आमाको मृत्युमा रमिते म !

संस्मरण

शनिबार, अशोज २८, २०७४

loading...

- ऋषिकेश भट्टराई



मृत्यु शाश्वत हो । मानिस जन्मे पछि मर्छ,मर्छ नै । यसमा दुई मत नै छैन । तर आमाको गर्भ र न्यानो काख अनि माया र प्यारले गर्दा मृत्यु अस्वभाभिक नै लाग्दो रहेछ । आमाको मायालाई दाँज्ने काईदा यो जमानामा प्राणप्यारीसँग पनि दाँजिन्छ । प्राणप्यारीको माया निस्वार्थी छैन तर आमाको माया कुनै हालतमा पनि स्वार्थी हुँदैन । जीवनको गोरेटोमा धेरै ज्वारभाटाहरु नआएका होइनन् । कैयौँ भोक, तीर्खा, निद्रा र थकाइहरुमा माया, प्यार र सान्त्वना अनि शुभाशीर्वाद दिने मेरी आमा सधैको लागि अकस्मात यस धर्तिबाट अलप हुँदा कसको मन अमिलो नहोला ? ९२ वर्षे यात्रामा आमालाई हेर्ने हाम्रा दृष्टिकोण १८० डिग्रीकै भए पनि अरु १०० वर्ष नै किन नहोस्, आमा बाँच्नै पथ्र्यो । तर विधिको विडम्बना कसैलाई कुनै दुखः नदिई आमाले यो पापीष्ट संसारबाट सदाका लागि अलप भएको देख्ने यो निरिहपात्र जिन्दगी भर आमाकै सम्झनामा तड्पिरहनु बाहेक अरु के नै छ र ? एक अँजुली पानी,श्रद्धाञ्जली र दुई थोपा अश्रुधार बाहेक आमाका लागि मैले के नै पो दिन सकेँ र ! मेरी आमा, तिमि बाँचेको जीवनमा मैले जति माया, ममता र प्यार दिन खोजे पनि त्यो थोरै नै भएको अहिले मैले महसुस गरेँ ।

प्रसँग हो मेरी आमा हरिमाया भट्टराईको मृत्युको ।२०७२ साल कात्तिक २१ गते शनिवार । विगत ३ दिन अर्थात २०७२ साल कात्तिक १८ गते चावहिल स्थित मेडिकेयर अस्पतालमा उपचारकै क्रममा मेरै अगाडि आफ्नो प्राण त्याग गर्न कत्ति पनि बेर लागेन । यी पंति लेखिदा र छापिदा अरु दुई चार महिना लाग्दो हो तर अहिले सम्म मैले आमाको फोटोमा आफ्ना आँखा जुधाएर हेर्न सकेको छैन । मेरा वृद्ध बुवा करिव ०३९ साल तिरै वित्नु भो । मलाई त्यसबेला शोक परेन । तर आमा वित्दा किन त्यस्तो भो ?त्यसको जवाफ कसले दिने?

आमाका १९औ सन्तान मध्ये यो पङ्तिकार सबैभन्दा कान्छो थियो ।यसमा गर्व पनि,खिन्न पनि । गर्व यस मानेमा आमाको कान्छो छोरा हुन पाएकोमा,खिन्न आफु भन्दा अरु अठार सन्तान भएका भए माया गर्ने अरु पनि हुने थिए नि । तर अहिले हामी ५ जना मात्र जीवित छौ ।

मृत्युमा सम्पुर्ण हाम्रो परिवारमा एक्कासी चट्याङ प-यो अनि मलाई भाव विह्वल बनायो ।

Untitled

मैले त्यस बेला आमाले जीवनभर पाएका दुख र पिडाहरु, दिएका माया र प्यारहरु एक्कैचोटी सम्झेँ । अब ति बिगतलाई सम्झेर मात्रा नहुने, मेडिकेयरमा कांधीकाठ गरी आमाको लास उठाउने कुरा त्यत्तिकै भो । एउटा एम्बुलेन्सले आमालाई लिएर गयो पसुपति तर्फ साथमा थियौँ दाजु र म । सायद ठूली दिदी पनि । सम्झना नै भएन । पसुपतिमा पुगे पछि एउता बाँस माथि राखेर मात्र आमाको काँधीकाठ शुरु भो । सबै मलामिहरुको मुखबाट एकैचोटी राम राम …………को आवाज सुनिन्थ्यो पुरानो संकार नै होला अन्तिम बिदाइका लागि श्रद्धान्जलीका शब्द हुन सक्छन् राम राम । केही समयमा नै हामीले आमाको लासलाई पसुपतिको पूर्वि गेट तर्फको आर्यघाटमा पु-यायौँ । कात्तिकको त्यो वेलुकी करिव ५ वजेको हुदो हो ।आमालाई सेतो कपडाले बेरेर राखिएको थियो । विराटनगरबाट दिदीहरु आई पुग्न समय लाग्ने भनेर समय कुर्नु पर्ने भो । करिव ६ः३० दिदी एक जना मात्र आई पुग्नु भो तर कान्छी दिदी आउन अरु एकाध घण्टा लाग्ने भो रे कसैले स्वर मच्चायो । सवैले अव कुर्न हुन्न भनेँ । यतिकैमा आमाको लाशमा आगो लगाउन बाध्य भयौँ हामी दाजु भाइ । पछि दिदी आए पछि छोरा भएपो पर्खिन्थ्योँ भन्दै थिइन । परिस्थति नै त्यस्तो बनो, दिदीको कुरा जायज भए पनि कुर्न नसकिएको सत्य थियो । रात पर्दै थियो । मर्ने मरे पनि बाँच्नेले घर जानु थियो । …………….। वस…..।

आमालाई चितामा चढाएपछि म त भक्कानिएछु । सम्झेछु आमा तिमिले गर्भदेखि नै होसियारिसाथ जन्म दियौ अनि च्याहाँ च्याहाँ सँगै दशधारा दुध खुवायौ । आजसम्म भोक तिर्खामा ध्यान पु-यायौ । अब कसरी तिम्रो लासमा दागबति दिनु र शरीरलाई राख बनाई घर फिर्नु एकछिन् आफैमा बेहोस भएँछु, अश्रुधार बगेछन्, आँखा तिर्मिराएछ, सबै जना मलाई नै हेरिरहेका रहेछन् । सबैमा सन्नाटा छाएको देखेँ । अब हामीले हिम्मत गरेर आमालाई दागबति दिएर अन्त्येष्टि कार्य समाप्त गर्नु पर्छ भनी हिम्मत र आँट गरेँँ । आँट नगरेर पनि के गर्ने समाज ,संस्कार र समयले पर्खिने कुरा भएन ।

मानौँ आज मेरी आमाको सम्झनामा आफु हिँडेका र डुलेका पाखावारी,खेतवारी र भिरपाखाकै सम्झनाले सताई रहन्छ ।बाहिरी आवरणमा नरोए पनि एकान्त बसो कि आँसु मात्र आउछ । मेरी आमाको अभावमा माया र प्यारको खडेरीले पारिवारिक सुखको दियोमा बर्तुनको अभावमा भएको छ । गाउँघर छरछिमेक र अलिपर समाजका चाडपर्व, विवाह, व्रतबन्धहरु मेरी आमाको अनुपस्थितिमा कठैबरी ! संगिनी तिमि कहाँ गयौ नी भनी सुस्ताएका छन् । घाँस दाउरा र मेलापात सँगै मेरी आमाका पौरखि हात र नि स्वार्थ सेवाले कुदिँएका धान खेती, मकै खेती, आलु खेती, र तोरीबारीहरु बाँझिएर पर्तीमा परिणत भएका छन् । कठै मेरी आमा ! तिमि साथै भए माया र पौरखीले सिंगार्ने थिए होला । सुखको तिम्रो सपना विपनामा परिणत हुन नै नपाई तिमि यो धर्तीबाट कहाँ कहाँ हरायौ ? कता कता विलायौ ? भेट्न र देख्न नसकिने भयौ !

Untitled

जीवनभर झरी, पानी, शीत, तुसारो र हिउँ अनि गर्मिको कठोर पीडासँगै लेंकबेसीको यात्रामा तड्पिएर बाँच्यौ । मृत्युशैयाको अन्तिम घडीमा अस्पतालका कर्मचारीहरुले बाहिर बस्न भन्दै थिए ।दाजु बाहिर थिए । फोन गरी बोलाउन पनि ढिला थियो तै पनि २ मिनेटमा दाजु आए । दाजु र म भित्र संगै गयौँ । आमाका आँखा टाढा भै सकेका थिए ।

करीव २ । ४ बर्ष अघि आमा भन्न गर्नु हुन्थ्यो म मर्ने बेलामा दाजु एकैछिन बाहिर गाको हुने छ । त्यस बेलामा एक जना नचिनेको पाहुना आउने छ । म ४ दिनको व्यथाले मर्ने छु । तिमीहरुलाई धेरै दुख दिन्न । आखिर आमाले जे वोलिन भयो त्यही । करिव २:१५ तिर आमा ट्वाइलेट जान उठिन । नातिले डोर्याएर लगिदियो ।ओछ्यानमा आएर १ गिलास फान्टा , एउटा चक्लेट र औसधी करिव संगसंगै खाएको ३।४ मिनेट पछि आमालाई अलिक खोकि लागे जस्तो भयो । लामो सास तानेर खोकि लाग्यो । अलिकती पानी खानुनि मैले भने । त्यसबेला मेरा एक जना साथी आउनु भएको थियो अरुण कुमार गिरी । दाजु बाहिर कतै थिए । हामी ४ जनाले जुनार खायौ । जुनार चिसो हुने भएको आमालाई दिइएन । लेख्दा लेख्दै हातले समेत काम गरेन………………. । केही छिन पछि आमाले मलाई खरो भयो पानी देवो,भन्नु भो । नजिक दिदी भएर पानी खाने भन्दै सोध्दै थिइन् । आमाले पानी खाने होइन,छम्की देवो भनिन् । बस्….तुरुन्त डाक्टरको टोलि आयो ।आमाका आँखा टाढा टाढा भए ..हामी ४ । ५ जना रमिते भयौ । हामीलाई छोडेर अन्तै कतै गई सकेकी थिइन् । थियो त्यहाँ केबल आमाको प्राण पखेरु गएको स्थुल शरिर,जहाँ आमाको प्राण थिएन । एक छिन् रुनु सिवाय के थियो र? वस्………… यस्तै यस्तै रह्यो आमाका लागि .।

गरिबीले सताएको अशिक्षित परीवारमा जन्मिएर पुरोहित्याई गर्ने मेरा बुबाको घरमा कर्मथलो बनाई हामीलाई शिक्षा दिएर चेतनाको आकाशमा संसारलाई चियाउन सक्ने पौरख दिएकोमा साधुवाद छ आमा तिमिलाई । तिम्रा पौरख र पाखुराको बलले आज हामि विचारका धनी भएका छौ । निर्भिक र निडर भएका छौँ । आमा तिम्रा निस्वार्थ सेवा भाव अनि साहस र आँटले आज हामिलाई कर्मयोगि, मिहेनति र समाज सेवी बनाएको छ । तिम्रा सन्तानहरु कहाँ कतै डुल्दा, घुम्दा, बस्दा, उठ्दा भोको तिर्खो रहदैनन् आमा । म यसै पत्रद्धारा तिमिलाई ढुक्क बनाउन चाहन्छु ।

यदि आज आमा ! तिमि भएकी भए विगतको तिम्रो पीडा र पौरखलाई आत्मसात गरी सुखद मुस्कानले सजाउँथे होला । अरु केही नभएर मेरी आमा ! तिमि मेरो जीवनको साहारा र ढुकढुकी रहिछौ । आज यो धर्तीमा तिमिलाई जहाँ जसरी खोजे पनि पाउन कठिन भएको छ । मलाई तिम्रो दश धारा दुधको भारा तिर्न निकै गाह्रो भएको छ । उम्केको माछो ठुलो भने झै जन्मदिने आमा भन्दा ठुलो र महत्वको अरु कुनै चिज नहुँदो रहेछ । हरेक सपनामा तिमि आएर सुम्सुम्याउँदा विपनाको प्यार बिर्साउदो रहेछ । विपना र जीवनका चाहानाहरु सपनामा पुरा हुन नसक्ता रहेछन् । सुखको खडेरीले त्यो बेला आमा तिमिलाई खरानीमा परिणत गराइदियो । अहिले पनि तिम्रो स्मरणले घच्घच्याइ रहेकै छ आमा । संसारका धेरै आमाहरुरभन्दा पनि तिमि निष्ठावान थियौ, धैर्यवान थियौ, सहनशिल थियौ,निश्चल थियौ । तिम्रा विशेषताहरु कति विर्षन खोजे पनि विर्षन सकिदैन, भुल्न सकिदैन पलपल सम्झना आइरहन्छ ।

अहिले सम्झन्छु मेरी पो आमा मरेकी हुन् अरुकी त होइनन् नि,खाँचो त मेरी आमा मलाई छ, म कान्छो छोरो, आमाभन्दा प्रिय अरु केही नहुने हुँदा आमाको माया प्यार र सेवालाई हामीले अपार सम्पति ठान्नै पर्ने रहेछ । विभिन्न प्रकृतिका आमाको मृत्युबाट टुहुरा बनेकाहरुले आफ्नी मृत आमालाई सम्झि रहेछन् । कैयौँ भोका, नाङ्गा र गरिब सन्तानले बाँच्नका लागि आमाको पर्खाइमा छन् । जन्मने वित्तिकै पनि आमा मरेकै छन् कसैका,के भर ?बँचेकै छन् ति पनि । तर त्यसो भनेर आमा हिड्ने गोरेटो,आँगन अन्धकार छ मेरो लागि । आमा वितेको करिव ९ महिना सम्म पनि म दाजुको घर पुगेको छैन । थाहा छैन किन ? आमा भएको भए पनी म हप्ता दिन वा १५ दिनमा एक चोटी पुगेको थिएँ । तर आज……….। आमा, संसारमा सबै कुरा किनेर र खोजेर पाउन सकिने रहेछ तर आफुलाई जन्म दिने आमा पाउन नसकिदो रहेछ । मृत्युपछिको आमाको सम्झना भन्दा गर्दा मात्र त के भोर ?सम्झिए पुग्यो तर बाँचुन्जेल,खान दिए पुगो । आमाको पवित्र आत्माले शान्ति पावस् । हामी बाँच्नेहरुको तर्पmबाट गर्ने याचना यो भन्दा अरु के होला ?

२०७४ साल असोज २९ गते आमाको दोस्रो बार्षिक पुन्य तिथिको सन्दर्भमा मेरी आमा प्रति श्रद्धासुमन ।

     ऋषिकेश भट्टराई                                                                          

[email protected] kapan,ktm

668 पटक पढिएको

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Janamat health right side janta bank saral flyer Below blog adv