सीमास्तम्भ नहुँदा दसगजा अतिक्रमण

मङ्लबार, कार्तिक २६, २०७६



गत साउनमा भारतीय सीमासँग जोडिएको पूर्वको सूर्योदय नगरपालिका–२, चारमाइलबाट भारत छिर्ने कच्ची सडक भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बन्द गर्न खोज्यो।

वर्षौं पुरानो सडकको बीचमै खाडल खनेर आउ–जाउ रोक्ने प्रयास गरेपछि स्थानीय, जनप्रतिनिधि र प्रशासनले विरोध गरे। एसएसबी पछि हट्यो र सडकमा खनिएको खाडल आफैं पुर्न बाध्य भयो।

नेपालबाट बिक्रीका लागि भारतीय बजारमा पुग्ने तरकारी रोक्न एसएसबीले दसगजा क्षेत्रमै सडक बन्द गराउने प्रयास गरेको थियो।

सीमाक्षेत्र नै यकिन नभई सडक बन्द गर्न नमिल्ने भन्दै स्थानीयले विरोध गरेपछि सीमा क्षेत्र सर्वेक्षणसम्मका लागि सडक खुला गर्न एसएसबी सहमत भएको थियो।

गत वर्ष पशुपतिनगरको फाटकसँग जोडिएको दसगजामा भारतले बौद्ध गुम्बा ठड्यायो। पुरानो गुम्बा मर्मतका नाममा भारतले कच्ची गुम्बाका ठाउँमा पक्की भवन बनाए पनि नेपाली पक्षले ‘माथिल्लो निकायमा जानकारी गराउने’ बाहेक अरु केही गर्न सकेन।

दसगजामा दुईतले पक्की गुम्बा बन्यो। गुम्बा बनाउन थालेपछि भूमिसुधार तथा व्यवस्थापन विभागको टोलीले स्थलगत अध्ययन र नापजाँच पनि गर्यो र त्यो भूमि दसगजा नै भएको ठहर गर्यो। तर गुम्बा निर्माण रोकिएन। दसजगामै भारतले कस्टम अफिस, पुलिस चौकी र अन्य चारपाँचवटा घरटहरासमेत बनाइसकेको टोलीले पाएको थियो।

भारतले ७१/६, ७१/७ र ७१/८ नम्बरका सीमास्तम्भभित्रको क्षेत्रमा संरचना निर्माण गरेको र गुम्बा बनाएको टोलीले बताएको थियो।

दुई वर्षअघि भारतीय सीमावर्ती क्षेत्र माबुको चौंरीचोकमा एसएसबीका बर्दीधारी जवान हतियार बोकेरै नेपाली भूमिमा आए। तस्बिर खिच्न खोज्दा उनीसँगै रहेका सादा पोसाकका अर्का जवानले देखेपछि हिँडाइको गति बढाए र तत्कालै ओझेल परे।

वर्ष दिनअघि एसएसबीका एक जवानलाई जिल्लाको छब्बिसेछेउ टासीगाउँका बासिन्दाले पक्रेर कुटपिट नै गरे। नेपाली भूमिमै आएर स्थानीय व्यापारीलाई खानतलासी गर्न थालेपछि स्थानीयले ती जवानलाई कुटपिट गरी प्रहरीमा बुझाइदिएका थिए।

गत आर्थिक वर्ष पर्यटकीय क्षेत्र सन्दकपुरमा बन्न लागेको भ्यु–पोइन्ट दसगजामा परेको भन्दै एसएसबीले निर्माण रोकिदियो।

त्यसको केही महिनाअघि एसएसबीले सन्दकपुर गाउँपालिका–५ जमुनाको गैरीबास–कालपोखरी ट्रेकिङ रुट निर्माणको काम अवरोध गर्यो।

शुरुमा नापजाँच गर्दा चुप बसेको एसएसबीले निर्माणको काम शुरु भएपछि सडक निर्माण उपभोक्ता समितिका पदाधिकारीलाई धम्की दिएर अवरोध प्रयास गरेको थियो। त्यो भूमि नेपालमै पर्ने भएकाले स्थानीयले व्यापरक विरोध जनाएपछि एसएसबी पछि सर्यो र निर्माणको काम गरियो।

पूर्वी इलामको भारतीय सीमासँग जोडिएका स्थानमा वर्षौंदेखि विवाद भइरहन्छ। एसएसबीका जवानले कहिले नेपाली भूमिमा छिरेर स्थानीयलाई कुटपिट गर्ने, कहिले हतियारसहित आएर वन्यजन्तुको सिकार गरी लैजाने गर्दै आएका पछिल्ला केही वर्षयता यस्ता गतिविधि केही कम भएका छन्।

तर फेरि कुन बेला विवाद हुने हो र गम्भीर क्षति हुने हो भन्ने त्रास सधैं हुनेगरेको स्थानीय बताउँछन्। ‘दसगजामा भारतीय पक्षले दर्जनौं स्थानमा संरचना बनाएको छ। नेपालीलाई चाहिँ छिरिक्क छुन दिँदैन,’ पशुपतिनगरका अगुवा मिलन क्षेत्री भन्छन्, ‘नेपालीले पनि दसगजामा संरचना त बनाएकै छन् तर तुलनात्मक रूपमा ज्यादै कम छ।’

आजको नागरिक दैनीकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata