सत्य निरुपण विधेयक स्वीकृत

सोमवार, असार १८, २०७५



काठमाडौं । प्रतिनिधि सभाको सोमबारको दोस्रो बैठकले सत्य निरुपण विधेयकलाई स्वीकृत गरेको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तमाङले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) विधेयक,२०७५ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त विचार गरियोस् भन्ने प्रस्तावलाई बैठकको बहुमतले स्वीकृत गरेको हो । दोस्रो बैठकले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम, २५० बमोजिम नियम निलम्बनको प्रस्तावलाई पनि बहुमतले स्वीकृत गरेको छ ।

बैठकमा नेकपा(नेकपा)का प्रमुख सचेतक देवप्रसाद गुरुङले उक्त नियम निलम्बनको प्रस्ताव प्रस्तुत गरेका थिए भने उक्त प्रस्तावलाई नेपाली कांग्रेसकी सचेतक पुष्पा भुषाल(गौतम)ले समर्थन गरेकी थिइन् । ‘बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) विधेयकलाई आजै पारित गर्ने तयारी स्वरुप नियम निलम्बन गरिएको हो ।

संसद बैठक प्रारम्भ भएको ६० दिन भित्रमा प्रतिस्थापन गर्ने विधेयक पारित गरिसक्नु पर्ने संवैधानिक व्यवस्था भएकाले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १११ मा रहेको व्यवस्थालाई निलम्बन गरी विधेयक माथिको संशोधनको सूचना दिने ७२ घण्टे समय सीमालाई छोट्याएर आजै दिउँसो १ बजे देखि ४ बजे सम्मको समय सीमा कायम गरिएको छ । प्रतिनिधि सभाको आजको दोस्रो बैठक पनि आजै अपरान्ह साँढे चार बजेसम्मका लागि स्थगित गरिएको छ ।

यसैबीच राष्ट्रिय सभाको आजको बैठक पनि भर्खरै शुरु भएको छ । बैठकमा सांसदहरुले विशेष समय लिएर समसामयिक विषयमा सदन तथा सरकारको ध्यानाकर्षण गराउने क्रम जारी रहेको छ । राष्ट्रिय सभाको आजको बैठकमा ‘राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक, २०७५’ तथा ‘संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी विधेयक, २०७५’ लाई पारित गरिने कार्यसूचीमा उल्लेख गरिएको छ ।

184 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank