मौलिक हकसम्बन्धी विधेयक निर्धारित समयभित्रै पारित हुन्छः सभामुख

बिहिबार, भदौ २१, २०७५



काठमाडौँ । सभामुख कृष्णबहादुर महराले आगामी असोज २ गतेभित्र संविधानअन्तर्गतका मौलिक हकसम्बन्धी विधेयक संसद्बाट पारित भइसक्ने बताएका छन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रतिनिधिसभामा पेश भएका मौलिक हकसम्बन्धी विधेयकको अवस्थाका बारेमा जानकारी गराएका हुन् । महराले आगामी असोज ३ गतेसम्म मौलिक हकसम्बन्धी कानून पारित भइसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको जानकारी गराउँदै भने ‘विधेयकमा सहमति गरी निर्धारित समयमै पारित गर्नका लागि आजै मैले प्रमुख दलका शीर्ष नेतालाई भेटेर आग्रह गरिसकेको छु ।’

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा संयुक्तरुपमा भेटेर सोबारेमा आग्रह गरेको जनाए ।

प्रतिनिधिसभामा सरकारले दर्ता गराएका जम्मा २६ विधेयकमध्ये छ विधेयक प्रमाणीकरण भइसकेका छन् । बाँकी २० मध्ये ११ मौलिक हकसम्बन्धी विधेयक छन् । मौलिक हकसम्बन्धी विधेयकमध्ये पाँच प्रतिनिधिसभामा छलफलका क्रममा रहेको र छ वटा विधेयक सम्बन्धित संसदीय समितिमा दफावार छलफलका क्रममा रहेको सभामुख महराले स्पष्ट पारे ।

मौलिक हकबाहेक अन्य विधेयक भने असोज २ गतेपछि पारित गर्ने गरी प्रक्रिया अघि बढाइएको छ । महराले भदौ २२ गतेदेखि हुने आफ्नो चीन भ्रमणका बारेमा समेत जानकारी गराए ।

103 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank