सिमसार : संघीय नेपालको सबैभन्दा हेपिएको क्षेत्र

आइतवार, मंसिर १, २०७६



नेपालको झन्डै ६ प्रतिशत भूभाग सिमसार क्षेत्रले ओगटेको छ। २१ थरी आदिवासी एवं जनजाति समुदाय जीवनयापनका लागि यही सिमसारमा भर पर्दै आएका छन्।

पारिस्थितिकीय प्रणालीका सेवाहरू उपलब्ध गराउनुमा सिमसारको भूमिका उत्तिकै महत्वपूर्ण मानिन्छ। तर सिमसार क्षेत्रको संरक्षण, बुद्धिमतापूर्ण उपयोग र व्यवस्थापनका लागि निर्दिष्ट कानुन अझै बन्न सकेको छैन। यो क्षेत्रको संरक्षणका लागि बनेको राष्ट्रिय नीति सात वर्ष पुरानो हो तर त्यसलाई संंघीय नेपालको संरचनामा ढाल्ने काम अझै भएको छैन।

सिमसार क्षेत्रमा काम गर्ने विज्ञहरू जैविक विविधता, जलवायु परिवर्तनका जोखिमलाई न्यूनीकरण र अनुकूलनमा सिमसारले गर्ने योगदानको हिसाब एवं संस्कृति र जीवनयापनमा रहेको महत्व देखेर दंग छन् तर संघीय नेपालले यसको संरक्षण र क्षयीकरण रोक्न आवश्यक कानुन निर्माण नगरेकोमा दुःखी छन्।

‘सिमसार संघीय नेपालको सबैभन्दा हेपिएको क्षेत्र देखिएको छ,’ संरक्षणकर्मी तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र वन मन्त्रालयले केही वर्षअघि सम्पन्न गरेको सिमसार क्षेत्र संरक्षण र दिगो उपयोग परियोजनाका प्रमुख टोप खत्री भन्छन्, ‘संघीय सरकारले उत्पादक पारिस्थितिकीय प्रणालीमा यति धेरै महत्वपूर्ण भूमिका खेल्ने क्षेत्रलाई यथोचित ध्यान नदिनु चिन्ताको विषय हो।’

अन्तर्राष्ट्रिय रूपमा प्राकृतिक अथवा कृत्रिम रूपले सिर्जना भई स्थायी वा अस्थायी रूपमा पानीले ढाकेको, पानी बग्ने वा झरनाका रूपमा खसेर बनेको दलदल, धाप, जरुवा क्षेत्र, नुनिलो तथा क्षारयुक्त पानी रहेको ठाउँ अथवा भूभागलाई सिमसार क्षेत्र भन्ने गरिएको छ।

आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata