संसद बैठकको समय अब निश्चित

शनिबार, चैत्र १०, २०७४



काठमाडौं । प्रतिनिधिसभा बैठक अब मध्याहनपछि मात्रै बस्ने भएको छ । प्रतिनिधिसभा सञ्चालन नियमावली बनाउन गठित मस्यौदा समितिले दिउँसो १ बजेदेखि बैठक सुरु गर्ने सहमति जुटाएको हो ।

अघिल्लो नियमावलीमा बैठकको समय तोकिएको थिएन । नयाँ नियमावलीमा तोकिएकै समयमा बैठक सुरु गर्नुपर्ने व्यवस्था गरिँदै छ ।

तोकिएभन्दा दुई घण्टासम्म बैठक सुरु नभए स्वत: स्थगित भएको मानिने प्रस्ताव पनि मस्यौदामा गरिएको छ । दुई घण्टासम्म बैठक नबसे सभामुखले स्थगित गरी अर्को बैठकको सूचना जारी गर्नुपर्ने व्यवस्था राख्न सहमति जुटेको समिति सदस्य प्रेम सुवालले बताए । ‘एक घण्टा बनाउने कि भन्ने छलफल भएको थियो ।

सदस्यहरूबीच दुई घण्टा नै हुनुपर्नेमा सहमति जुट्यो,’ उनले भने । यसले निश्चित समयमा डाकिएको बैठक मध्यरातिसम्म बस्ने वा नबस्ने अन्योलसमेत हट्ने भएको छ ।

मस्यौदा समितिले बैठकमा उठेका प्रश्नको जवाफ विषयगत मन्त्रीले अनिवार्य रूपमा दिनुपर्ने व्यवस्थासमेत गर्ने भएको छ । शून्य समयमा सांसदले उठाएका प्रश्नको निश्चित दिनभित्र जवाफ दिनुपर्ने विषयमा नियमावली मस्यौदामा सहमति जुटेको समिति सभापति कृष्णभक्त पोखरेलले बताए । ‘यो व्यवस्था पहिला पनि थियो,’ उनले भने, ‘अब यसलाई अनिवार्य बनाउँदै छौं ।’ बैठकमा मन्त्रीको उपस्थिति पनि अनिवार्य छ ।

सांसदहरूले सिटमा बस्नुअघि नै बैठक कक्षबाहिर राखिएको पुस्तिका वा विद्युतीय उपकरणमा हाजिर गर्नुपर्नेछ । समितिले नियमावली बनाउन शुक्रबारदेखि छलफल अघि बढाएको हो । पहिलो बैठकले प्रस्तावना, संक्षिप्त नाम र प्रारम्भ, परिभाषा, अधिवेशन आहवान, अन्त्य तथा सदस्यहरूको उपस्थिति, बैठक सञ्चालन र स्थगन, बैठक अध्यक्षता गर्ने व्यक्तिको मनोनयन विषय सर्वसम्मतिले टुंग्याएको छ । कान्तिपुरबाट

61 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank