सान्चेज भित्राउने दौडमा युनाइटेड

मङ्लबार, माघ २, २०७४



लण्डन (एजेन्सी) । आर्सनलका स्टार फरवार्ड एकेल्सिस सान्चेजलाई प्रिमियर लिग टोली म्यानचेस्टर युनाइटेडले भित्राउने चर्चा बढिरहेको छ । अग्रस्थानको म्यानचेस्टर सिटी सान्चेजलाई लिन सुरुमा इच्छुक रहे पनि अहिले आफ्नो चासो अन्त्य गरेको छ ।

सिजनको सुरुवातदेखि नै म्यानचेस्टर सिटीले चिलीका फरवार्डलाई आफ्नो टोलीमा समावेश गर्न खोजिरहेको थियो । सान्चेज र सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाको बार्सिलोनादेखि नै पुरानो सम्बध रहेको छ । तर आर्सनलले चाहेको ३५ मिलियन पाउन्डलाई लिएर सिटी असन्तुष्ट भएपछि सिटीले आफ्नो चासो त्यहिं अन्त्य गरेको हो ।

यस मौकाको फाइदा भने अहिले दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले उठाउन खोजिरहेको छ । युनाइटेडले आर्सनललाई २८ मिलियन पाउन्ड र आफ्नो खेलाडि हेन्रिक मिखितार्यनलाई सम्झौताको हिस्सा बनाउन खोजिरहेको छ । तर आर्सनलले भने विङर एन्थोनी मार्सियालप्रति चासो देखाएको विभिन्न स्रोतहरुले खुलाएको छ ।

यसअघि पनि आफ्नो स्टार खेलाडि म्यानचेस्टर युनाइटेडलाई बेचेको आर्सनललाई नमीठो सम्झना रहेको छ । सन् २०१२ मा आर्सनलका स्टार फरवार्ड रोबिन भान पर्सीलाई युनाइटेडले किनेको थियो । भान पर्सीले युनाइटेडमा लगत्तैको सिजनमा प्रिमियर लिग उपाधि पनि जितेका थिए ।

सान्चेजले आर्सनलमा दुई पटक एफए कप जितेका छन् । त्यसबाहेक उनले क्लबमा अन्य उपाधि जित्न नसकेको नै उनको असन्तुष्टिको कारण बताइएको छ । पछिल्लो १२ घन्टामा सिटी र युनाइटेड पछि चेल्सी पनि सान्चेजमा इच्छुक रहेको स्काई स्पोर्ट्सले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments