमा सामाजिक विज्ञान विषय पढाउँदै आइरहेकी थिइन् । प्रहरीले विद्यार्थीको हात चिर्न लगाउने शिक्षिकालाई पक्राउ गरिसकेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले शिक्षिका कर्माचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए ।

प्रहरी नियन्त्रणमा परेपछि शिक्षिका कर्माचार्यले आफूले विद्यार्थीहरूलाई परीक्षा लिँदा नै कम अंक ल्याए हात चिर्ने धम्की दिएको स्वीकार गरेकी छन् । परीक्षाको फुल माक्स २० र पास माक्र्स आठ र निर्धारण गरिएको थियो । सबैभन्दा कम नम्बर ल्याउने विद्यार्थीको हात बढी काटिएको छ । उनीहरूको हातमा १५ देखि २० पटक ब्लेडले चिरिएको छ ।

‘परीक्षामा राम्रो नम्बर नल्याएका विद्याथीहरूलाई गत बिहीबार कक्षाकोठाको बेन्चमा उभ्याएर सिसाकलम तिखार्ने ब्लेडले हाफ्नो हात आफैं चिर्न लगाएको प्रारम्भिक अनुसन्धानले देखाउँछ,’ प्रहरीले भनेको छ ।

आफ्नो हात आफैंले नचिर्नेको आफैंले चिरिदिने भन्दै विद्यार्थीहरुलाई शिक्षिकाले धम्क्याएको प्रहरी बताउँछ । बानेश्वर बृत्तबाट खटिएको प्रहरी टोलीले उनलाई शनिबार बिहान पक्राउ गरेको हो ।

उनीमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट आइतबार म्याद थप गरेर अनुसन्धान अघि बढाइने परिसर काठमाडौंका प्रमुख सुवेदीले जानकारी दिए । पक्राउ परेकी शिक्षिकामाथि अभद्र व्यवहार तथा अमानवीय यातनाको कसुरमा कारबाही गर्ने प्रहरी तयारी छ । प्रहरीले त्यसअघि सबै विद्यार्थी र अविभावकलाई भेट्नेसमेत जनाएको छ ।

विद्यालयले भने भक्तपुर घर भएकी शिक्षिका कर्माचार्यलाई अवकाश दिएको छ । अभिभावकहरूको गुनासोपछि विद्यालय व्यवस्थापन समितिको बैठकले उनलाई अवकाश दिएको विद्यालयका प्रिन्सिपल राजनकुमार श्रेष्ठले जानकारी दिए ।

विद्यार्थीलाई शारीरिक दण्ड दिने कार्यलाई निरुत्साहित गर्ने र शिक्षकबाट दण्डरहित शिक्षणलाई सम्मान गर्दै शिक्षिका कर्माचार्यलाई अवकाश दिएको अवकाशपत्रमा उल्लेख छ । राजधानी दैनिक

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments