टी–२० विश्वकप खेल्ने नेपालको सपना तुहियो

आइतवार, साउन १२, २०७६



काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तरगत एसियाली छनोट प्रतियोगिताको अन्तिम खेलमा सिंगापुरसँग लज्जास्पद हार बेहोर्दै नेपालको सन् २०२० को टी–२० विश्वकप खेल्ने सपना तुहिएको छ । आइतबार भएको खेलमा सिंगापुरले नेपाललाई ८२ रनको फराकिलो अन्तरले हराउँदै ग्लोबल छनोटमा स्थान बनाएको हो ।

जितका लागि १ सय ९२ रनको विशाल लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो । औषत सुरुवात गरेको नेपालका कप्तान पारस खड्का व्यक्तिगत १२ रनमा आउट भए । ज्ञानेन्द्र मल्लले २१ बलमा ३९ रन बनाए ।

उनी दोस्रो विकेटका रुपमा आउट हुँदा नेपालको स्कोर ५४ रन थियो । तर त्यसपछि नेपाल सम्हालिन सकेन । दिपेन्द्र सिंह ऐरीले २३ रन बनाए भने सोमपाल कामीले ११ रन जोडे । अरु ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९१ रन बनाएको थियो ।

नेपालका लागि अभिनास बोहराले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले ३५ रन खर्चेर चार विकेट लिए । करण केसीले २ विकेट लिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata