कोरोना भाइरसको असर : संसारभरको सेयर बजार १२ वर्षयताकै खराब

शनिबार, फाल्गुन १७, २०७६



एजेन्सी । कोरोना भाइरसको प्रकोप फैलिएसँगै यसको असर जनस्वास्थ्यमा मात्रै नभएर संसारभरको आर्थिक क्षेत्रमा पनि देखिन थालेको छ । पहिलो पटक कोरोना भाइरस देखिएको चीनसँगै संसारका कैयौं मुलुकको आर्थिक क्षेत्रमा यसको तीव्र असर देखिएको हो ।

संसारभरका सेयर बजारमा सन् २००८ को विश्वव्यापी आर्थिक संकट यताकै सबैभन्दा खराब असर देखिएको बीबीसीले उल्लेख गरेको छ । कोरोनाको प्रकोप फैलिएपछि लगानीकर्तामा देखिएको डरका कारण संसारभरको सेयर बजार ओरालो लागेको हो ।

लन्डनको फुट्सी १०० इन्डेक्समा तीन प्रतिशतभन्दा बढीको गिरावट आएको छ । एसियाली सेयर बजार अझै बढी प्रभावित बनेको छ भने अमेरिकाको डाउ जोन्सले सबैभन्दा ठूलो गिरावट मानेको छ ।

इटलीमा समेत प्रकोप देखिएको समाचारहरूले असर बढ्न सक्ने अनुमान गरिएको छ ।

‘बजार आवश्यकताभन्दा बढी आशावादी भएको थियो, अहिले आवश्यकताभन्दा बढी निराशावादी भएको छ’, आईएनजीका ग्रेटर चाइना अर्थ्विद् आइरिस पाङलाई उधृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड ब्याङ्कका रणनीतिकार मयङ्क मिश्रका अनुसार, पहिले चीनमा लगाइएका प्रतिबन्धहरूका कारण बजारमा एक खालको सहजता देखिएको थियो । तर, चीनबाहिर विशेषगरी दक्षिण कोरिया, इटली र जापानमा कोरोना भाइरस फैलिएपछि चिन्ता बढेको छ ।

शुक्रबार बिहान बजार खुल्दा सबै युरोपेली सेयर बजार घटेका थिए । जर्मनीको ३.६ प्रतिशत र फ्रान्सको सेयर बजार ३.१ प्रतिशतले घटेर खुलेका थिए ।

यसअघि एसियामा जापानको सेयर बजार ३.७ प्रतिशतले घटेपछि यो साता कूल ९ प्रतिशतको गिरावट आएको छ ।

सन् २००८ यताको सबैभन्दा बढी अस्ट्रेलियाको सेयर बजार ३.३ प्रतिशतले घटेको छ । दक्षिणी छिमेकी भारतको निफ्टी ५० र सेन्सेक्स सेयर बजार दुवै लगभग तीन प्रतिशतले ओरालो लागेको छ । चीनको सांघाई कम्पोजिट इन्डेक्समा शुक्रबार ३.७ प्रतिशतले गिरावट आएको छ ।

चीनबाट संसारभर फैलिँदै गएको कोरोना भाइरस ४० भन्दा बढी देशमा फैलिईसकेको छ । विश्व स्वास्थ्य संगठनले जारी गरेको पछिल्लो विवरणअनुसार संसारभर भाइरसका कारण ८२ हजार २ सय ९४ जना संक्रमित भएका छन् । चीनमा मात्रै यसको संक्रमण ७८ हजार ६ सय ३० जनामा देखिएको छ ।

चीनमा अहिलेसम्म कोरोना भाइरसले २ हजार ७ सय ४७ जनाको ज्यान लिईसकेको छ । अन्य देशमा पनि कोरोना भाइरसका कारण सयौँ मानिसले ज्यान गुमाएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments