समाजवादीले सरकार नछाड्ने

आइतवार, मंसिर ८, २०७६



काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेतृत्व गरेको मन्त्रालय नै आफू नभएको बेलामा हेरफेर गरिएको भन्दै सरकारसँग असन्तुष्ट रहेको समाजवादी पार्टीले सरकार तत्काल नछाड्ने जनाएको छ । समाजवादी पार्टीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

यादवले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । तर मन्त्रिपरिषद् पुनर्गठन हुँदा उनलाई कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।यादव त्यसबेला भारतमा थिए ।

पार्टीले  उनी फिर्ता भएपछि सरकार छाड्ने बताएको भए पनि पदाधिकारी बैठकले त्यस्तो निर्णय भने गरेको छैन । स्रोतका अनुसार अहिले नै सरकार छाड्दा गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउन सक्ने भएकाले सरकार नछाड्ने निर्णय भएको हो । पदाधिकारी बैठकले प्रधानमन्त्रीले मन्त्रिपरिषद् हेरफेर गर्दा सरकारको राजनीतिक मूल्य, मान्यता र संस्कृति प्रतिकूल भएको भन्दै पार्टीले असहमति प्रकट  गरेको छ ।

सरकार र नेकपासँग वार्ता गर्न सत्तारुढ समाजवादी पार्टीले वार्ता समिति गठन गरेको छ । वार्ता समितिमा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोककुमार राई र सह–अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ रहेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata