सरकार विरुद्ध आन्दोलन गर्नु पर्ने बेला आयो: सभापति देउवा

शुक्रबार, बैशाख ६, २०७६



काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको हितमा काम गर्न नसकेको बताएका छन् ।  नेपाल विद्यार्थी संघको ४९ औँ स्थापना दिवसका अवसरमा नेविसंघ काठमाडौँले शुक्रबार आयोजना गरेको ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा सभापति देउवाले सरकारको विरुद्ध आन्दोलन गर्नुपर्ने बेला आएको बताए ।

“निर्मला हत्याकाण्डका हत्यारालाई सरकारले बचाउने काम गरिरहेको छ । महङ्गी बढेको छ । करको दायरा बढेको छ । वर्तमान सरकारको अन्याय, अत्याचार विरुद्ध नेविसङ्घ जाग्नुपर्ने बेला आएको छ,”–उनले भने ।  सभापति देउवाले विद्यार्थीसँगको छलफलमा नेविसंघको तदर्थ समिति गठन गर्ने जानकारी दिए । मुलुकको महत्वपूर्ण आन्दोलनको नेतृत्व गरेको नेविसंघ सरकारको विरुद्ध आन्दोलनमा होमिनु पर्ने बेला आएको उनको भनाई छ ।
काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले वर्तमान सरकार कुरा गर्ने काम नगर्ने तर्फ अगाडि बढेको बताउँदै यसको विरुद्द काँग्रेस एकजुट भएर लाग्नुपर्ने बेला आएको बताए । “नेविसंघको कार्यसमिति चाँडो गठन हुन्छ ।  उक्त कार्यसमिति संगठन विस्तार र सरकारको गलत क्रियाकलापको विरुद्धमा लाग्नुपर्छ,”–उनले भने।

काँग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले कम्युनिष्ट अधिकायकवादलाई मुलुकमा लागू गर्न खोजेको आरोप लगाए । “आगामी वर्षको स्वर्ण जयन्तीमा निर्वाचित कार्यसमितिले कार्यक्रम राख्ने गरी नेविसङ्घको संगठन विस्तारमा लाग्नुपर्छ,”–उनले भने ।  काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले लोकतान्त्रिक आन्दोलनको अग्र भागमा उभिएको नेविसङ्घको महत्व अहिलेको अवस्थामा झन् बढेर गएको बताए ।

काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेविसङ्घको नयाँ कार्यसमितिलाई तत्काल निर्माण गरेर नेविसङ्घलाई जागरण अभियानमा समावेश गर्नुपर्ने बताए । नेविसंघ काठमाडौँका अध्यक्ष मनोज बैद्यले पार्टीले नेविसङ्घको कार्यसमिति तत्काल गठन गर्न माग गरे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank