समाजवादी पार्टीको संघीय परिषद् बैठक आजदेखि

बिहिबार, कार्तिक २८, २०७६



काठमाडौं । समाजवादी पार्टीको संघीय परिषद् बैठक आज  देखि काठमाडौंमा शुरु हुने भएको छ । बैठकले सरकार छाड्ने/नछाड्ने भन्नेबारे ठोस निर्णय गर्ने बताइएको छ । त्यस्तै राजपासँगको पार्टी एकताबारे पनि परिषद बैठकले निर्णय गर्नेछ ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टीबीच एकता भएपछि पहिलो पटक परिषद् बैठक बस्न लागेको हो । बैठकमा एक हजार प्रतिनिधि सहभागी हुने जनाइएको छ ।पार्टीभित्रबाटै सरकार छाड्नुपर्ने दवाव एकातिर छ भने राजपाले पनि पार्टी एकताका लागि सरकार छाड्नुपर्ने शर्त राखेको छ ।

बैठकपछि पार्टीले सरकार छाड्ने र संविधान संशोधनसहितका राजनीतिक मुद्दा लिएर जनताबीच जाने दाबी नेताहरूले गरेका छन् । सरकारबाट बाहिरिएपछि राजपासँग एकीकरणको प्रयासले मूर्त रूप लिने उनीहरूको दाबी छ ।

बाबुराम भट्टराईको नेतृत्वमा रहेको परिषद् पार्टी वैचारिक मार्गनिर्देशन गर्ने सर्वोच्च संस्था हो । वरिष्ठ नेता अशोक राईका अनुसार यसले पार्टीको सिद्धान्त, नीति, घोषणापत्र, विधान र नियमावली बनाउने काम गर्छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा समाजवादी पार्टी सरकारमा छ । तर परिषदका अध्यक्ष भट्टराईसहितका अधिकांश नेताहरु भने सरकार छाड्नुपर्ने अडानमा छन् ।बैठकमा भट्टराईले समग्र राजनीतिक परिस्थिति र पार्टीको यसअघि घोषित सिद्धान्तलाई थप व्याख्यासहित राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata