यस वर्षको संविधान दिवस राष्ट्रिय झण्डामय

आज संविधान दिवस मनाइँदै

शुक्रबार, अशोज ३, २०७६



काठमाडौं । नेपालको संविधान जारी भएको आज चार वर्ष पुरा भएको छ। आज सरकारले संविधान दिवसका अवसरमा सार्वजनिक विदा दिएको छ भने संविधान दिवस भव्य रुपमा मनाउने भएको छ । सरकारले संविधान जारी भएकै दिनलाई राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको छ।

‘संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔं, घरघरमा राष्ट्रिय झण्डा फहराऔं र दिपावली गरौं’ भन्ने मूल नारा तय गरेको सरकारले यस वर्षको दिवसलाई विशेष महत्व दिएको छ । ‘नेपालको संविधान, २०७२’ जारी भएको दिनको सम्झनामा हरेक वर्ष असोज ३ गते मनाइँदै आएको संविधान दिवसको दिनलाई नै सरकारले राष्ट्रिय दिवसको रुपमासमेत मनाउने निर्णय गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले आज बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्दैछ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुख, मन्त्रिहरु, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारीलगायतको उपस्थिति रहने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

त्यस्तै सरकारले संविधान दिवस धुमधामसँग मनाउन आमनागरिकलाई आह्वान गरेको छ । आज घरघरमा राष्ट्रिय झण्डा फहराउन पनि सरकारले आग्रह गरेको छ ।

काठमाडौँ महानगरपालिकाले संविधान दिवसका दिन टुँडिखेलमा आउने नागरिकको लागि बस्ने कुर्सी, पिउने पानी, शौचालय, आकस्मिक उपचार सेवालगायतका सेवा उपलब्ध गराउने भएको छ । कार्यक्रमस्थलको अन्य व्यवस्थापनको काम र मञ्च सजावटको काम पनि कामपाले गरेको छ ।

प्रत्येक वडा कार्यालयबाट जनप्रतिनिधि कर्मचारी स्थानीयवासीलगायतको सहभागितामा सांस्कृतिक झाँकीसहितको र्‍याली कार्यक्रमस्थल सैनिक मञ्चसम्ममा ल्याउने तयारी गरेको पनि कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए ।

सहभागीलाई राष्ट्रिय झण्डासहित र्‍यालीमा सहभागी गराउन हरेक वडा कार्यालयलाई १०० थान राष्ट्रिय झण्डा उपलब्ध गराउनेलगायतका काम पनि कामपाले गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नगरवासीलाई आफ्नो घरमा राष्ट्रिय झण्डा फहर्‍याउन पनि आग्रह गरेको छ ।

संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउन तथा दिवसको उल्लास नागरिकस्तरमा पुर्‍याउन राष्ट्रिय झण्डाको उपयोगलाई प्रवर्द्धन गरिने भएको छ ।

कहाँ कस्तो झण्डा ?

सरकारले राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोगसम्बन्धी कार्यविधि, २०६९ परिवर्तन गरी राष्ट्रिय झण्डालाई निजी घरमा पनि राख्न पाइने गरी निर्देशिका समेत परिवर्तन गरेको छ ।


संवैधानिक निकाय तथा सरकारी कार्यालयहरुले प्रयोग गर्ने झण्डाको आकार ८X६ फिटको हुनेछ ।

नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्वमा रहेका संघ वा संस्थाले प्रयोग गर्ने राष्ट्रिय झण्डाको आकार ६X४ फिट हुनेछ ।

संवैधानिक निकाय तथा सरकारी कार्यालय प्रमुखको कार्यकक्ष, गैर सरकारी संघसंस्था तथा नेपाली नागरिकले व्यक्तिगत रुपमा प्रयोग गर्ने राष्ट्रिय झण्डाको आकार ४X३ फिटको हुनेछ ।

संवैधानिक निकाय तथा सरकारी कार्यालय प्रमुखको टेबुलमा र विशिष्ट व्यक्तिहरुले प्रयोग गर्ने सवारी साधनमा राखिने राष्ट्रिय झण्डाको आकार ३०X२० सेन्टिमिटरको हुनेछ ।

नेपाली नागरिकले राष्ट्रिय उत्सव र महोत्सवहरुमा ३०X२० सेन्टिमिटर आकारको झण्डा हातहातमा लिएर हिँड्न सक्ने गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा प्रयोग गर्न सक्ने गरी राष्ट्रिय झण्डा अंकित टी–शर्टको समेत नमूना सार्वजनिक गरेको छ । जसअनुसार सेतो टी–शर्टमा छातीमा पर्ने गरी राष्ट्रिय झण्डा राखेर लगाउन पाइने छ ।

दिवसको अवसरमा असोज २ देखि ४ गतेसम्म विभिन्न कार्यक्रमसहित दिपावली गरिने र मुख्य दिन असोज ३ गते काठमाण्डौको सैनिकमञ्च टुँडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा विशेष समारोहको आयोजना गरिने मुल समारोह समितिले जानकारी दिएको छ ।

नेपाली झण्डाको महत्व

राष्ट्रिय झण्डा हरेक राष्ट्रको गौरव, सम्मान तथा शान्ति र क्रान्तिको प्रतीक मानिन्छ । राष्ट्रिय महत्वलाई झल्काउँदै सबै जातजाति र समुदायबीच एकता र सद्भाव कायम गर्नमा झण्डाको भूमिका अतुलनीय हुन्छ ।

दुई त्रिकोणमध्ये माथि चन्द्र र तल सूर्य अङ्कित सिम्रिक रङको नेपालको राष्ट्रिय झण्डा विश्वकै पृथक र आकर्षकमध्ये मानिन्छ । चन्द्रले शीतल तथा सूर्यले तेज र अटलताको सङ्केत गर्छ ।

नेपालको झण्डामा सिम्रिक रङ छ, यो क्रान्तिको प्रतीक पनि हो र किनारामा शान्तिको प्रतीकका रूपमा गाढा नीलो रङ छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata