सिमा अतिक्रमणबारे चीनकाे स्पष्टाेक्ति

बिहिबार, कार्तिक २८, २०७६



काठमाडौं । केही समयअघि भारतले जारी गरेको आफ्नो नयाँ नक्सामा नेपाली भूभाग कालापानी क्षेत्रलाई भारतमा देखाइएको थियो । भारतको उक्त नक्साको नेपालमा चर्को विरोध भइरहेको छ ।

यसै सन्दर्भमा चीनले आफ्नो प्रतिक्रिया दिएको छ । बिहीबार पत्रकारसँगको कुराकानीपछि विज्ञप्ती सार्वजनिक गर्दै काठमाडौंस्थित चिनियाँ राजदूतावासका प्रवक्ता वाङ सिओयोलोङले कालापानी क्षेत्रको विवाद नेपाल र भारतले वार्ता तथा परामर्शका आधारमा टुंगो लगाउनु पर्ने बताएका हुन् ।

उनलाई भारतले कालापानी क्षेत्रलाई समेटेर जारी गरेको नयाँ नक्साले बढाएको नेपाल–भारत सीमा विवाद, यस विषयमा नेपालीको पक्षको चासो र तिव्र असन्तुष्टिका बारेमा चीनको धारणाका बारेमा पनि सोधिएको थियो । साथै, चीनले पनि नेपालको ३६ हेक्टर जमिन मिचेको समाचार आएको विषयमा पनि प्रश्न सोधिएको थियो ।

‘चीन सधैं नेपालको सम्प्रभुता र भौगोलिक अखण्डताको सम्मान गर्छ,’ उनले भने, ‘केही गैरजिम्मेवार व्यक्ति र मिडियाले चीनले नेपालको सीमा मिचेको भनेका छन् । हामीले पनि सुनेका यो सुनेका थियौं । तर, ति सब आरोप आधारहीन छन् । उनीहरूको उद्देश्य भ्रमको खेति गरेर जनताको ध्यान भड्काउनु रहेको देखिन्छ ।’

नेपाल र चीनबीच सन् २०१६ मा सीमा सन्धीमा हस्ताक्षर भएको र सोही सन्धीका आधारमा सीमा तय भएको पनि उनले उल्लेख गरे ।

‘त्यसपछिका वर्षहरूमा दुवै पक्षले सीमा र सुख्खा बन्दरगाहजस्ता मुद्दामा सौहार्दपूर्वक सहकार्य गरिरहेका छन् । अक्टोबरमा भएको राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा पनि दुवै पक्षले सीमा व्यवस्थापन प्रणालीमा हस्ताक्षर गरेका छन्,’ उनले भने, ‘चीन नेपालसँग सीमा समस्या, बाह्य हस्तक्षेपको विरोध र साझा विकासको सहकार्यलाई थप बलियो बनाउन चाहन्छ ।’ उनले नेपाल–चीन सम्बन्धमा फाटो ल्याउने कुनै पनि प्रयास सफल नहुने जिकिर गरे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata