काठमाडौको मेयरका आकाङक्षी श्रेष्ठको योजना: बेरोजगारमुक्त महानगर

स्थानीय निर्वाचन विषेश

बिहिबार, बैशाख ७, २०७४

- दीपेन्द्र खड्का



नेकपा एमालेका केन्द्रीय सदस्य जीवनराम श्रेष्ठ स्थानीय तहको आसन्न निर्वाचनमा काठमाडौँ महानगरपालिकाको उम्मेदवारका रुपमा चर्चामा छन् । नेवार समुदायको बाहुल्यता रहेको काठमाडौँमा सोही समुदायका नेता श्रेष्ठले मेयरमा गरिरहेका दावीलाई स्वभाविक मान्न थालिएको छ । श्रेष्ठ प्रशासनिक तथा राजनीतिक नेतृत्वका हिसावले अब्बल मानिन्छन् । २०४९ सालमा १५ नम्बर वडाका अध्यक्ष र दुई पटक राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव भएर अनुभव संगालेका उनी अहिले नेपाल ओलम्पिक कमिटीको अध्यक्ष छन् । खेलकुद क्षेत्रमा रहेका कारण उनको अन्तराष्ट्रिय सम्बन्ध र सम्पर्क पनि बलियो छ । अर्को खेलकुद क्षेत्रमा क्रियाशिल रहेका कारण उनी युवाहरु माझ लोकप्रिय छन् । एमालेबाट काठमाडौँको मेयरको उम्मेदवारीको तयारी गरिरहेका उनले आफ्नो योजना  नेपालपाटीसंग मोटामोटी रुपमा खुलाए ।

के हुन काठमाडौँका तत्कालिन समस्या ?
अहिले काठमाडौँ धुलो, धुवाँ र अस्तव्यस्त शहर भएको छ । प्रशासनिक ढिलासुस्ती, भ्रष्टाचार चौतर्फी रुपमा गाँजिएको छ । महानगरबासीको हैसियतमा जनताले पाउनुपर्ने आधारभुत सुविधाहरु समेत पाउन सकेका छैनन् ।


यसका लागि हामीले तत्कालिन, मध्यकालिन र दीर्घकालिन गरी तीन चरणका योजनाहरु तयार गरी कार्य प्रारम्भ गर्नु आवश्यक छ । सो अनुसार पुर्वाधार विकास, वातावरण संरक्षण, कला र संस्कृतिको संरक्षण र सम्बद्र्धन, शहरी व्यवस्थापन, सुरक्षाको प्रबन्ध, सेवा क्षेत्रको विकास, रोजगारी सिर्जना, मानव संशाधनको विकास, भूकम्प प्रतिरोधात्मक संरचना निर्माण गर्नु आवश्यक छ ।


खानेपानीको अभाव, सार्वजनिक यातायातको दुरावस्था र अत्याधिक ट्राफिक जामले जनजिवन अस्तव्यस्त छ । महानगरभित्रका अधिकाँश सडकहरु सुख्खा समयमा धुलाम्मे र पानी पर्दा हिलासम्मे हुँदा हिडडुल गर्न समेत समस्या छ । जसले गर्दा महानगरबासीको दैनिकी र स्वास्थ्यमा समस्या उत्पन्न भएको छ । मास्क प्रयोग नगरी सडकमा निस्कन सक्ने अवस्था छैन ।

भूकम्पले विस्थापित भएका परिवारहरु अझैसम्म पुर्नव्यस्थीत हुन सकिरहेका छैनन् । भूकम्पबाट क्षतिग्रस्त भएका भौतिक संरचनाहरुको निर्माण कार्य अझैसम्म पनि सुरु हुन सकेको छैन । बनेका ऐतिहासिक सम्पदाहरुको पुर्नर्निर्माण हुन सकिरहेको छैन । राष्ट्रिय पुर्नर्निर्माण प्राधिकरणले सहज ढंगले जनतालाई पुर्नर्निर्माणको कार्यमा सेवा प्रदान गर्न सकेको छैन । भित्री शहरमा बाक्लो बस्ती भएका महत्वपुर्ण स्थलहरु जस्तै अशन, इन्द्रचोक, झोँछे, मखन, भीमसेनस्थान, किलागल, ठैँहिटी जस्ता ठाउँहरुमा टेको लगाएको घरको गल्लिहरुमा जोखिमपसर्ण रुपले आवातजावत गर्नुपर्ने अवस्था छ ।

अब काठमाडौँ बनाउने कसरी ?
काठमाडौँ देशको राजधानी भएकोले नेपालीहरु मात्र नभएर विदेशी कुटनैतिक नियोगहरु पनि बस्ने ठाउँ हो । त्यसैले यसको महत्व अन्य नगरहरु भन्दा विशेष छ । राजधानीलाई व्यवस्थीत गर्ने कार्यले सिंगो राष्ट्रको विकासलाई सकरात्मक प्रभाव पार्छ । अन्तराष्ट्रिय क्षेत्रमा पनि नेपालको छबीलाई राम्रो बनाउँछ । मौसमको अनुकुलता, प्राकृतिक सुन्दरता, धार्मिक तथा सांस्कृतिक सम्पदाको धनी काठमाडौँलाई अन्तराष्ट्रिय रुपमा आकर्षणको केन्द्र बनाउन सकिन्छ ।

यसका लागि हामीले तत्कालिन, मध्यकालिन र दीर्घकालिन गरी तीन चरणका योजनाहरु तयार गरी कार्य प्रारम्भ गर्नु आवश्यक छ । सो अनुसार पुर्वाधार विकास, वातावरण संरक्षण, कला र संस्कृतिको संरक्षण र सम्बद्र्धन, शहरी व्यवस्थापन, सुरक्षाको प्रबन्ध, सेवा क्षेत्रको विकास, रोजगारी सिर्जना, मानव संशाधनको विकास, भूकम्प प्रतिरोधात्मक संरचना निर्माण गर्नु आवश्यक छ ।

यि सबै काम गर्न आर्थिक स्रोत व्यवस्थापनको चूनौति आउन सक्छ । यसका लागि महानगरले स्रोतको अभिबृद्धि गर्न करको दायरालाई फराकिलो बनाउने, प्रादेशिक तथा केन्द्र सरकारसंग समन्वय गर्ने, नीजी क्षेत्र र अन्तराष्ट्रिय लगानी तथा सहयोगलाई बढाउने नीति अख्तियार गर्नुपर्छ ।
महानगरलाई व्यवस्थापन गर्ने तत्कालिन योजना
क.तत्काल महानगबासीलाई धुलोको संकटबाट मूक्त गर्ने । त्यसका लागि हाल काठमाडौँमा खनिएका सडकहरु तीन भित्र कालोपत्रे गरी सम्स्याको समाधान गर्ने ।
ख.बस्तीका भित्री साँघुरा बाटोहरु सुधार गर्न हिलोबाट मुक्त गर्ने । जसका लागि स्थानीय जनताको नेतृत्व र सहभागितामा कङक्रिट बाटोहरु निर्माणको योजना लागु गर्ने ।
ग.अव्यवस्थीत फुटपाथका पसलहरुलाई तत्काल व्यवस्थापन गरी बटुवाहरुलाई आवतजावतमा सहज बनाउने ।
घ. प्रशासनलाई चुस्त र जनउत्रदायी बनाउनुका साथै भ्रष्टाचारलाई शुन्य सहिनशिलताको नीति अख्तियार गर्ने ।
ङ.भूकम्पबाट क्षतिग्रस्त भएका जोखिमपुर्ण सार्वजनिक स्थलहरुलाई तत्काल जोखिममूक्त बनाउने ।
च. भूकम्पबाट विस्थापित घर परिवारलाई एक वर्षभित्र पुर्नस्थापित गर्ने ।

महानगरलाई नमुना महानगर बनाउन ठुला भौतिक पुर्वाधार निर्माण अपरिहार्य छ । आधानुनिकिकरण संसंगै हाम्रो मौलिक पहिचान र आस्थालाई संरक्षण गर्नुपर्ने चुनौति पनि हाम्रो काँधमा छ । अब नयाँ पुस्ताले छोटो समयका लागि भन्दा भावी पुस्ताका लागि समेत सोचेर योजना बनाउने र त्यसलाई कार्यान्वयन गर्न सक्नुपर्छ । दुर दृष्टिका साथ योजना बनाउन सकिए मात्र हामीले सफा, स्वच्छ, सुन्दर र सम्बृद्ध महानगर बनाउन सक्छौँ ।

एकीकृत द्धारबाट विकास निर्माणको काम गर्ने नीति अख्तियार गर्नुपर्छ । सडक निर्माण गर्ने क्रममा बिजुली, टेलिफोन, ढल लगायतका निर्माणका काम एकै साथ गर्ने नीति अवलम्बन गर्न आवश्यक छ । अब महानगरले आफ्नो क्षेत्र भित्र काम गर्ने नयाँ शैली विकास गर्नुपर्छ ।
दीर्घकालिन योजना

  • सडक तथा यातायात
    पहिलो कुरा काठमाडौँ उपत्यका भित्रको सडक विस्तारको योजनाममै पुनरविचार गर्नुपर्ने आवश्यकता छ । शहरको वर्गिकरणको आधारमा सडकको मापन गर्नुपर्छ । महानगरको धार्मिक तथा सांस्कृति महत्वका क्षेत्रहरुलाई प्रभावित गर्ने किसिमले सडक विस्तार गर्नु हुदैन । शहरको पुरातात्वीक महत्वलाई बचाउँदै विकासका योजनाहरु तयार गर्नुपर्छ । यहाँको कला, संस्कृति र परम्परासंग स्थानीय समुदायको अभिन्न सम्बन्ध जोडिएको छ । त्यसैले स्थानीय बासिन्दाहरु विस्थापित हुने कुराले यहाँको कला संस्कृति लोप हुने खतरा रहन्छ । जसले काठमाडौँको महत्वलाई घटाउँछ ।त्यसैले वर्षेनी सडक विस्तार गरेर काठमाडौँको सडक जामको समस्या समाधान हुदैन । त्यसकारण हामीले शहरको क्षमता अनुसारको जनघनत्व व्यवस्थापन गर्ने योजना आवश्यक छ । यातायातको क्षेत्रमा आधुनिक प्रविधीलाई प्रयोग गर्नुपर्छ ।

काठमाडौँमा मोनो वा मेट्रो रेललाई प्रयोगमा ल्याउने जस्ता अन्य मास ट्रान्सपोर्टेशनलाई प्रयोगमा ल्याउनुपर्छ । जसरको कारणले नीजी सवारी साधनहरुको चाप घटाउन सहयोग पुग्छ । यसैगरी सार्वजनिक सवारी साधनहरुमा सर्वसाधारण जनताको पहुँच पुग्ने गरी सहज र भरपर्दो बनाउनुपर्छ । ति साधनहरु निर्धारित समयमा चल्ने र गन्तव्यमा पुग्ने व्यवस्था मिलाउनुपर्छ ।

  • जनताको कर जनताकै सेवामा
    अहिले कतिपय महानगरबासीहरु करको मात्रा बढ्छकी भनेर त्रसित भएको देखिन्छ । कर तिर्नु नागरिकको कर्तव्य हो भने आवश्यक पर्ने सुविधाहरु उपलब्ध गराउनु महानगरको दायित्व हो । मेरो स्पष्ट मान्यता छ की, जनताले तिरेको कर जनताकै सुविधानमा खर्च गर्नुपर्छ । महानगरले जनताको करलाई अधिकतम सदुपयोग गर्दै व्यवस्थित शहर निर्माणको अभियानलाई अघि बढाउनुपर्छ ।
  • महानगरको क्षेत्रलाई वर्गिकरण (जोनिङ) गर्ने
    आवासिय, औद्योगिक, व्यवसायिक, कुटनैतिक, सांस्कृतिक, धार्मिक, सार्वजनीक जस्ता क्षेत्रहरुलाई वर्गिकृत गरी योजनाहरु तयार गर्नुपर्छ । जसले गर्दा शहरको व्यवस्थापन, सुरक्षा, कर प्रणाली, यातायातको व्यवस्थापन, प्राकृतिक प्रकोपको प्रधावनकारी व्यवस्थापन, वातावरणीय प्रदुषण नियन्त्रण, फोहरमैलाको दीगो व्यवस्थापन, सामाजिक सुरक्षाको प्रत्याभूती जस्ता कुराहरुमा सहजता आउँछ ।
  • गुणस्तरीय शिक्षा
    महानगर भित्र सबै वर्ग र समुदायका मानिसहरु बसोबास गर्दछन् । त्यसैले सामुदायिक विद्यालयहरुलाई गुणस्तरीय बनाउनुपर्छ । महानगरभित्रका सम्पुर्ण बालबालिकाहरुलाई शिक्षाबाट बन्चित नहुने किसिमको अवस्था सिर्जना गर्नुपर्छ । महानगरभित्रका सम्पुर्ण शैक्षिक संस्थाहरुमा अंग्रेजी माध्याममा अध्ययन अध्यापन गर्ने र स्थानीय भाषालाई समेत समावेश गरी संचालन गर्नुपर्छ । रोजगारी सिर्जना गर्न जति सक्दो धेरै प्राविधिक शिक्षालयहरुको संचालन गर्नुपर्छ ।
  • युवा लक्षित योजना
    विकासको मुख्य आधार भनेको युवा जनशक्ती हो । उनिहरुको योग्यता, क्षमता र स्वास्थ्यको लागि योजना बनाउनु आवश्यक छ । युवा जनशक्तीलाई सम्भावित विकृतिबाछ मुक्त बनाउने किसिमका कार्यक्रमहरु संचालन गर्नुपर्छ । त्यसका लागि प्रत्येक वडाहरुमा युथ सपोर्ट सेन्टर स्थापना गरी सेवा प्रदान गर्नुपर्छ । जसबाट युवाहरुलाई क्यारियर काउन्सीलिङ, जब इन्र्फमेशन, साईकोलोजिकल काउन्सीलिङ जस्ता सेवाहरु दिने व्यवस्था गर्नुपर्छ ।
  • यसका अलावा, विभिन्न ठाउँहरुमा स्मार्ट पार्कहरुको व्यवस्था गर्ने ।
  • सबै उमेरका मानिसहरु घुमफिरको लागि मनोरन्जन पार्कहरु निर्माण गर्ने ।
  • फरक क्षमता भएका मानिहरुमैत्री शहर निर्माण गर्ने ।
    बालबालिकाहरुका लागि चिल्ड्रेन पार्क निर्माण गर्ने ।
  • जेष्ठ नागरिकहरुको लागि पार्क र क्लब निर्माण गर्ने ।
    महानगरले आफ्नै खेलकुदका पुर्वाधारहरु निर्माण गर्ने ।
  • महानगरबासीहरुलाई उपचारको अभावमा पिडित बन्न नदिन सबैको स्वास्थ्य बिमा गर्ने ।
  • सहरी गरिब परिवारको आर्थिक उत्थानको लागि रोजगारीको अवसर प्रदान गर्ने ।
  • बेरोजगारमुक्त महानगर बनाउने अभियान संचालन गर्ने । जस अन्र्तगत महिलाहरुलाई घरमै आधारित स्वरोजगारका अवसरहरु प्रदान गर्ने, युवाहरुलाई सीपयुक्त बनाई रोजगारी दिने र महानगरभित्र आवर बेसिस जबको नीति लागु गर्ने ।

पर्यटन क्षेत्रको विकास र बाग्मती लगायतका नदीहरु तथा खोलाहरुलाई फोहोरमुक्त बनाई रमणीय ठाउँको रुपमा विकास गर्ने लगायतका योजनाहरु छन । पर्यटन व्यवसायको विकासको लागि नाइट लाइफको बजार विकास गर्ने गरी योजना अघि सार्नुपर्छ । सुरक्षाको सवालमा भन्नुपर्दा राती १२ बजेपनि महिला एक्लै हिडडुल गर्न सक्ने किसिमको वातावरण सिर्जना गर्नुपर्छ ।

काठमाडौँलाई यसअघि कतिपय नेताहरुले भने जस्तो काठमाडौँलाई सिंगापुर वा स्वीजरल्याण्ड नभएर मौलिक पहिचानसहितको काठमाडौँ बनाउनुपर्छ । यसको लागि योजना र स्रोतको कमी भन्दा कार्यान्वयनको पक्ष कमजोर छ । त्यसैले महानगर बनाउन इमान्दार नेतृत्व र दृढ इच्छाशक्ती भएको व्यक्तीको आवश्यकता छ । यी सबै कुराको परिपुर्ति गर्न नेतृत्व लिन म तयार छु ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments