शेखर विकल्पको तीन कविता

शनिबार, फाल्गुन ११, २०७५

- राजु झल्लु प्रसाद



पिता नारद गौतम र माता मथुरा गौतमको सुपुत्रको रुपमा २०४६ साल वैशाखमा गुल्मीमा जन्मनुभएका शेखर विकल्प हाल मात्सुदो, जापान हुनुहुन्छ । उहाँको अक्षरहरूको रङ (२०७०) कविता संग्रह प्रकाशित छ । निरन्तर साहित्य साधना गरिरहनु भएका विकल्पसंग हामीले समाकालिन नेपाली कविताको वरिपरी रहेर कुराकानी गरेका थियौं ।

प्रस्तुत: छ उक्त कुराकानीको संक्षिप्त अंश:-

  • तपाईं आफ्ना कविताहरुमा परिवर्तित देश, विकृत राजनीति, आन्दोलित नेपाली मन, नैतिक मुल्यको स्खलन लेखिरहनुभएको छ । तपाईं वर्तमान नेपाली समाज लेखिरहनु भएको छ । कत्तिको चुनौतीपूर्ण लाग्छ ? सहज पनि छ र ? जीवन संघर्षको – अर्को पर्यावाची शब्द कविता हो, भन्ने गर्दछन कविहरु । तपाईं के भन्नू हुन्छ ? तपाईंको लागि कविता के हो ? कवितालाई कसरी अर्थाउनु हुन्छ ?

ठ्याक्कै कविता भनेको यो हो भनेर परिभाषित त सायदै गर्न सकिएला । किनभने व्यक्ति पिच्छे फरक धारणा बन्छन् तर पनि समाज, समय र परिवेशसँग अभिप्रेरित भएर व्यक्त गरिने अभिव्यक्ति नै कविता हो जस्तो लाग्छ । जहाँ न्यूनतम कला र लय विधानको अपरिहार्य छ । मैले आफूले देखेको, भोगेको, सुनेको र छामेको कुरालाई कवितामा उतार्ने गरेको छु । जीवनमा सबैभन्दा दुखद काम नै सुन्दर कविता लेख्नु रहेछ । जब यौटा कविले यौटा कविता तयार गर्छ उसले यौटी नारीले सन्तान जन्म दिए पछिको प्रसव वेदनाबाट मुक्त हुदै जून निस्वास लिएर आनन्दानुभूती गर्छे कविता लेखिनु पनि उत्तिकै हो ।

मलाई जीवन संघर्षको अर्को पर्यावाची शब्द कविता हो भन्नु भन्दा जीवन नै एक सुन्दर कविता हो जस्तो लाग्छ किनभने कवितामा संघर्षका कुरा मात्रै पनि त आउँदैनन् । जहाँ हासो, खुसी, आसा, निरासा, सपना, विपना, भूत, वर्तमान, भविष्य सबै सबै लेखिन्छन् । कविता लेख्नु एकदम सरल काम हो र त धेरैले लेख्छन् अथवा नलेख्नेले पनि कविता बोलीरहेका हुन्छन् । तर सुन्दर कविता लेख्नु एकदम जटिल काम हो । वर्तमानमा मैले लेखिरहेको भएता पनि कविता लेख्न जहिले पनि चुनौती पूर्ण छ । मान्छेको मन मष्तिस्क छुन सक्ने कविता लेखिएन भने त्यस्ता कविताको के काम ?

  • भनिन्छ नि एउटा राम्रो कवितालाई एउटा राम्रो समालोचनाको आवश्यकता पर्दछ । फेरि एकातिर समालोचकहरु पुराना कविका कविता मात्रै समातेर बसिरहेका छन् अर्कोतिर कविहरु कविता लेखिरहेका छन्, कविता बारे उत्ति बोल्न रुचाउन्नन् । कत्रो द्वन्द हगि ? यो विषयमा के भन्न चाहनुहुन्छ ?

राम्रो कवितालाई राम्रो समालोचना हुनु जरूरी छ नै तर समालोचकले समालोचना गरेर राम्रो भन्दिदैमा कविता राम्रो हुने र नराम्रो भन्दिदैमा नराम्रो हुने भन्ने मलाई लाग्दैन । एक त कविता कविले जति बुझेर लेख्छ त्यति कसैले पनि बुझ्न सक्दैन । कविले कुन परिस्थितीमा कुन मनोभावले कविता लेखेको हुन्छ त्यो समालोचकले महसुस नगर्न पनि सक्छ तर यौटा सच्चा पाठकले जरूर गर्दछ । फेरि अर्को कुरा मलाई के लाग्छ भने राम्रा कवितालाई समालोचना जरूरी नै छैन ती त त्यसै राम्रा हुन्छन् । समालोचना पनि त समालोचक पिच्छे फरक हुन्छन् यौटालाई वाह लाग्ने अर्कोलाई छ्या लाग्न सक्छ । त्यसैले कसको कुरा मान्ने भन्ने द्विविधा पनि हुन्छ ।

कविहरू कविताबारे बोल्ने कुरै हुदैन । कविको काम भनेको सुन्दर कविता लेख्नु हो । कविको त कविता पो बोल्ने हो । कवि नै बोल्न थाले कविता किन चाहिए ? नेपाली कवितामा समालोचकहरूले पुराना कविका कविता समाएर बसेका छन् भन्ने सहि हो तर पुराना कविता पनि सबै वाहै वाह त छैनन नि । नयाँ पनि राम्रा लेखिएका छन् । पुराना जस्ता नयाँ हुन्नन् भन्ने एक खालको धारणा बनाईयो भने नयाँ कहिल्यै राम्रा लाग्दैनन् । समालोचकले भन्न सक्नुपर्छ यस्तो भनेको राम्रो हो यस्तो भनेको नराम्रो हो । राम्रा हुनुका पनि गुण होलान्, नराम्रो लाग्नुका कारण होलान् सबै चिरफार हुन परो नि । आफूलाई मन परेन भन्दैमा नराम्रो भन्न त मिलेन । मेरी आमा राम्री तेरी आमा नराम्री भन्ने कुरा त हुन्न नि । आमा त संसारकै सुन्दर र महान कुरा हो । कविता प्रति पनि त्यस्तै केहि भईरहेको हो । त्यसैले यस्तो द्वन्द अन्तर्द्वन्द भईरहन्छ । किनकी राम्रा कविता जन्मिन आवश्यक पनि छ । भनिन्छ नि – वादे वादे तत्वबोध जायते ।

  • मोहन कोइरालाले २०३५ सालमै भनेका छन, “आजको नयाँ कविता, पुरानो र नयाँ भावनाको बीचमा एउटा पुलको रुपमा मात्रै उभिएको छ ।” यसले त भर्खर भर्खरै कविता लेख्न थालेकाहरुलाई बिचल्लीमा पारेन र ? यो विचित्रको पुल निर्माण भैरहनुमा दोष कस्को ? पछिल्लो पुस्ताका कविताहरु कत्तिको वेगमय भेट्नुहुन्छ ?

म आफै पनि भूपि, रिमाल, देवकोटा, लेखनाथ, कोईराला आदीका कविता पढेरै कविताको बाटोमा आएको हुँ । मोहन कोइरालाले कुनै प्रसंगमा भन्नु भए होला, हुन त उहाँलाई पनि नबुझिने लामा कविता लेख्छ भन्ने पनि छन् । कविताको गहनता र अन्तर्यलाइ लिएर प्रशंसा गर्नेहरू पनि छन् । ३५ साल पछि पनि त धेरै कविता लेखिएका छन् । कति सुन्दर पनि छन । हुन त मानिस सधै ताली र प्रशंसाको प्यासी हुन्छ तर म जैले पनि गाली र सुझावलाई गुरू मानेर अगाडी बढ्नु पर्ने मान्यता राख्दछु । त्यसले नयाँनयाँ भर्खर कविता लेख्नेहरूलाई हामी हतोत्साही नहोऊ, लहडमा नलेखौं – कविता भावना कल्पनाको उडान भएता पनि त्यसलाई आधारभूमि त चाहिन्छ । त्यसैले पहिले पढौं अनि लेखौं । त्यसपछी पुल हो कि नदी को भन्ने कुरा त कविता आफै बोल्छ ।

पछिल्लो पुस्ता राम्रा कविता लेखिरहनु भा’छ नाम लिएर संभव छैन,धेरै हुनुहुन्छ । र हामि पछिल्लो पुस्तामा पनि राम्रो संभावना सहि प्रखर कविता लेखिरहेको म पाउँछु ।


प्रस्तुत: छ उहाँको तीन कविता:-


नलेखिएको यौटा प्रेम कथा

तिमी संगको पहिलो भेट
छर्छरे नदीको किनारमा
चिसो पानीको कलकल प्रवाह संगै
यौटा मधुर बिहानीमा भएको थियो,
र मेले भनेको थिएँ –
कोहि संग मिलन हुन जिन्दगीमा
ब्याकरण मिल्नु पर्ने रहेनछ !

रेल भन्दा लामा दुःख बिर्सिएर
जयनगरको रेलको अन्तिम डिब्बामा बसेर
खट-खट खट-खट खट-खट
आवाज संगै
कति सुनाउँदा नसुनाउँदै
कति सुन्दै नसुनेर
सुरु गरेका थियौँ यौटा कहानी

झ्यालको सिसामा आफ्नो अनुहार देखाउँदै
तिमीले कत्ति सजिलै भनेकी थियौ –
हेर त कति हसिलो छ तिम्रो चेहरा !
मैले नाजवाफ तिम्रो आँखामा
पहिलोपटक प्रेमको स्पर्श गरेको थिएँ

घरिघरि समीरको चिसो झोक्काले
म छेउँ सुमसुम्याउन आउने तिम्रो रेसमी केशले
म भुतुक्क हुन्थेँ – तिमी झनै लजाउँथ्यौ
मानौ भर्खर भर्खर लालुपाते फक्रिएको छ

मेरो आँखाको चस्मा निकालेर
तराइको फाँटको उँखुबारीलाई देखाउँदै,
यौटी बच्चीले जस्तै मेरो कानमा खुसुक्क भनेको –
“विकल्प, यहिँ रमाउँला देश छाडेर कहि नजानू”
भर्खर सुनाए झैँ कान समाउन पुग्छु ।

मलाई अलिकति हतार थियो जिन्दगी संग
तर हतार छ भन्नै सकिन,
हतार छ भन्नु
तिमीलाई छोड्नु जस्तै थियो ।
त्यसैले
चुपचाप चुपचाप तिमी संगै हिँडिरहेँ
रेलले लिकमा गुडे जस्तै गरी !

एकाबिहानै खबर सुने –
जनकपुर जयनगर रेल बन्द भो,
मन चिसो भो
तताउने साथी भनेका यादका टुक्रा रहेछन्
यादकै तातोमा मन ओसिलो पारेँ
राखेँ संझनामा तिमी संगको पहिलो यात्रा

सोँचे –
जिन्दगीको जोड घटाउमा
एक दिन मान्छेले पनि बाटोमै रोकिनु पर्नैछ
तर आसाको गाँठो दह्रो पारेर बाधेँ
रेल नचले पनि रोकिने छैन तिमी संगको यात्रा

कुनै कथाको अनुच्छेद जस्तो
कुनै कविताको हरफ जस्तो
रहेनछ मान्छेको जिन्दगी
जसलाई चाहे जस्तो शब्द फेर्न मिलोस्
भाव बदल्न मिलोस्
कहि ह्रस्व बनाउन सकियोस्
कहि दीर्घ बनाउन मिलोस्

आज तिमीले पहिलो चोटी पत्र पठाएकी छौ
पहाडी गाउँको मेरै ठेगानामा
पत्र खोलेर पढदै छु
मलाई अहिले पनि विश्वास छैन
तिमीले पत्र लेख्छ्यौ भनेर
र लेखे पनि पठाउन सक्छ्यौ भन्नेमा
तर पत्याउन मञ्जूर छु
चिठी हातमा परेको छ

लेखेकी छ्यौ –
संग्लो बग्दैन
तिमीले नाम राखेको छर्छरे खोला
चर्किएर – मात्रै फुट्न बाँकी छ
तिमीले देशको नक्सा बनाएर छाडेको ढुंगा

तिमीले र मैले
संगै तस्बिर खिचाएको धाँनको फाँटमा
रोप्न पाएनन् यो बर्ष नेपालीले धान
त्यो फाँट छिमेकीले आफ्नो बनायो
र संगै यो पत्र लेख्ने मान्छे पनि ।

 


निवेदन

महोदय
यो यौटा निवेदन हो
यसबाट कसैलाई पर्न गएको असुबिधा प्रति
म क्षमा चाहन्छु

म यौटा संघारमा उभिएको छु
एकछिन पछी मलाई भित्र जानु छ
त्यसैले मेरा आवाजहरूले सम्बोधन गर्न चाहन्छु

मेरो गुनासो कस्सैसंग पनि छैन
न सरकार
न तपाईँ
न म आफै स्वयं

खरबारी आमा आफैले बेचेकी हुन् –
छोरो पढाउनु थियो, ठूलो मान्छे बनाउनु थियो
र आफैले भनेकी थिईन् – यस्ता खरबारी ऊ आफैले जोड्नेछ
पहिले ऊ ठूलो मान्छे बनोस्

राजनीतिको “र” सम्म नजानेका मेरा बा
कुनैदिन कसैको प्रलोभनमा परेर – झण्डा बोकेर पुगे सडकमा
आन्दोलनको दौडानमा कन्चटमा गोली लागेर
ढले रगताम्मे भएर – छट्पटाए कैयौं दिन अस्पतालमा
थेग्न सकेन बाको सासलाई बन्धकीमा राखेको घरले
न पाउन सकिन आमाले बाको ब्लड मनी
न बाँकी रह्यो आमाको नदी जस्तो सिउँदो

नभएका होइनन् आमा संग – झुम्का, तिलहरी र मडहरी पनि
तर ती सबै छोराको फुर्मासमा सकिए
आमाले कहिले नाइ भन्न सकिनन्
किनकी उनलाई अहिले पनि विस्वास छ –
छोरो कहिल्यै खराब मान्छे बन्न सक्तैन

छोराले नपढेको पनि थिएन
तर हरेक जागिरको अन्तर्वार्तामा अन्तिममा उसलाई यौटै प्रश्न सोधिन्थ्यो –
अब भन्नुहोस् तपाइको आफ्नो मान्छे को छ ?

यौटा सानो बालकलाई जस्तै
अहिले पनि आमा दिनहुँ जसो छोराको शैक्षिक प्रमाणपत्रहरू मुसार्छिन्
मानौ ती आमाका भविष्य हुन्
र जसले आफूलाई सहारा दिनेछन् भन्ने मिठो भ्रममा छन् उनी अझै

पेट आफ्नै बिरूध्दमा उभिएको छ खोक्रो सारंगी भएर
आफ्नै बिरूध्दमा उर्लिएको छ आँखामा आँसुको भेल
हिंजो मात्रै अस्पतालमा नयाँ रिपोर्ट देखियो –
आमाको पाठेघर खस्ने समस्या छ

बेच्न बाँकी अब
आमाको नाकको बुलाकी मात्रै छ
किनकी – त्यो आमाले कहिल्यै फुकाल्दिनन्

महोदय
मैले माथी नै उल्लेख गरेको छु
यो यौटा निवेदन हो
मलाई थाहा छ – यो सुनेपछी आमा मुर्छा पर्नेछिन्
र कहिल्यै ब्युझनेछैनिन्
किनकी – यो मेरो सुसाइड नोट हो ।


मुगलान

चप्पलका फिता चुडिंदा सम्म पनि भेट्न सकिएन गनत्ब्य

फाट्यो बा को थाप्लोमा नाम्लो – तर सकिएन पालो दिन

फुटेर कुर्कुच्चाहरू टेक्न सकिनन् आमाले खुट्टाले
र पनि बोक्न सकिएन आमाको जिम्मेबारी

घाम सुल्टो मात्रै पनि हिड्दैन रहेछ,
जब घर साहुको चिया अड्डा बन्छ
जब आँगन वैरीको हाँसोको फलैंचा बन्छ
जिन्दगी पनि तब जिन्दगी जस्तो नलाग्दो रहेछ

थाहा छैन बाले के सोचेर छोरो जन्माए
थाहा छैन देशले के सोचेर नागरिकता दियो

धेरै कुरा थाहा नहुदा नहुदै पनि आफ्नो हुदा रहेछन्
मन नपर्दा नपर्दै पनि आफ्नो भन्नु पर्ने रहेछ
जस्तो कि – साहुले थमाएको खेत बन्धकीको कागत
र बैंकले काटेको घर लिलामीको पुर्जी

निभेको खरानीमा आगो खोज्दै थिएं
सुकेको खोलामा पानी कुर्दै थिएं
डडेलो लागेको वनमा बुटी चहार्दै थिएं
र मरेका सपनाहरूको मलामी भएर
मनमा आसाको त्यान्द्रो खोज्दै हिडें

मान्छे बहुलाउन आकास खस्नु पर्ने रहेनछ
मान्छे मर्न धरती भासिनु पर्ने रहेनछ

जब गरिबीको दैलोमा सपनाहरू लस्कर लागेर आउंछन्
ती सपनाहरू उत्सव हैन हैजा बनेर आउँछन्
र टपक्क टिपेर लैजान्छन् कालको आहारा बनाएर

घडीको सुई सुल्टो चले पनि
समय सुल्टो चल्दो रहेनछ
जब हात भएर पनि कहिं समाउने ठाउं हुदैन
जब पाइताला भएर पनि कतै टेक्ने ठाउँ हुदैन

यस्तो बखतमा – तिमी हालखबर सोध्छौ ,
कुन देश प्रेमको कुरा गर्छौ
देश भूगोलमा हैन मनमा हुदो रैछ

तिमीलाई कस्तो राष्ट्रियताको परिभाषा दिउँ ?

म त देश नै मुगलान भएर
मुगलान छिरेको मान्छे !


Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata