सीमा बन्दले पनि रोकिएन जाने–आउनेको लर्को, नेपालतर्फ घर फिर्नेकै संख्या धेरै

मङ्लबार, चैत्र ११, २०७६



सरकारले सात दिनका लागि नेपाल–भारत सीमा नाका बन्द गर्ने घोषणा गरे पनि पूर्वी नाकामा नाकाबाट आउजाउ रोकिएको छैन ।

भारतबाट आउजाउ दिउँसो रोकिए पनि बिहान–बेलुका जारी थियो । सोमबार अघिल्ला दिनभन्दा बढी यात्रु आएको प्रहरीले जनाएको छ । दिउँसो मेची पुलमा र राति इलाका प्रहरी कार्यालय काँकडभिट्टा परिसरमा यात्रुको भीड थियो ।

बिहान ११ बजेपछि नाकाबन्द गर्ने निर्देशन अनुसार स्थानीय सरकार र प्रहरीले बिहान १ हजार ७ सय ४२ जना यात्रीलाई भारत जाने अनुमति दियो । भारतबाट ३ सय १५ जना नेपाल प्रवेश गरे ।

१० बजेपछि भने नाका केही समय चकमन्न बन्यो । मालवहाक गाडीलाई मात्रै प्रवेश दिइएको थियो । यही क्रममा भारत पश्चिम वंगालको पानीट्यांकी नाकामा तैनाथ सुरक्षाकर्मीले करिब ५ सय हाराहारी नेपालीको शरीरको तापक्रम जाँचेर पठायो । नेपालतर्फ सुरक्षाकर्मीले नाकावन्दीको कारण देखाउँदै उनीहरुलाई प्रवेश गर्न दिएनन् । करिब ५ घन्टा उनीहरु मेची पुलमै अलपत्र परे । अलपत्रहरुमा बालवालिका र वृद्धवृद्धा उल्लेख्य थिए ।

प्रवेश गर्न नदिएको विरोधमा नेपाली यात्रीहरुले पुलमै नाराबाजी गरेका थिए । प्रहरीले उनीहरुको गुनासो जिल्ला प्रशासन कार्यालयमा पुर्‍याएपछि प्रमुख जिल्ला अधिकारीले केन्द्रमा पत्राचारसम्म गरे । कुनै ठोस निर्णय भने आएन । प्रमुख जिल्ला अधिकारी उदयवहादुर रानाले भने, ‘उनीहरुलाई नेपाल ल्याउन पहलसम्म गरेको थिएँ ।’

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सीमा नाकाको निरीक्षणमा आएका थिए । दुबैतर्फको अलपत्र यात्रीलाई आउजाउ गर्न दिने सहमति केन्द्रले दिएको उनले जनाए । ‘तपाईहरुको समस्यालाई मध्यनजर गरेर प्रवेश अनुमति दिएका छौ’ उनले भने, ‘कम्तीमा ७ दिन सेल्फ क्वारेन्टाइनमा बस्दिनु होला ।’ यसपछि वागडोग्रा, सिलिगुडी जस्ता सहर फर्किएका केही यात्रीहरु पुनः आएका थिए ।

अधिकांश भारतीय सहर मुम्वई, दिल्ली, केरला, चेन्नई र कोलकातावाट घर फर्किएका थिए । धेरैजसा श्रमिक र कपिपय विद्यार्थी थिए । बंगलादेशवाट आएका विद्यार्थी पनि थिए । प्रहरीका अनुसार सोमवार साँझ २ हजार भन्दा वढी नेपाली भारतवाट आए । १ हजार ५ सय हाराहारीमा भारततिर गएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments