पार्टी एक ढिक्का बनाइसकेपछि विश्राम लिन्छु: सभापति देउवा

शनिबार, कार्तिक १७, २०७५



काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान घोषणापछि सम्पन्न तीन तहको निर्वाचनबाट नेपाली कांग्रेस पार्टीको सिद्धान्त विजय भएको बताएका छन्।

दसैं, तिहार, छठ तथा नेपाल संवत्को उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्न कांग्रेस काठमाडौं महानगरपालिका–४ कार्यसमितिले आज आयोजना गरेको कार्यक्रममा देउवाले तीन तहको निर्वाचनपछि कांग्रेसले अपेक्षित मत परिणाम ल्याउन नसके पनि अर्को निर्वाचनमा पार्टीलाई पहिलो नम्बर बनाउनका लागि आफू निरन्तर लागि रहने र पार्टीलाई एक ढिक्का बनाइसकेपछि मात्र विश्राम लिने बताए।

उनले देश अप्ठ्यारो अवस्थामा रहेको चर्चा गर्दै मुलुकमा बलात्कार तथा हिंसाजन्य अपराध धेरै बढेको र सरकारले पीडितलाई न्याय दिन नसकेको उल्लेख गरे।

कांग्रेसका महामन्त्री डा‍ शशाङ्क कोइरालाले कांग्रेस एक ढिक्का भई निर्वाचनमा गएमा अर्को पटक काङ्ग्रेसले निर्वाचन जित्न सक्ने विचार व्यक्त गरे। उनले गएको निर्वाचनमा पार्टीभित्रको गुट उपगुटका कारण पार्टीले पराजय भोग्नुपरेको बताए।

पूर्वमन्त्री डा प्रकाशशरण महतले काङ्ग्रेसको नेतृत्वमा नेपालमा शान्ति स्थापना भएको, संविधान जारी भएको तथा तीन तहको निर्वाचन सम्पन्न भएको बताए।

अर्का पूर्वमन्त्री नरहरि आचार्यले लोकतन्त्रमा सत्ता पक्षको साथै प्रतिपक्षको पनि उत्तिकै भूमिका रहने विचार राखे।

88 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank