युवासंघको साढे सात वर्षहरु-भाग : तीन

शनिबार विशेष

शनिबार, पुस २९, २०७४

- सरोजदिलु विश्वकर्मा



‘उमेर कति हो तपाईंको … ?’ साँझपख फोन गरेर उपाध्यक्ष कमरेड गरिमाले सोध्नुभयो । सातौं राष्ट्रिय सम्मेलनको मुखमा उनको सोध्नुको आसय भनेको अवको टीममा मलाई पनि समेट्न खोज्नु थियो भन्ने बुझियो । सायद उहाँहरुवीच पुर्वछलफल भइसकेको रहेछ । गरिमाजीको टीममा तत्कालिन महासचिव इन्द्रलाल सापकोटाले नेतृत्व गर्दै हुनुहुन्थ्यो भने महेश बस्नेतले विपक्षी टीम लिएर खडा हुने घोषणा गरिसक्नु भएको थियो । पार्टी हेक्वाटरमा कमरेड झलनाथ खनालकै वर्शच्व थियो । उनकै विचार आस्थाको गुटमा अधिकांश साथीहरु थियौँ । तर महेश कमरेडले आफू अध्यक्षको दावा गर्नैका लागि हेड्क्वाटर बदलिसक्नु भएको थियो । यसर्थ इन्द्रलालको टीमलाई जिताउने मनमिल्दा र योग्य साथीहरुको छानवीन गर्दा म पनि त्यसमा परेको रहेछु । अनि म मनमनै दुविधामा पर्दै र सोच्दै अन्ततः महाधिवेशनमा जाने तयारीमा लागेँ ।

प्रतिनिधिका लागि मैले आफ्नो विभागीय प्रमुख धनकुमारी सुनारसंग आग्रह गरेँ । तर मेरो विभागीय प्रमुख, जसको प्रेरणाले म युवासंघमा जोडिइएँ, जो दलितकी नेता पनि हुन्, जोसंग घनिष्टता पनि अति नै भयो, जसलाई मन खोलेरै हरतरह सहयोग गरेँ, उनले विभागमा मलाई नराखेको कुरा प्रतिनिधि छान्ने अन्तिम घढीमा थाहा भयो । यही कुरा गरिमा र अजम्वर कमरेडसंग राख्दा, उतै महाधिवेशनमा आउनुस्, के सकिन्छ गरौंला भन्नुभयो । आफ्ना र विश्वास गरेकाले त झुक्याएपछि उनीहरु त अझ पराय । अनि पलाएको आशा पनि मर्यो । यद्यपि, भए भइएला, नभए आफ्नै कर्मथलो छदैँछ । यत्रो साथीहरु बनाइयो, अझ देशभरीका युवा साथीहरुको ठूलो जमघट् हुँदैछ । उनीहरुसंग भेटघाट र चिनाजान होला, रमाइलै होला भन्ने हेतुले २।३ दिनको विदा लिएर लहान जाने अठोट गरेँ ।

भोलीपल्ट उद्घाटन सत्र हुदैँथियो । लहानको यात्राको लागि कार्यालयमा ठूलो भीड् लागेको थियो । धेरै अग्रज युवा नेताहरु र चिनाजानका साथीहरु भने लाहान पुगिसकेका थिए । लाहानमा केन्द्रिय सदस्य र पदाधिकारी बन्न चाहनेहरुको क्याम्प खडा भइसकेको थियो । हामी रमाइलो हेर्न र नेता मान्न जानेहरु भने वेलुका अवेरसम्म बागवजारको कार्यालयमै थियौं । नयाँनयाँ साथीहरु, ठिटाठिटीहरु ठट्टा गरिरहेका, कसैसंग चिनाजान छैन । कसरी जाने, कसले लाने लाहान ? अन्ततः रामेछापका लव श्रेष्ठ भेटिए र उनलाई आग्रह गरेँ – ‘तपाईहरु कसरी जाने हो ? संगै म पनि जानुपर्यो ।’ सालीन स्वभावका लव कमरेडले, खै अटिन्छ कि अटिदैन, मिलेर जाउँला नी भनेपछि रातको ९ वजेतिर उहाँहरुको बसको पछिल्लो सीटमा बसियो । मध्येपौषको काठमाडौंको जाडो, आफू त प्रोजेक्टमा चरेको, महंगो होटल, सुविधायुक्त वेडविस्तारामा बसेको बानी । बसमा जेजस्तो भए पनि लाहानमा त करिवकरिव राम्रै ब्यवस्था होला जस्तो लाग्यो र जर्मन ओभरकोट वाहेक केही बोकेकै थिईनँ । थानकोट कटेपछि साह्रै जाडो भयो । अनि त्यही ओभरकोट ओडेर पछिल्लो सीटमा गुटुमुट्टु गुम्टिएँ ।

नजिकै रहेका एक साथी भीडभाड्मा नाचगान, अन्ताक्षरी र दोहोरीमा रमाइरहेका थिए । उनले निम्खरो सम्झेर हप्काउदै सोधे– ‘भाई कहाँबाट आएको ?’ उमेरले म उनको दाई नै थिएँ, तर अध्याँरोमा उनले हेक्का राखेनन् र भाई नै भने । अझ उनी युथफोर्सका लडाकु रहेछन् । त्यसैले हामीभन्दा उनको रवाफ बढी हुनु स्वभाविक नै हो । मैले नरम् उत्तरहरु दिएँ, उनलाई ‘उदयपुर’ । ‘उदयपुरको प्रतिनिधि हो ?’ उनले फेरी हप्काएरै सोधे । ‘होईन ।’ ‘अनि किन हिडेको त यस्तो जाडोमा ?’ ‘खै साथीहरुले बोलाएका छन् ।’ ‘वेकारमा त्यो जाडोमा कहाँ बस्ने, के रमाइलो मानेर हिडेको होला ?’ उनले सानो बच्चालाई हप्काए झै ठाडो स्वरमा मेरो चिन्ता गरिरहेका थिए । ‘खै साथीहरुले आउनु भन्नुभएको थियो र हिडेको ।’ ‘अनि तपाईलाई प्रतिनिधि बनाउँछन् रे त ?’ उनका प्रश्नहरु उस्तै थिए । ‘खै….?‘ सवै साथीहरु मेरो बसाईको वातावरण र उनको बोझिलो प्रश्नहरुले ममाथि हासिरहेका थिए । मलाई अझै संकोच लाग्यो । त्यो टिम प्रायः महेश बस्नेतलाई जिताउन हिडेको टीम रहेछ । एउटाले भन्यो ‘प्रतिनिधि हुनुभयो भने महेशलाई भोट हाल्नुपर्छ नि… ।’ ‘हुन्छ हालौला नि ।’ जाडोले मलाई त्यति बोल्न मन थिएन । अझ होटलमा भाडा माझ्ने केटोलाई दया गरेजस्ता उनीहरुका प्रश्नले बिझाइरहेकाले उत्तर पनि दिन मन लागिरहेको थिएन । ‘केन्द्रीय सदस्य पनि लड्ने विचार छ कि क्या हो ?’ ‘खै….?’ त्यसरी सोधिरहने आजका मेरा परम्मित्र थिए– यिनै केशव श्रेष्ठ ।

भोलीपल्ट विहानतिर लाहान पुगियो । कहाँ होटल, कहाँ बस्ने बास, कहाँ खानपिन ?? युएन्को जागिरको सानअनुसारको सुविधा कहाँ हुनु त्यहाँ । एउटा धर्मशालामा बाख्रा कोचिएजस्तो प्रतिनिधिहरु कोचिएर सुतिरहेका । रुमहरुमा खुट्टा टेक्ने ठाउँ छैन । भित्र जुत्ता–मोजा गन्हाएर त बाहिर सुँगुरहरु गन्हाएर उद्युम्…. । त्यसपछि विशाल फाँटमा सजाइएको मञ्चतिरै लागियो । करिव पार्टी महाधिवेशनकै शैलीमा मञ्च भब्य सजाइएको थियो । मञ्चकै अगाडि विभिन्न जिल्लाबाट आएका बसबाट प्रतिनिधिहरु ओर्लदै थिए । पुग्नासाथ मलाई मञ्चकै काम दिइएकाले चिनेजानेकासंग घनिष्टता बढाउने र नयाँनयाँ साथीहरुसँग नजिक हुने मौका मिल्यो । गरिमाजीले विहान भन्नुभएको थियो– ‘अलि पुर्तिलो भएर नयाँ साथीहरुलाई परिचय दिदैं स्वागत गर्नु, त्यसले जनसक्पर्क बढाउँछ ।’ नभन्दै नयाँ–पुराना साथीहरुसंगको निकट्ताले मैले आफूलाई अहिले नै नेता भइसकेको अनुभूति गर्दैथिए । सत्यनारायण यादवको ब्यवस्थापनमा विभिन्न नाराहरुसहित एकैक्षणमा लाहान शहर पुरै ढाकिने गरी झण्डाहरु फरफराउन थाले ।

लाहानको त्यही मैदानमा थियो, जहाँ २०४६ सालको परिवर्तनपछि मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली, मोदनाथ प्रश्रीतहरु पञ्चायत विरुद्ध गर्जेका थिए । स्याँङ्झाकी लक्ष्मी कार्की पञ्चायतको बर्बर उत्पीडन पोख्दै धुरुधुरु रोएकी थिइन् । सोही मैदानमा २०६६ साल पौष ११ गते दिउँसो एक वजेबाट भब्य समारोहका वीचमा संगठनका तत्कालिन अध्यक्ष अजम्वर काङमाङको सभापतित्वमा सातौ महाधिवेशन उद्घाटन सत्र शुरु भयो । करिव एकलाख जनताको माझमा पार्टी अध्यक्ष झलनाथ खनाल प्रमुख अतिथी, कमरेड केपी ओली, माधव नेपाल, इन्चार्ज गोकर्ण विष्ट लगायतका विशिष्ट नेताहरु मञ्चमा आसीन थिए । महासचिव इन्द्रलाल सापकोटाको सानदार उद्घोषण शंखनाद झैं गुञ्जिरहेको थियो । चौरमा टाढाटाढासम्म बस्ने मानिसहरु उद्घोषकको कस्तो राम्रो स्वर है भनेर तारिफ गर्दै थिए । कसैले अवको अध्यक्ष नै उही हो भन्दै थिए भने कतिले होईन युथफोर्सको अध्यक्षले जित्छ भन्दै थिए । विभिन्न संस्कृतिका झाँकीहरु, थारु नाच, माघी नाच, धान नाच, धिमाल नाचलगायतका मधेशका सवै जातिको भेषभुषा र परम्परा । ठुलै हर्षबढाईंकासाथ भब्य कार्यक्रम शुरु हुँदैथियो । तर पनि ती सवै संस्कृति झल्काउन र प्रदर्शन गर्न उनीहरुलाई मञ्चमा स्थान दिनुपर्दथ्यो । त्यसले उनीहरुको सम्मान पनि हुन्थ्यो । तर केही साथीहरुले मनाही गर्दा उनीहरु भुईंभुईं आए, भुईंभुई नै हराएँ ।

पार्टीको बुटवल महाधिवेशनको समापनसंगै पार्टीका तल्लो निकायसम्म चीरा पर्न थालेको थियो । कार्यकर्ताका फाटेका मनहरुलाई जोड्न मञ्चका अतिथीहरुले नेताहरुलाई आग्रह गरे, चुनौती दिए । युवासंघको एकताको महाधिवेशन गर्न सहमती गरी नेतृत्व चयन गर्ने विषयमा पनि नेताहरुले निर्देशन दिए । तर अधिकांश नेताहरुले संविधानसभामा सवैभन्दा ठूलो दल बनेको माओवादीलाई नै सरापी रहे । उनीहरुको श्राप शैलीमा हामी दर्शक–कायकर्ताहरुले आनन्द मान्दै ताली ठोकिरह्यौं । जसले सवैभन्दा ठूलो स्वरमा कलात्मक ढंगले माओवादीलाई सराप्छ, त्यही नै हाम्रो महान नेता मान्दै नेताका भाषणमा हामी मन्त्रमुग्ध थियौं । ममा समेत नेताहरुको विपक्षीविरुद्धको आक्रोशले अनावश्यक उन्माद चढिरहेको थियो । सोही उन्मादले सव चीजहरु त्यागेर भएपनि अव त नेता बन्नै पर्नेतर्फ मेरो मन बहकाईरहेको थियो । (क्रमशः)

452 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank