सङ्गमको आयोजनामा बयरघारीमा बर्षियो काव्य वर्षा

सोमवार, बैशाख ३०, २०७६



स्याङ्जा । स्याङ्जा साहित्य सङ्गमले बयरघारी स्थित सम्राट सदनको हलमा शनिबार विशेष रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।

यहाँ कसैको इज्जत कसैले बोले सकिन्छ !

जस्तो कि बेलुनको हावा मुख खोले सकिन्छ !

स-साना रहरले आज तिमी यसरी सकियौ,

सोचेनौँ बोराको चामल बटुकोले सकिन्छ !

समकालीन नेपाली गजल क्षेत्रका आशलाग्दा गजलकार गोर्खाका प्रदीप रोदनको गजलका शेर हुन् यी । निकै वजनदार गजल लेख्ने मुख्य वाचकको भूमिका पाएका गजलकार रोदनले स्याङ्जा साहित्य सङ्गमले शनिबार बयरघारीमा आयोजना गरेको विशेष रचना वाचन कार्यक्रममा जब यी शेर सुनाएर शृङ्खलाको सुरुवात गरे । कार्यक्रममा उपस्थित करीब ४ दर्जन स्रष्टा साहित्यकारहरूमाझ एकाएक साहित्यिक माहोल तात्यो ।

दर्शकबाट वाहवाही र तारिफ पाइरहेका रोदनका सबै गजलका शेरमा जीवनजगतका आम विषयहरू असाध्यै कलात्मक ढङ्गले प्रस्तुत गरिएको पाइन्थ्यो । तरुन्नुम गायन होस् वा वाचन, आफ्नो प्रस्तुतिको शुरुदेखि अन्त्यसम्मै गजलकार रोदन दर्शकको दिल दिमागमा हाबी भइरहे । गजलको मर्म र धर्म अनुरूप गजल लेखिनुपर्नेमा जोड दिदै उनले गजल दिमाग केन्द्रित नभई हृदयकेन्द्रित हुनुपर्ने बताए ।

कार्यक्रममा मुख्य वाचककै भूमिका पाएकी चर्चित नारी स्रष्टा मुक्तककार सबु आरोहीले आफ्ना गहन मुक्तकहरू मार्फत उसैगरी दर्शकको ध्यान तानिरहिन् । प्रेम, शृङ्गार, व्यङ्ग्य र सामाजिक सन्देश बोकेका उनका मुक्तकहरू जति छोटा थिए उत्तिकै धारिला महसुस हुन्थ्यो ।

कहिले उता कहिले यता ढाँटिरहन्छन

छँदै छैन योग्यता ढाँटिरहन्छन

देश बनाउछु भन्नेले नै देशै बेच्न आँटे

कामै छैनन यि नेता ढाँटिरहन्छन !

साहित्यमार्फत समाज देश र परिवेशलाई परिवर्तन गर्दै लैजान सकिन्छ भन्ने विश्वास राख्ने मुक्तककार आरोहीद्वारा कार्यक्रममा प्रस्तुत १० वटै मुक्तकमा गहन सन्देश पाइन्थ्यो ।

सोही अवसरमा अन्य ६ जना सह-वाचकहरूले आफ्ना २/२ ओटा उत्कृष्ट गजल/कविता सुनाए । राष्ट्रिय स्तरका प्रतियोगितामा विजयी भएका युवा कवि प्रज्ज्वल दीप र देशबन्धुका गद्य कविताले देशको वर्तमान बेथितिमाथि व्यङ्ग्य प्रहार गर्दथे । त्यसैगरी नेपाली गजलमा गर्विलो सम्भावना बोकेका युवा गजलकारहरू ध्रुव पन्थी मिराज, कल्पना भुषाल, आकाश थापा र गणेश खनालले आफ्ना बलिया शेरहरूमार्फत दर्शकको मन जितिरहे ।

शृङ्खलाको अन्त्यतिर स्याङ्जामै रही नेपाली साहित्यमा कृयाशील स्रष्टाहरू यमकान्त खनाल, सङ्गीता सारथि, अमृत अर्याल, लक्षमण सापकोटा, पिताम्बर गौतम प्रकट, शम्भु अर्याल लगायतले स्याङ्जा साहित्य सङ्गमले स्याङ्जाको साहित्यमा छोटो समयमै अनुकरणीय साहित्यिक कार्यक्रम गरेर देखाउन सफल भएको भन्दै संस्थाको साहित्यिक छविको लागि सहकार्य गर्ने वचन व्यक्त गर्दै आ-आफ्ना रचना सुनाए ।

सङ्गमका अध्यक्ष विनोद परिवर्तितको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन गजलकार त्रुपकले गरेका थिए ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank