चीनमा यस अघि पनि ‘सार्स भाइरस’ले वितण्डा मच्चाएको थियो !

मङ्लबार, माघ १४, २०७६



एजेन्सी । चीन एउटा नयाँ भाइरसका साथ संघर्ष गरिरहेको छ । चीनमा कोरोना भाइरसको प्रकोपको कारण मृत्यु हुनेको संख्या १०६ पुगेको छ । यस्तैगरी उक्त  भाइरसको संक्रमण ३० प्रान्तका विभिन्न क्षेत्रमा ४,५१५ भन्दा बढी व्यक्ति संक्रमित रहेको बताइएको छ ।

चिनियाँ स्वास्थ्य अधिकारीहरूले मंगलबार बताएअनुसार ९७६ जना बिरामीको अवस्था गम्भीर रहेको छ । राष्ट्रिय स्वास्थ्य आयोगले हालसम्म ६,९७३ जना व्यक्तिमा कोरना  भाइरस देखिएको बताएको छ । यस्तै ६० जना व्यक्ति पूर्ण रुपमा ठिक भएर घर फर्कीसकेका छन्  ।

चीनको शिक्षा मन्त्रालय (एमओई)ले  मंगलवार घोषणा गरेअनुसार चीनका विभिन्न स्कुलहरूले स्प्रिंग सेमेस्टार छुट्टी दिँदै छन्  । देशका केही भागमा यात्रा प्रतिबन्ध लागु गरिएको छ ।

चिनियाँ नयाँ वर्षको समयमा ठूलो संख्यामा मानिसहरू यात्रा गर्छन् । तर यस प्रकोपलेचीनको पर्यटन व्यवसायलाई झड्का लागेको अधिकारीहरूले बताएका छन् ।

सार्सको महामारी :

उसो त सन् २००२–०३ का दौरान सार्सको महामारी फैलिएको थियो । यसको सुरुवात पनि चीनबाटै भएको थियो ।

सिभिअर अक्युट रेस्परटरी सिन्ड्रोम (सार्स) भाइरसले गराउने श्वासप्रश्वाससँग सम्बन्धित रोग हो।

यो रोग ‘सिभिट क्याट’ भनिने वनबिरालोबाट मानिसमा सरेको हुनसक्ने वैज्ञानिकहरूको मान्यता छ। सिभिट क्याटको मासु दक्षिण चीनमा स्वादिलो मानेर खाने प्रचलन छ।

यूकेको न्याश्नल हेल्थ सर्भिसका अनुसार सार्सका ८,०९८ केसहरू दर्ता भएका थिए। तिनमध्ये ७७४ व्यक्तिको मृत्यु भएको थियो। अर्थात् गम्भीर खालको न्युमोनिया गराउने यो भाइरसले दश सङ्क्रमित व्यक्तिमध्ये झन्डै एक जनाको ज्यान लिनसक्छ।

सार्स हावाबाट पनि सर्छ। रुघामा जस्तै सङ्क्रमित व्यक्तिले खोक्दा वा छ्युँ गर्दा थुकको सूक्ष्म थोपाबाट यो फैलिन्छ। सन् २००४ पछि सार्सको केस कतै पनि भेटिएको छैन।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments