सरकार र उखु किसानबीच ५ बुँदे सहमति

शुक्रबार, पुस १८, २०७६



काठमाडौं ।  विगत दुई हप्ता देखि आन्दोलनरत सर्लाहीका उखु किसानसँग सरकारले पाँचबुँदे सहमति गरेको छ । उद्योगमन्त्री लेखराज भट्टको उपस्थितिमा भएको वार्तामा सरकारले तोकेको मूल्य दिने, अनुदान समयमै उपलब्ध गराउने लगायतका पाँच बुँदे सहमति गरेको हो ।

सहमतिअनुसार चिनी मिल सञ्चालकहरुले किसानको बक्यौता माघ ७ गतेभित्र उपलब्ध गराउन मन्त्रालयले समन्वय गर्नेछ । साथै भुक्तानीको समस्या हल गर्न स्वचालित मूल्यबारे अध्ययन गर्ने, सरकारले दिने अनुदान समयमै उपलब्ध गराउन मन्त्रालयले अर्थ र कृषिलाई लेखेर पठाउने सहमति भएको छ । यससँगै उखु किसानको आन्दोलन स्थगित छ ।

यसअघि आन्दोलनरत उखु किसानले सरकारसँग १२ बुँदे माग राखेका थिए ।

उखु किसानहरूले  २०७० सालदेखि ०७६ सालसम्मको वक्यौता रकम मिलले भुक्तानी गर्नु पर्ने, सरकारले उपलब्ध गराउने अनुदान बापतको रकम विना सर्त तत्काल किसानको खातामा जम्मा गर्नु पर्ने, सरकारले तोकेको उखुको मूल्य प्रति क्विन्टल ५३६ रुपैयाँ ५६ पैसा किसानले पाउनु पर्ने लगायतका १२ बुँदे माग समितिले अघि सारेका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments