सिण्डिकेट लाद्न आमहडताल गर्ने महासंघका महासचिव सिटौला पक्राउ

शुक्रबार, बैशाख २१, २०७५



काठमाडौँ । नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पक्राउ परेका छन् । रिपोर्टर्स क्लव नेपालको साक्षात्कार कार्यक्रममा पुगेका सिटौलालाई क्लबको कार्यालय परिसरबाटै प्रहरीले पक्राउ गरेको हो । सादा पोषाकमा आएका प्रहरीले सिटौलालाई पक्राउ गरेर महानगरीय प्रहरी परिसर टेकुमा लगेको छ ।

यस्तै, सरकारले गत चैत १८ गते जारी गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै यातायात सञ्चालन अवरुद्ध पारेका झापाका सात यातायात व्यवसायी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मेची बस व्यवसायी संघका अध्यक्ष मोहनप्रसाद उप्रेती, हिमाल यातायात संघका कार्यबाहक अध्यक्ष भूपाल ओली, सगरमाथा यातायात प्रालिका अध्यक्ष खगेन्द्र उप्रेती, निर्देशक बुद्ध तिवारी, सदस्य राजकुमार पाण्डे, श्याम थापा र पूर्वी बस व्यवसायी संघका अध्यक्ष केशव गिरी रहेका छन् ।

यस्तै, प्रहरीले पश्चिम नेपाल बस व्यवसायी समितिका उपाध्यक्ष जीवनकुमार बन्जाडे र महासचिव पद्म गाहा मगरलाई पक्राउ गरेको छ ।

समितिका उपाध्यक्ष बन्जाडेलाई बुटवल ट्राफिकचोकस्थित आफ्नै टायर पसल नजिकै चिया पिउँदै गरेको अवस्थामा र महासचिव गाहालाई बुटवल उपमहानगरपालिका वडा नं ७ स्थित आफ्नै निजी निवासबाट इलाका प्रहरी कार्यालय बुटवलको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए ।

प्रहरी उपरीक्षक ज्ञवालीका अनुसार पक्राउ परेका व्यवसायीलाई आवश्यक सेवा सञ्चालन ऐन, २०१४ अनुरुप कारवाही अगाडि बढाइने छ । ऐनमा छ महिना कैदसम्म गर्न सकिने व्यवस्था रहेको छ भने हडताल गर्न उक्साउनेलाई एक वर्षसम्म कैद सजायको व्यवस्था गरिएको छ ।

132 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank