राष्ट्रिय सभामा शुक्रबार विनियोजन विधेयक माथिकै छलफल

बैठक आईतबारसम्मका लागि स्थगित

शुक्रबार, असार २२, २०७५



काठमाडाै‌। राष्ट्रिय सभाको शुक्रबारको बैठकमा पनि विनियोजन विधेयक, २०७५ अन्तर्गतका विभिन्न मन्त्रालयत छलफल जारी रह्यो भने बैठक आईतबारसम्मका लागि स्थगित गरिएको छ । राष्ट्रिय सभाको आईतबारको बैठकमो भने मन्त्रालयगत छलफलमा उठका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यक्रम तय गरिएको छ ।

राष्ट्रिय सभाको बैठकमा आज रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यायातात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय र उपराष्ट्रपतिको कार्यालय माथिको दफाबार भएको हो ।

यसैगरी राष्ट्रिय सभाको आजको बैठकले संघीय संसद अन्तर्गत संयुक्त संसद नियमावली, २०७५ अनुसार संसदीय सुनुवाई विशेष समितिमा रहने तीन जना सदस्यहरुलाई मनोनयन गरेको छ । मनोनीत हुने सदस्यहरुमा सांसद सुमनराज प्याकुरेल, नन्दा चपाइँ र जितेन्द्र नारायण देव रहेका छन् ।

आजको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय समितिमा रहने सदस्यहरुको नामलाई सहमती जनाउन प्रस्ताव गरेका भने बैठकले सहमती समेत प्रदान गरेको छ ।

यसैबीच, राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले सभाध्यक्षसँग समय मागेर बोल्दै समसामयिक विषयमा सदन तथा सरकारको ध्यानाकर्षण समेत गराएका छन् । बैठक शुरु हुने बित्तिकै सभाध्यक्षसँग समय मागेर बोल्दै नेपाली कांग्रेसका सांसद बद्रिप्रसाद पाण्डेले नेपाली कांग्रेसकी राष्ट्रिय सभा सदस्य मुक्ता कुमारी यादवको छोरा लोकेशकुमार यादव(रुपेस) गत चैत्र २ गते साँझ धनुषास्थित गणेशमान नगरपालिका, पोताहा चोकमा मोटरसाईकल दुर्घटनाम परी मृत्यु भएको भनिए पनि उनको दुर्घटनाबाट मृत्य भएको नभई हत्या नै भएको दाबी गर्दै सत्य तथ्य पत्ता लगाउन केन्द्रीय स्तरबाटै छानबिन गर्नु पर्ने माग गरेका छन् ।

सांसद पाण्डेले मृतक लोकेशको दुर्घटना भएको भनिएको स्थल भन्दा २० मिटर वरनै हात काटेर फालिएको, लास भन्दा धेरै पर मोटरसाईकल दुर्घनाग्रस्त अवस्थामा भेटिएको साथै लासको टाउकोमा धारितो हतियारले काटिएको तर शरिरका अन्य भागमा कुनै क्षति नभएकाले पनि यो दुर्घटना नभई हत्या नै भएको दाबी गरे ।

सांसद मुक्ताकुमारी यादवका छोराको हत्या भएको केही दिन पछि उनको धनुषास्थित घरमा स्वतन्त्र तराई मधेश निर्माण सेना नामक समूहले पर्चा फ्याँकेको र पर्चामा ‘तिमीहरु नेपाली कांग्रेसका तर्फबाट राजनीति गर्दै पहाडीतन्त्रका लागि सुराकी गरिरहेका छौ, त्यसैको चेतावनी स्वरुप छोरालाई हत्या गरिएको हो’ भन्ने कुरा लेखिएको सांसद पाण्डेले सभालाई जानकारी गराएका छन् ।

आफ्नो छोराको दुर्घटना बाट मृत्यु भएका नभई हत्या नै भएको भन्दै यस विषयमा सत्य तथ्य छानबिनका लागि स्वयं गृहमन्त्रीलाई समेत आग्रह गरिएकोमा कुनै कारबाही अगाडि नबढेको गुनासो गर्दै यस विषयमा आफ्नो पार्टीको संसदीय दलमा समेत गम्भिर बहश चलेको तथा स्वयं सांसद मुक्ताकुमारी यादवले पुनः यस विषयमा छानबिनका लागि निवेदन दिएको जानकारी दिंदै यस विषयमा अब केन्द्रीय स्तरबाट छानबिन गरी दोषी उपर कडा कारबाही गर्न सांसद पाण्डेले सरकारको ध्यानाकर्षण गराएका छन् ।

आफ्नो छोराको हत्या नै भएको हुन सक्ने भन्दै स्वयं सांसद मुक्ता कुमारी यादवले पुनः छानबिनका लागि निवेदन दिए पछि अहिले भारतीय फोनबाट सांसद यादवको मोबाईलमा बारम्बार फोनहरु आउने गरेको र सांसद यादवलाई छोराको विषयमा पुनः छानबिनको लागि निवेदन दिएर गम्भिर गल्ति गरेको तथा यो गल्तिको कुनै क्षमा हुन नसक्ने भन्दै अब सम्पूर्ण परिवार नै सिध्याइदिने धम्कि आउने गरेको पनि सांसद पाण्डेले बैठकलाई जानकारी गराएका छन् ।

त्यस्तै आजको बैठकमा नेपाली कांग्रेसकै सांसद जितेन्द्रनारायण देवले पनि सभाध्यक्षसँग समय मागेर बोल्दै वर्तमान सरकारले अहिले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग मुठभेड र द्वन्द्व चाहिरहेको आरोप लगाएका छन् ।

सांसद देवले नेपाली कांग्रेसले विगतमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र स्थापना तथा गणतान्त्रिक संविधान निर्माणका लागि महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेको स्मरण गराउँदै उनले भने –‘पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति स्व.गिरिजाप्रसाद कोइरालाले नचाहेको भए मुलुकमा अहिले गणतन्त्र आउँदैन थ्यो र पूर्व प्रधानमन्त्री तथा सभापति सुशिल कोइराराले पनि साहसिक निर्णय गरेको भए त्यतिबेला मुलुकमा गणतान्त्रिक संविधान घोषणा हुने अवस्था थिएन ।’

वर्तमान सरकारले अस्ति बुधबारको मन्त्रिपरिषद् बैठक मार्फत देउवा सरकारको पालामा गरिएको मन्त्रिपषिद्का निर्णयहरुलाई उल्ट्याउने निर्णय गर्दै पूर्ववर्ती सरकारले गरेको गत भाद्र १४ गते देखि फागुन २ गते सम्मका सम्पूर्ण नियुक्तीहरुलाई खारेजी गर्ने निर्णय गरेकाले वर्तमान सरकारले प्रमुख प्रतिपक्षीसँग अब मुठभेड र द्वन्द्व चाहिरहेको सांसद देवले बताए ।

सांसद देवले तत्कालीन देउवा सरकारले निर्वाचन आचार संहिता नलागेको बेलामा तथा निर्वाचन आयोगसँग लिखित सहमति लिएर मात्रै विगतमा नियुक्तीहरु गरिएको दाबी गर्दै सो लिखित सहमति अझै पनि मन्त्रिपषिद् कार्यालयमा हेर्न सकिने जानकारी दिंदै देउवा सरकारले विधिको शासन अनुसार नै नियुक्ती गरेको पनि दाबी गरे ।

वर्तमान संविधानको संशोधन र रक्षाका गर्नु आजको आवश्यकता रहेको औंल्याउँदै सांसद देवले प्रश्न गरे–‘नेपाली कांग्रेससँग भिडेर अब के यो सम्भव छ ? कांग्रेससँग लडेर गणतन्त्रको रक्षा हुन्छ ?’

देउवा सरकारको पालामा आफू स्वयं पनि पर्यटनमन्त्रीको हैसियतमा रहेकाले पनि यस विषयमा आफू यस विषयमा जानकार रहेको जिकिर गर्दै आफ्नो कार्यकालमा पूर्ववर्ती सरकारले पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोष, ग्रेटर जनकपुर आदि संस्थामा राजनीतिक नियुक्ती पाएका कोहीकसैलाई पनि नहटाएको पनि सांसद देवले स्पष्ट पारेका छन् ।

सांसद देवले बहुमत र दुई तिहाई दम्भ र घमण्ड नगर्न सरकारलाई चेतावनी दिंदै प्रजातन्त्र र लोकतन्त्रको पक्षपाती नेपाली कांग्रेसँगको द्वन्द्वले उग्रवादी, हिन्दूवादी, पृथकतावादी शक्तिहरुलाई फाईदा पुग्ने भएकाले भोलिका दिनमा फेरि नेताहरुसँगै जेल जानु नपरोस् भन्दै चेतावनी समेत दिए ।

यसैबीच राष्ट्रिय सभाको आजको बैठक १५ मिनेटको लागि स्थगित समेत भएको थियो । विनियोजन विधेयक माथिको छलफल चलिरहँदा बैठकमा नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले मन्त्रालयगत छलफलमा स्वयं सम्बन्धित मन्त्रीहरु नै उपस्थित नभएको भन्दै नियमापत्ति गरे पछि सभाध्यक्ष तिमिल्सिनाले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।

दोस्रो बैठकमा भने प्रधानमन्त्री केपी शर्मा ओली लगायत मन्त्रीहरुको उपस्थिति रहे पछि बैठक सुचारु भएको थियो । राष्ट्रिय सभामा आजबाट विनियोजन विधेयक माथिको मन्त्रालगत छलफल पनि सकिएको छ भने आईतबार र सोमबारको बैठकमा सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनेछन् ।

126 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank