अझै रोकिएन् सीता दाहालको आँसु

सोमवार, माघ २९, २०७४



काठमाडौँ । प्रचण्डपुत्र प्रकाश दाहालको मृत्यु भएको झन्डै तीन महिना भयो । तर, आमा सीता दाहालको आँसु अझै थामिएको छैन । छोरा प्रकाशको नाम र फोटो देख्नेबित्तिकै सीता झनै भावुक हुन्छिन् । आँखाबाट आँसु झर्न थाल्छ । कहिले छोरीहरूले त कहिले प्रचण्ड स्वयंले उनको हेरविचार गरिरहेका हुन्छन् ।

प्रकाश दाहालको निधनपछि पटक–पटक सार्वजनिक कार्यक्रममा श्रीमान् प्रचण्डसँगै चितवनका विभिन्न कार्यक्रममा सीता उपस्थित हुँदै आएकी छिन् । आइतबार भरतपुर गेस्ट हाउस चौरमा भएको कार्यक्रममा पनि उनी प्रचण्डसँगै थिइन् ।

मञ्चको दायाँ–बायाँ भागमा ठूलाठूला पोस्टर थिए । छोरा प्रकाशले ढाकाटोपी लगाएको अर्धकदको फोटो मञ्चमै आठ ठाउँमा राखिएको थियो । सीताका आँखा त्यहाँ पुग्थे सायद । उनी पटक–पटक आँसु पुछिरहेकी थिइन् ।

भरतपुरमा सुरु भएको मुवाँथाई प्रतियोगिताको उद्घाटनका लागि प्रचण्ड, सीता र भरतपुर महानगरकी मेयरसमेत रहेकी छोरी रेणु कार्यक्रम स्थलमा पुगेका थिए । प्रचण्ड पनि कार्यक्रममा भावुक देखिन्थे । छोरा प्रकाशको स्मृतिमा आयोजित खेलको प्रमुख अतिथि भएर आएका प्रचण्डले करिब पाँच मिनेट मात्र सम्बोधन गरे ।

सम्बोधनमा उनले राजनीति गतिविधिबारे बोलेनन् । छोरा प्रकाशको स्मृतिमा खेल आयोजना गराएकोमा आयोजकलाई मुरीमुरी धन्यवाद दिए । प्रचण्डले मञ्चमा स्व. प्रकाश दाहालको नाम लिइरहँदा आमा सीता भने मञ्चमै टाउकोमा दुई हात लगाएर बसेकी थिइन् ।

माओवादी अध्यक्ष प्रचण्डले स्थानीयस्तरमा हुने खेलकुदले संघीयता संस्थापन गर्नमा महत्वपूर्ण भूमिका खेल्ने बताए । भरतपुरमा सुरु भएको तेस्रो इन्डो–नेपाल मुवाँथाई तथा चौथो राष्ट्रिय मुवाँथाई एवं वृहत् तेक्वान्दो प्रतियोगिताको आइतबार उद्घाटन गर्दै प्रचण्डले खेलकुदको अन्तर्राष्ट्रियस्तरमा आकर्षण बढ्दै गएको बताए । नयाँ पत्रिकाबाट

110 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank