धार्मिक पर्वहरुमा पानी परेकै हुन्छ, आज पनि पर्ने

सोमवार, फाल्गुन २०, २०७५



काठमाडौँ  ।  नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्षसमेत रहनुभएका भट्टराईका अनुसार सूर्य र बुध ग्रह अलग स्थानमा हुँदा महत्वपूर्ण धार्मिक पर्व आसपासमा वर्षा र मौसमी गतिविधिमा उतारचढाव आउने गर्छ ।

‘शिवरात्रीमा अपवादबाहेक पानी परेकै हुन्छ, ग्रह र नक्षत्रको प्रभावले यस्तो हुने गर्छ, संस्कृतिविद् डा.माधव भट्टराई भन्छन्–‘ऋतु परिवर्तन आसपासका धार्मिक पर्वहरु माघे संक्रान्ती, वसन्त पञ्चमी, शिवरात्रीको समयमा मौसम गडबढ भएकै हुन्छ ।’

उनी प्रष्ट्याउँदै थप्छन्–‘दुवै ग्रहको अवस्था नियाल्दा अहिलेको हिउँदे वर्षा अझै २/४ दिन लम्बिने संभावना छ, हावाहुरीसहित पानी पर्ने योग छ ।’

‘अघिपछि त्यस्तै हो शिवरात्रीमा छिटफुट भए पनि पानी आउँछ, आएन भने पनि मौसम चाहिँ पक्कै धुमिन्छ’–हिउँदयामको आखिरी समयको महाशिवरात्री पर्व नजिकिदै जाँदा बुढापाकाको यस्तै तर्क सुनिन्छ ।

यसपटकको यथार्थ पनि ठ्याक्कै मिलेको छ । यो वर्षमात्रै होइन, विगतका वर्षमा पनि शिवरात्री अघिपछि हल्का र मध्यम वर्षासँगै मौसम धुमिएको उदाहरण धेरै छन् । धार्मिक पर्व र मौसमी चक्रमा हुने उतार–चढाव संयोग हो या नियमित मौसमी प्रकृया हो, यस प्रश्नमा संस्कृति र मौसमविद्का आ–आफ्नै तर्क छ ।

यता जल तथा मौसम विज्ञान विभागले पनि केही दिन अझै मौसममा उतार–चढाव आउने बताएको छ । विभागले स्याटेलाइट तस्वीर, सतही मौसमी मापन स्टेसन, मौसमी नक्साजस्ता अभ्यासको सूचना विश्लेषण गरेर हरेक दिन मौसमी विवरण अद्यावधिक गर्दै आएको छ । नेपालको हिउँदे झरी सक्रिय र निस्कृय गराउन भू–मध्य र अरब सागरबाट भित्रिने पश्चिमी वायुको प्रभाव रहने गरेको मौसमविद्हरु बताउँछन् ।

मौसमविद् मीनकुमार अर्यालका अनुसार आज सोमबारको तुलनामा भोली मंगलबारको मौसम केही बढी प्रभावित बन्नेछ । ‘मंगलबार तराईबाहेक पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने संभावना छ’, उनको भनाइ छ ।

यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments