देउवाले असहमति जनाए यसरी सिफारिस हुनेछ नयाँ प्रधानन्यायाधीशको नाम

मङ्लबार, साउन २२, २०७५



काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम संसदीय सुनुवाइ विशेष समितिबाट अस्वीकृत भएपछि संवैधानिक परिषद्ले नयाँ नाम सिफारिस गर्नुपर्नेछ । न्यायपरिषद्ले जोशीको नामसँगै सर्वोच्चका न्यायाधीश ओमप्रकाश मिश्र र चोलेन्द्रशमशेर जबराको नाम पनि पठाएकाले संवैधानिक परिषद्ले अब मिश्र र जबरामध्ये एकजनालाई प्रधानन्यायाधीशमा सिफारिस गर्नेछ ।

संविधानको धारा २८४ अनुसार संवैधानिक परिषदमा ६ सदस्य रहन्छन् । प्रधानमन्त्री अध्यक्ष रहने परिषदमा प्रधानन्यायाधीश, विपक्षी दलका नेता, सभामुख, उपसभामुख र राष्ट्रिय सभाको अध्यक्ष रहने व्यवस्था छ । तर, प्रधानन्यायाधीश पद रिक्त रहेको बखत कानुनमन्त्री परिषद् सदस्यका रूपमा सहभागी हुनेछन् । अव बस्ने परिषद बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवाबाहेक पाँचैजना नेकपाका नेता हुन् ।

जोशीको नाम अस्वीकृतिलाई लिएर प्रमुख विपक्षी दल कांग्रेसले असहमति जनाउँदै आएकाले देउवाले असहमति राख्न सक्छन् । त्यस्तो अवस्थामा परिषदले पहिलो बैठकबाटै निर्णय लिन सक्दैन । तीन वटा बैठक बसेर मात्र बहुमतको आधारमा परिषदले सिफारिस गर्न सक्छ । एउटा बैठकमा सर्वसम्मति हुन नसके अर्को बैठक बोलाउने अधिकार परिषद्का अध्यक्षलाई छ ।

यदि देउवाले सहमति जनाए वा उपस्थित भएनन् भने पहिलो बैठकबाटै निर्णय लिने बाटो खुल्नेछ । किनकी प्रमुख प्रतिपक्षी दलका नेता देउवा अनुपस्थित भएमा पनि परिषद्को गणपूरक संख्या पुग्नेछ । त्यस्तो अवस्थामा सर्वसम्मतिका आधारमा निर्णय हुन सक्नेछ ।

यस्तो छ प्रधानन्यायाधीश हुने योग्यता
प्रधानन्यायाधीश हुन संविधानले सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा ३ वर्ष काम गरेको हुनुपर्ने योग्यता तोकेको छ । संवैधानिक परिषद् ऐनको दफा ५ मा ‘परिषद्ले कुनै व्यक्तिलाई संवैधानिक निकायको कुनै पदाधिकारीको पदको नियुक्तिका लागि सिफारिस गर्दा त्यस्तो पदमा नियुक्त हुन संविधान तथा प्रचलित कानुनमा उल्लेख भएको योग्यता र उपयुक्तताको कारण र आधारसमेत स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ,’ भनिएको छ । सोही दफाको उपदफा २ मा कुनै व्यक्तिलाई नियुक्तिका लागि सिफारिस गर्दा निजको सामाजिक प्रतिष्ठा, उच्च नैतिक चरित्र, इमानदारिता, निजप्रतिको जनभावना तथा निजले पहिले गरेको सेवा र पेसागत अनुभवसमेतलाई विचार गर्नुपर्ने भनिएको छ ।

1350 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank