क्यान्सरले बनायो सर्जक

सोमवार, फाल्गुन १४, २०७४



वक्षस्थलमा गाँठो हात लागेकै दिन क्यान्सर भएको अनुमान गरेकी शान्ति शर्मालाई जब क्यान्सर लागेको पक्कापक्की भयो, त्यस दिन उनी रातभर सुतिनन् । गीत, संगीत र साहित्यका किताब पढ्न खुबै रुचाउने उनले त्यसअघि लेखनका नाममा कहिल्यै एक अक्षर लेखेकी थिइनन् । तर, त्यस रात एक निमेष आँखा नझिम्क्याई निरन्तर लेखिन् । कलम रोक्दै रोकिनन् । त्यसैको उपजस्वरूप लेखियो:

आँखाबाट आँखाहरू, हराएको धेरै भो
आँगनीमा चराहरू, नआएको धेरै भो

सन्तोष श्रेष्ठको संगीतमा उनी आफैँले स्वर दिइन् । यतिवेला आख्यान लेखिरहेकी उनले एक साताअघि मात्रै राष्ट्रकवि माधवप्रसाद घिमिरेले न्वारन गरिदिएको ‘अम्लान फूल’ गजल संग्रह पाठकमाझ ल्याइन् । जसमा उनले जिन्दगीका विभिन्न आयाम समेटेकी छिन् । आफ्नै जिजीविषापस्किएकी छिन् :
जिन्दगीको कथा पूरा हुन गाह्रो भो
घाम त टर्छ जसोतसो जून गाह्रो भो ।

जब छातीको गाँठोले झस्कायो 
शान्ति शर्मा पहिल्यैदेखि पाठेघरको सामान्य समस्याले पीडित थिइन् । सोलुखुम्बुको नेचासल्यानमा मित्रलाल शर्मा र इन्द्रकुमारी शर्माकी छोरीका रूपमा जन्मिएकी तीन भाइकी दिदी उनी ०५२ मा राजधानी बसाइँ सरेदेखि घर–गृहस्थी र बुवाकै व्यापारमा सक्रिय बनिन् । सामान्य तर पुगिसरी र सुन्दर जीवन चलिरहेका वेला २०७१ को पुस–माघतिर उनलाई अचानक थकाइ लाग्यो, कता हो कता दुख्ने, कमजोर र दुर्बल महसुस भयो । केही दिन त उनलाई लाग्यो, पाठेघरकै समस्याले होला । ‘थला नै परूँलाजस्तो भएपछि जचाउन गएँ,’ शान्तिले भनिन्, ‘डा. कुन्दु, डा. विमलालगायतलाई देखाएँ । उनीहरू कसैले पाठेघरको औषधि दिए, कसैले नसाको ।’
उनको समस्या बीसबाट उन्नाइस भएन । एक साँझ उनी घरको बार्दलीमा बेन्चमा आराम गरिरहेकी थिइन् । बेन्चको हथ्था (हातराख्ने)मा राखेको आफ्नै हात खुम्चिएर बुढी औँलाले आफ्नै वक्षस्थल छोयो । उनको त होसहवासै उँड्यो । ‘स्तनमा त साह्रो डल्लो थियो,’ शान्तिले भनिन्, ‘बिरामीको कारण यही हो भन्ने दिमागमा प¥यो, अर्थात् क्यान्सरै हो कि भन्ने लाग्यो ।’ त्यसपछि उनले डा. मीना झालाई तुरुन्त फोन गरिन् । साथी पनि भएकीले उनी तुरुन्त डा. मीनाकोमा पुगिन् । जाँदा उनी सबै रिपोर्ट बोकेर गएकी थिइन् । जसमा केही दिनअघि मीना स्वयंले सात दिनका लागि औषधि लेखेको प्रेस्क्रिप्सन पनि थियो । ‘डा. मीनाले छामछुम गरिन् । यता हेरिन्, उता हेरिन्,’ शान्तिले भनिन्, ‘उनले सीधा नजरले मतिर हेर्दै हेरिनन् । मैले उनको आँखा नियालेँ, रसाइरहेका थिए ।’
हरेक बिरामीप्रति डाक्टर संवेदनशील हुनुपर्छ होला । मानवीयता देखाउँछन् पनि । साथी नै भएपछि भावनात्मक निकटता झन् गहिरो हुने नै भयो । तत्कालै डा. मीनाले डा. प्रकाश सायमीलाई फोन गरिन् । शान्तिको उपचारका लागि उनले फोनबाटै ‘हातै जोडेर’ अनुरोध गरिन् । ‘साँझ निकै परिसकेको थियो, छोराले मलाई तुरुन्त हेम्समा पुर्याए,’ शान्तिले भनिन्, ‘केही सोच्न सक्ने अवस्थामा थिइनँ । मेमोग्राम गराउन ग्रिनसिटी पुग्दा मेसिन बिग्रिएको रहेछ । त्यहीँकी बहिनीले निकै राम्रो व्यवहार गरिन् । उनैले फोनबाटै ग्रान्डीमा नाम लेखाइदिइन् ।’ ग्रिनसिटीबाट फर्किंदा करिब साढे ८ बजेको थियो ।

त्यसै दिनदेखि सुरु भयो लेखन
त्यहीवेला हो, उनले छोरालाई फनफनी काठमाडौं घुमाउन आग्रह गरेको । ‘के–के सोचेँ, के–के,’ शान्ति भन्छिन्, ‘शब्दमा त्यसवेलाको अनुभूति पोख्न सक्दिनँ ।’ पोख्न नसकेका शब्दहरू बिस्तारै खेलाउँदै उनले कापीमा लेख्न सुरु गरिन् । त्यो रातभर शान्ति सुतिनन् । लेखिरहिन्, निरन्तर । ‘के–के लेखेँ, लेखेँ । कहिले बुवाको वात्सल्य सम्झिएँ । जीवन निकै प्यारो लागेर आयो,’ शान्तिले भनिन्, ‘मर्छु भन्ने लागेपछि सबैभन्दा प्रिय त सन्तान भइदिँदा रहेछन् । छोराका नाममा पनि अनवरत लेखेँ । सायद, त्यो रात एउटा कृति नै तयार भयो कि !’ तर, शान्तिको त्यो कृति प्रकाशित भएको छैन ।
ग्रान्डीमा मेमोग्राम भयो । उनले हेम्समा आएर अल्ट्रासाउन्डसमेत गराइन् । बायोस्पीको रिपोर्ट आयो । डा. सायमीले रिपोर्ट हातमा लिएर ‘नराम्रो आएछ, नराम्रो आएछ’ मात्रै भने, खास कुरा भन्नै सकेनन् । शान्तिले भनिन्, ‘मैले, के क्यान्सरै भएछ डाक्टरसाब ? भनेँ । उनले ‘हो’ भने ।’ सायमीको एकअक्षरको शब्द ‘हो’ले अर्थात् शान्ति स्तब्ध भइन् । यो सबै संवाद सुनिरहेका सँगै गएका छोरा क्षितिजबाबु ट्वाल्ल परे । निशब्द भए ।

उपचार गर्दाका अनेक अनुभव 
डाक्टरले बायोस्पी गरेपछि तुरुन्त अप्रेसन गर्न सुझाए । कहाँ गर्ने ? कसरी गर्ने ? कुन अस्पतालमा गर्दा कस्तो होला ? अनेक तर्कनाले शान्तिलाई पिरोलिरहेको थियो । क्यान्सरबाट जोगिन पाइने हो वा होइन ? भन्ने अन्तरसंघर्ष भित्री संसारमा चलेको थियो ।
त्यहीवेला घरमा उनकी आमा पनि भर्खरै मुटुको समस्याले थला परेकी थिइन् । उनले जेठो भाइलाई ‘आमालाई नभन्नू’ भन्दै खबर गरिन् । त्यसको तीन दिनपछि चैत २१ गते उनले ग्रान्डीमा स्तन क्यान्सरको अप्रेसन गराइन् । शान्तिको मन नराम्ररी तब दुख्यो जब उनले एउटा बिरामीले पाउनुपर्ने व्यवहार पाइनन् । ‘सुरुमा किमो र रेडियो थेरापी गर्नुपर्दैन भनेका थिए,’ शान्तिले भनिन्, ‘अप्रेसनको ६ दिनपछि अस्पतालबाट बिदा हुँदै गर्दा किमो र रेडियो थेरापी गर्नुपर्ने भनियो ।’
तर, कहाँ गर्ने ? उनलाई केही थाहा थिएन । ‘डा. प्रकाशलाई सोधेको त उनी रुखो रूपमा प्रस्तुत भए,’ शान्तिले त्यो क्षण सम्झिँदै भनिन्, ‘त्यो तपाईं जान्नुस, तपाईंको कुरा हो, भने ।’ उनको मन निकै कुँडियो । मरिहत्ते गरेपछि डा. अम्बुजको नाम दिए । उनी जीवनको मोहले यति विह्वल भएकी थिइन् कि नरोईकन बोल्नै नसक्ने अवस्थामा थिइन् । त्यस्तो अवस्थामा डाक्टरले गरेको रुखो व्यवहारपछि शान्ति फेरि फर्केर उनैकोमा गइनन् ।
डा. अम्बुजले निकै आत्मीय व्यवहार गरे । अत्यन्तै स्नेहपूर्वक सम्झाए । उनलाई लाग्यो– आहा ! डाक्टर भनेको त अम्बुजजस्तो पो हुनुपर्छ । घरमा राजीव गान्धी अस्पताल जाने कुरा पनि चल्यो । कान्छा छोरा अतीतबाबुले इन्टरनेटमा क्यान्सर अस्पतालबारे सर्च गरे । उनले नेपाल क्यान्सर अस्पताल पत्ता लगाए । अप्रेसनका वेला डा. सुदीप श्रेष्ठको नाम टिमका कुनै डाक्टरले पनि लिएका थिए । परिवारसँगै शान्ति त्यहाँ पुगिन् । डा. सुदीपले सबै परिवारलाई राखेर सम्झाए ।
शान्तिका आँखा रसाएर आए । मन मडारिएर गाँठो पर्यो । उनी ह्वाँ ह्वाँ रोइन् । अर्को बेडमा उपचाररत एक महिलाले सम्झाइन्, ‘दिदी तपार्इंले त घरसंसार देखिभोगिसक्नुभएको छ, मेरो विवाह भएको वर्ष दिन पनि भएको छैन । तर, पनि म यस्तो सहेर बसेकी छु ।’

जीवनमा एकैपटक दुईथरी भुइँचालो
नेपाल क्यान्सर अस्पतालमा किमो दिएर २०७२ वैशाख ११ गते शान्तिलाई घरमा ल्याइयो । ठीकठाक, पुगिसरी जिन्दगीमा उनलाई एकाएक यो बज्रपातले थल्याएर असक्त बनाएपछि उनी घरमात्रै पुगेकी थिइन् । त्यसको दोस्रो दिन अर्थात् वैशाख १२ गते महाभूकम्प गयो । ‘मेरो जीवनमा अनायासै एउटा भुइँचालो आएको थियो, हलचल गर्न सक्ने अवस्थामा थिइनँ,’ शान्तिले भनिन्, ‘उपचार गरेर घर गएकै अर्को दिन दुनियाँ हल्लाउने भुइँचालो गयो ।’
डाक्टरले इन्फेक्सन हुनबाट जोगिन शान्तिलाई सुझाएका थिए । कतै ननिस्किन र अन्य मानिसको सम्पर्कबाट बच्न प्रेस्क्राइब गरेका थिए । विडम्बना ! यस्तो संकट आयो कि भूकम्पका कारण उनलाई घरको ओच्छ्यानबाट उठाएर सडक किनारको नर्सरीमा पुर्याइयो । ‘छोराले पनि त्यसो नगरे के गरून्,’ शान्तिले भनिन्, ‘बारम्बार आइरहने कुन झड्काले लैजान्छ भन्ने डर सबैमा थियो ।’
तीन–चार दिन खुला आकाश र सयौँ मान्छेका बीच असक्त अवस्था बिताउँदै गर्दा शान्तिले सोचिन्, ‘यहाँ बसे म इन्फेक्सनले मर्छु, घरमा बसे पनि भूकम्पले ! अनि घरै किन नजाने ?’ उनले आफूलाई घरमै लैजान भनिन् । तर, घरमा जाँदा पनि उनले अर्को समस्या देखिन् । आफ्ना कारण परिवारका अन्य सदस्यको पनि ज्यान जाने सम्भावना देखेपछि शान्तिलाई बाँच्न मन लागेन ।

जीवनप्रतिको मोह भंग 
मुढोजस्तै ओछ्यानमा लडिरहनुपर्ने अवस्था । भूकम्प र पराकम्पनका बारम्बार झड्का । उनका कारण छोरा र परिवारक सदस्य पनि भाग्न नपाउने भए । शान्तिलाई लाग्यो, ‘अब म बाँच्दिन । मरिदिन्छु ।’ उनले मर्ने उपाय रोजिन् । त्यसै पनि खान मन लाग्दैन थियो । उनले थोरै चाखिदिने झोलिलो पदार्थ पनि चाख्नै छाडिन् । लगातार तीन–चार दिन यसो गरेपछि एक दिन पौने ४ बजे बिहान जेठा छोरा आए । ‘आमा साँच्चै नबाँच्ने विचार गर्नु भा’ हो ?’ भनेर सोधे । शान्तिले त्यो क्षणको सम्झना गर्दा उनका आँखा रसाइरहेका थिए । उनले आफ्ना कारण सबैजना समस्यामा परेकाले मर्ने इच्छा गरेको बताइन् । दाजुसँगै पछाडि उभिएका कान्छा छोराले ‘मर्ने भए सबैजना सँगै मरौँ, हामी पनि आमाविना कसरी बाँच्नू ?’ भन्दै आँसु झारे । यो दृश्यले शान्तिको मन पत्तीले काटेझैँ चिरिक्क काटियो । उनी ह्वाँ ह्वाँ रुँदै जुरुक्क उठिन् । ‘खै कहाँबाट आयो त्यो मनोबल, त्यसपछि म कहिल्यै पल्टेर बसिनँ,’ शान्तिले भनिन्, ‘अस्पताल जाँदा पनि ह्विलचियर चढिनँ, बिस्तारै हिँडेरै गएँ ।’

नयाँ पत्रिकाबाट

329 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank