श्रमिकलाई सहयोगको प्याकेज निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउँछुः अध्यक्ष प्रचण्ड

शुक्रबार, बैशाख १९, २०७७



काठमाडौं । नेपाल कम्युनिष्टपार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १३१औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवीलाई शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष प्रचण्डद्वारा शुभकामना सन्देशमा सम्पूर्ण श्रमिकको सुस्वास्थ र प्रगतिको अपेक्षासहित शुभकामना व्यक्त गरेका छन् । ‘विश्वव्यापी महामारीका रुपमा देखा परेको कोभिड–१९ नामक घातक भाइरसको सामना गर्न सिङ्गो विश्व नै संघर्षरत छ, यतिबेला संसारभरका श्रमजीवि मजदुरहरुको रोजगारी गुमिरहेको छ’ सन्देशमा भनिएको छ, ‘दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नुपर्ने राजधानी लगायतका विभिन्न शहरमा रहेका निम्न वर्गीय श्रमजीवी जनताको खाद्यान्न लगायतको व्यवस्थापनमा आवश्यक राहत र विशेष सहयोगको प्याकेज निर्माण गर्न म सरकारको विशेष ध्यानाकर्षण गराउँदछु ।’

देशका विभिन्न भागबाट आ–आफ्नो घर फर्किने क्रममा अलपत्र परेका मजदुर र अन्य जनसमुदायलाई सुरक्षितरुपमा गन्तव्यमा पुर्‍याउनुपर्ने कर्तव्य सबैको भएको सन्देशमा उल्लेख छ । १ मे १८८६ मा अमेरिकाको शिकागोमा ८ घण्टे कार्यदिनका लागि गरिएको आन्दोलनको स्मरण गराउने गौरवशाली दिनको रूपमा हरेक वर्ष आजकै दिन विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइन्छ ।

नेपालमा २००३ मा विराटनगर जुट मिलबाट शुरू भएको श्रमिक आन्दोलन, विभिन्न कालखण्डका सशस्त्र र शान्तिपूर्ण जनआन्दोलनमा श्रमजीवी जनताको बलिदानीपूर्ण संघर्षलाई गर्वका साथ स्मरण गरेको कुरा सन्देशमा छ ।

‘कोरोना भाइरसको संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न श्रमजीवि जनसमुदायमा अपिल गर्दै पुनः एकपटक सुख, शान्ति र समृद्धिको कामना गर्दछु’ सन्देशमा भनिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments