५५ जिल्लाका अध्यक्षसहित गोल्छाले गरे उम्मेदवारी घोषणा

सोमवार, चैत्र ७, २०७३



बुटवल । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न निर्वाचनका लागि शेखर गोल्छाले बरिष्ठ उपाध्यक्षमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् ।
अहिलेको कार्यकालमा एसोसिएटतर्फका उपाध्यक्ष रहेका गोल्छाले आइतबार बुटवल पुगेर औपचारिकरुपमा आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् ।
गोल्छाले पदाधिकारी टिम सहित उम्मेद्वारी घोषणा गरेका हुन् । गोल्छाको टिममा जिल्ला तथा नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, एशोसियट उपाध्यक्षमा चन्द्र ढकाल, बस्तुगत उमेशलाल श्रेष्ठ र कोषाध्यक्षमा ज्ञानेन्द्रलाल प्रधान रहेका छन् ।
बरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी घोषणा गर्दै शेखर गोल्छाले आफ्नो जीवनको अविस्मरणिय क्षण बुटवलमा भएको बताए ।
‘चेम्बर आन्दोलनमा ६ दशक बिताएको छु’,उनले भने,‘ पछिल्लो ६ महिनामा महासंघका ४२ जिल्ला पुगेका छु,जिल्लाका साथीहरुको स्नेह सदैव सम्झने छु।’
उनले संस्थागत काम गर्न महासंघ चाहिएको बताउँदै गोल्छा समुह नेपालको पहिलो उद्योग खोल्ने समूह भएको र आफु त्यो समुहबाट आएको बताए ।
‘हाम्रो समुहले १७ हजार जनालाई रोजगारी दिएको छ,’ उनले थपे,‘ मेरो उम्मेद्वारी भवानी राणाको कार्यकाललाई सफल बनाउनको लागि हो।’
धेरैवटा ऐन बन्ने क्रममा रहेको र त्यसलाई निजी क्षेत्र मैत्री बनाउनुपर्ने र सचिवालय सुधार गर्ने प्रतिबद्धता गोल्छाले व्यक्त गरे ।
बुटवल उद्योग वाणिज्य संघले आयोजना गरेको गोल्छाको उम्मेद्वारी घोषणासभामा ३ सयभन्दा बढी व्यवसयाहरु उपस्थित छन् । गोल्छालाई समर्थन जनाउँदै देशभरबाट ५५ जिल्लाका उद्योग वाणिज्य संघका अध्यक्ष, पूर्वअध्यक्षहरु उम्मेद्वारी घोषणा सभामा उपस्थित भएका छन् ।
बरिष्ठ उपाध्यक्षका अर्का प्रत्यासी किशोर प्रधानले गत फागनु २२ गते बिराटनगर पुगेर आफ्नो उम्मेद्वारी घोषणा गरेका थिए ।
गोल्छाको उम्मेद्वारीलाई समर्थन जनाउँदै महासंघका अहिलेका अध्यक्ष पशुपति मुरारका, बरिष्ठ उपाध्यक्ष भवानी राणा र पूर्वअध्यक्ष चण्डीराज ढकाल, रविभक्त श्रेष्ठ लगायतका व्यवसायीहरु बुटवल पुगेका छन् ।

महासंघको अहिलेको विधान अनुसार बरिष्ठ उपाध्यक्ष तीन वर्षपछि स्वत अध्यक्ष हुने भएको हुँदा यो पटकको चुनावमा बरिष्ठ उपाध्यक्षको उम्मेद्वारीको चर्चा बढी छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments