एथलेटिक्समा सन्तोषी श्रेष्ठले जितिन् स्वर्ण पदक

मङ्लबार, मंसिर १७, २०७६



काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को एथलेटिक्समा नेपालले पहिलो स्वर्ण पदक जितेको छ । धाविका सन्तोषी श्रेष्ठले १० किलोमिटर दौडमा स्वर्ण पदक हात पारेकी हुन् ।

सन्तोषीले भारतकी कविता यादवलाई पछि पार्दै पहिलो स्थान हात पारिन् । पहिलो ल्यापदेखि नै सन्तोषीले अग्रता बनाएकी थिइन् । सुरुवातदेखि नै सन्तोषीलाई पछ्याएकी कविताले अन्तिम १ सय मिटरमा अग्रता लिएपनि सन्तोषीले अन्तिम सेकेन्डमा पदक जित्न सफल भइन् । कविता सन्तोषीभन्दा १ मिलिसेकेन्डले पछि परेकी हुन् ।

त्यसअघि धावक टंक कार्कीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष १५ सय मिटर दौडमा कास्य पदक जिते । मंगलबार दशरथ रंगशालामा भएको फाइनलमा टंकले निर्धारित दौड ३ मिनेट ५९.२० सेकेन्डमा पूरा गरे ।

भारतका अजयकुमार सरो ३ मिनेट ५४.८१ सेकेन्डमा दौड पूरा गर्दै प्रथम हुँदा भारतकै अजित कुमार ३ मिनेट ५७.१८ सेकेन्डको समयले दोस्रो भए । दौडका दौरान अधिकांश समय पाँचौ स्थानमा रहेका टंकले अन्तिम ल्यापमा भने उत्कृष्ट पुनरागमन गर्दै तेस्रो स्थान हासिल गरे । उनले अन्तिम १ सय मिटरमा श्रीलंकाका सजिवा लकमललाई पछि पारेका थिए ।

महिलातर्फ भने सरस्वती भट्टराई पाँचौ स्थानमा रहिन् । उनले दौडको १२ सय मिटरसम्म अग्रता बनाएपनि त्यसपछि अन्तिम ल्यापमा भने आफ्नो अग्रता जोगाउन सकिनन् । श्रीलंकाकी कुबुरालागेले स्वर्ण जित्दा भारतका चद्ना दोस्रो र चित्रा पलाकिज तेस्रो भए ।

त्यस्तै महिलाको १ सय मिटर दौडतर्फ सरस्वती चौधरीले अन्तिम चरणमा प्रतिस्पर्धा गरेपनि पदक जित्न सकिनन् । उनले हिट चरणमा १२.५७ सेकेन्डमा दुरी पुरा गर्दै शीर्ष ८ मा पर्न सफल भइन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata