सेना प्रमुखसहित उच्च सैन्य अधिकारी बर्खास्त

मङ्लबार, फाल्गुन १५, २०७४



साउदी । साउदी अरब सरकारले सेना प्रमुखसहित उच्च सैन्य अधिकारीहरुलाई बर्खास्त गरेको छ । बर्खास्त हुनेहरुमा वायु सेना र स्थल सेनाका उच्च अधिकारीहरु रहेका छन् । साउदीका राजा सलमानको आदेशले उच्च सैन्य अधिकारीहरु बर्खास्त गरिएको भए पनि बर्खास्त गर्नुको कारण भने खुलाइएको छ ।

बर्खास्त गरिएकाहरुको स्थानमा नयाँ नियुक्ति गरिएको छ । रक्षा मन्त्रीसमेत रहेका राजकुमार मोहम्मद विन सलमानले सैन्य अधिकारीहरुलाई बर्खास्त गर्नुका धेरै कारण रहेको बताएका छन् । साउदी नेतृत्वको गठबन्धन सेनाले यमनका विद्रोहीमाथि शुरु गरेको कारबाहीको तीन वर्ष पूरा हुने बेलामा साउदी सरकारले उच्च सैन्य अधिकारीलाई बर्खास्त गरेको हो ।

यमनमा साउदी हस्तक्षेपका कारण हुथी विद्रोही देशको दक्षिणी भागमा सिमित भएका छन् । तर अझै राजधानी सनासहितका केही इलाकामा झडप हुने गरेका छन् । हुथी विद्रोहीले साउदीको राजधानी रियादमा मिसाइल आक्रमण गर्दै धम्की दिँदै आएका छन् ।

गत वर्ष शक्तिको दुरूपयोग गरेको र भ्रष्टाचार गरेको आरोपमा मन्त्रीहरू, राजकुमारहरू र अर्बपतिहरू लगायत दर्जनौं प्रभावशाली व्यक्तिहरूलाई रियादस्थित पाँच तारे होटलमा नियन्त्रणमा राखिएको थियो।  सेना प्रमुख जेनेरल अब्दुल रहमान बिन सालेह अल-बुन्यन पनि हटाइएका मध्ये एक हुन्।

शाही निर्णय अन्तर्गत थुप्रै राजनीतिक नियुक्तिको घोषणाहरू पनि भएका छन्। जस अन्तर्गत विरलै हुने महिलाको नियुक्ति पनि भएको छ। श्रम तथा समाज विकास मन्त्रालयमा उपमन्त्रीका रूपमा एकजना महिला नियुक्त भएकी छन्।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments