सन्त्रास (कविता)

सोमवार, चैत्र २४, २०७६



आजभोलि …..
चारैतिरको पत्याउनै नसकिने
हल्ला र अफवाह फैलिएको छ
यत्र, तत्र, सर्वत्र कोरोनाको
संक्रमणले जनजीवन हल्लिएको छ
कता कता मष्तिस्क सन्त्रास फैलिएको छ
नजानिँदो भएर गहिरिएर गडेको छ
मानौँ चिहानको निर्जीव भएको
आत्माप्रतिको सन्त्रास जस्तो भएर

आजभोलि …
सहरमा मसान बिउँतिएको छ रे
अकालमा मानिस तानेको छ रे
बाल बच्चा, बुढाबुढी र अशक्तलाई
जोगाउन धौ, धौ परेको छ रे
संसार भरको कोरोनाको कहरले
मानिसलाई मृत्युसँगको
सम्बन्ध बुझ्न बाध्य गराइरहेको छ रे
खै, इटली, स्पेन र अम्रिकातिर त
हजारौँको सङ्ख्यामा स्वाहा : पार्‍यो रे

आजभोलि ……
गाउँमा अथिति बढ्या बढ्यै छन् रे
नआऊ भन्दाभन्दै घरभित्रै छिर्छन् रे
दिनभर जङ्गलतिरको बाँस गरेर
साँझतिर घरै भित्र छिरेछन् रे
भन्दै नभन्नु भनेर
धेरै पटक बाचा कसम खा छन् रे
दया,मायाको नाममा दोस्रो देशकालाई
लुकाएको लुकाइ छन् रे
आफैँ सकिने रोगबाट जोगिनुको सट्टा
आफू सहित समाजै सक्ने
अमूर्त खेलमा लटपटीएका छन् रे

आजभोलि ….
कोरोनाको संक्रमणबाट जोगाउन
सरकारले लकडाउन भन्दै छ रे
खाद्यान्न सङ्कट पर्ला भनेर
अति न्यून आय भएकालाई
राहतमा जिउन पुग्नेगरि
थोरै थोरै भए पनि
राहतको पोका दिँदै छ रे
राहतको व्यवस्थापनसगैं
देशी, विदेशी सीमाको
प्रतिबन्ध लगाएको लगाइ छ रे

आजभोलि ….
बिहानसाँझ तरकारी र फलफूल
बेचविखन अलि खुकुलो भा’छ रे
अभर परेकाहरूलाई काम फुका छ रे
विदेशबाट आएकाहरूको तथ्याङ्क खोज्दै छ रे
सिमानामा नेपालीहरूलाई पनि रोके छ रे
आफ्नो भनेर पनि एकान्तवासमा बस्न
सीमापारि नै बन्दोबस्ती छ रे
नाता भन्दा ठुलो महामारीले विश्व खा छ रे

आजभोलि …
रोग भए नभएको पहिचान पछि
आफ्नै घरमा पुर्‍याउने व्यवस्था
सरकारले नै बनाएको छ रे
नागरिकको सुरक्षाको लागि
घरैभित्र बस्न अनुरोध गरेको छ रे
भयावह हुनबाट रोक्न सीमा बन्द गर्‍या छ रे
लुकेर हैन खुलेर नै
आफ्नो परिचय सरकारलाई
सूचना दिएर आफू र सबैलाई बचाउन
धेरैपटक अनुरोध गर्दै छ रे !

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments