बजेट अधिवेसन आजबाट सुरु, विधेयकलाई प्राथमिकता

आइतवार, बैशाख २३, २०७५



काठमाडौं । संघिय संसदको बजेट अधिवेसन आजबाट सुरु हुने भएको छ । संघीय संसदको दोस्रो अधिवेशन आजबाट प्रारम्भ हुनेछ । आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक अपरान्ह चार बजे बोलाइएको संसद सचिवालयले जानकारी दिएको छ ।  । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बैठक बस्ने गरी अधिवेशन आह्वान गर्नुभएको हो । पहिलो अधिवेशन सकिएको करिब एक महिनापछि सङ्घीय संसद्को दोस्रो अधिवेशन सुरु हुन लागेको हो ।

आज दुवै संसद् बैठकमा संघीय संसद्को अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सुनाउने र अधिवेशनअघि जारी भएका चारवटा अध्यादेश प्रस्तुत हुने कार्यसूची छ ।

पहिलो बैठकबाट सङ्घीय संसद्का दुवै सदनका नियमावली मस्यौदा समितिको म्याद थप गर्ने सम्भावित कार्यतालिका छ । संसद् अधिवेशन नभएको अवस्थामा सरकारले जारी गरेका विभिन्न चार अध्यादेश पनि पहिलो बैठकमै पेस हुनेछन् ।

तयारीअनुसार राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश राष्ट्रियसभामा पेस हुनेछ । अन्य तीन अध्यादेश आइतबार प्रतिनिधिसभामा पेस हुनेछन् । चिकित्सा शिक्षा अध्यादेश, बेपत्ता पारिएका व्यक्ति र सत्य निरूपण तथा मेलमिलाप आयोगको म्याद थपसम्बन्धी अध्यादेश तथा सङ्घीय संसद्का महासचिव र सचिवको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी अध्यादेश पनि प्रतिनिधिसभामा पेस हुनेछन् ।

संवैधानिक व्यवस्थाअनुसार अधिवेशन प्रारम्भ भएको ६० दिनभित्र अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पारित भइसक्नुपर्ने प्रावधान छ । अधिवेशन प्रारम्भ भएसँगै नियमावली मस्यौदाको प्रतिवेदन पारित गरी समिति गठनको प्रक्रिया अगाडि बढ्नेछ ।

धिवेशन सरकारको नीति तथा कार्यक्रम, बजेट र त्यसपूर्वका छलफलमा केन्द्रित हुने भए पनि अबको पाँच महिनाभित्र सबै कानून निर्माण गरिसक्नुपर्ने संवैधानिक वाध्यता भएकोले सरकारले त्यसमा जोड दिन लागेको कानूनमन्त्रीले बताए। असोज २ गतेभित्र ४१ विषयका १ सय ५० जति नयाँ कानून बनाउन बाँकी छ।

यस्तै बैठकमा आ–आफ्नो सभासँग सम्बन्धित नियमावली मस्यौदा समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ ।  सांसदहरू फौजदारी अपराधमा संलग्न भई अदालतले पुर्पक्षका लागि थुनामा पठाउँदा पनि निलम्बन नहुने व्यवस्थासहितको नियमावली आइतबार बस्ने संसद् बैठकमा पेस हुँदै छ । दुवै सदनले पारित गरेपछि नियमावली कार्यान्वयनमा आउनेछ ।

वैशाख २६ देखि २८ गतेसम्म प्रि–बजेट विनियोजन विधेयकमा छलफल र जेठको पहिलो हप्ता राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रारम्भिक कार्यसूची संसद् सचिवालयले तय गरेको छ । जेठ १५ गते संसद्मा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

86 पटक पढिएको

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank