चैत महिनाको पूरै तलब र वैशाख महिनाको आधा अहिले र आधा पछि दिनेगरी तलब वितरण गर्नुपर्ने

शुक्रबार, जेष्ठ ९, २०७७



बन्दाबन्दीको समयमा सरकारले चैत महिनाको पूरै तलब र वैशाख महिनाको आधा अहिले र आधा पछि दिनेगरी तलब वितरण गर्नुपर्ने निर्णय गरेको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोभिड १९ का कारण उद्योग कलकारखाना सबै बन्द हुँदा श्रमिक कामविहीन भएकाले रोजगारदाता र श्रमिक दुवै पक्षको हितमा यस्तो निर्णय गरिएको जनाएको छ ।

उद्योगी व्यवसायीले लकडाउनका कारण उद्योग व्यवसाय बन्द भएको अवस्थामा श्रमिकलाई तलब दिन नसकिने बताउँदै आएका छन् । ठूलो संख्यालाई रोजगारी दिएको होटल एसोसिएसन नेपाल (हान) ले त होटलमा काम गर्ने श्रमिकलाई छ महिनासम्म १२ प्रतिशत मात्रै तलब दिने निर्णय गरिसकेको छ । कतिले श्रमिक कटौतीको प्रस्ताव गर्दा हालको असल श्रम सम्बन्धमा दरार उत्पन्न हुने संकेत देखिएको छ ।

उद्योग व्यवसाय नै बन्द भएका कारण श्रमिकलाई पूरै तलब खुवाउन नसक्ने अवस्था आएकाले श्रमिक कटौती गर्नुपर्ने अवस्था आएको रोजगारदाताले बताइरहेका छन् । श्रमिकको हक अधिकारको क्षेत्रमा काम गर्ने ट्रेड युनियनकर्मीहरूले भने श्रमिकले खाइपाई आएको तलब तथा अन्य सुविधा कटौती गर्न नहुने अडानमा छन् ।

श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले देशमा लकडाउन सुरू (चैत ११ गते) देखि नै अत्यावश्यकबाहेकका अन्य उद्योग बन्द भएको हुँदा बन्द रहेका उद्योगमा काम गर्नेलाई चैत महिनाको पूरै र वैशाख महिनाको अहिले ५० प्रतिशत तलब दिनुपर्ने निर्णय गरेको जानकारी दिए । उनले भने, ‘रोजगारदाताले श्रमिकलाई वैशाख महिनाको तलब अहिले आधा मात्रै दिए पनि उद्योग खुलेपछि भने बाँकी ५० प्रतिशत दिनुपर्ने हुन्छ ।’

उद्योगी र श्रमिकका नेता पनि यस विषयमा सकारात्मक भएकाले सबै पक्षसँग छलफल गरेर उपयुक्त निर्णय निकाल्न पहल भइरहेको पनि प्रवक्ता घिमिरेले जानकारी दिए ।

प्रवक्ता घिमिरेले कोभिड १९ ले निम्त्याएको समस्या समाधान गर्न एक्लो सरकारबाट मात्रै सम्भव नहुने भएकाले निजी क्षेत्र र ट्रेड युनियनले सरकारलाई साथ दिनुपर्ने आवश्यकता औँल्याए । उनका अनुसार रोजगारीमा देखिएको समस्या समाधान गर्न सरकारले आगामी वर्षको बजेटमार्फत उद्योग प्रतिष्ठानका लागि राहतका कार्यक्रम ल्याउने तयारी भइरहेको छ । यसमा रोजगारदाताले सकेसम्म पहलकदमी लिने र असङ्गठित क्षेत्रका श्रमिकका लागि स्थानीय तहसँग समन्वयमा राहत वितरण गर्ने तयारी भइरहेको पनि प्रवक्ता घिमिरेले जानकारी दिए ।

संयुक्त टे«ड युनियन समन्वय केन्द्रका अध्यक्ष पुष्कर आचार्यले पछिल्लोपटक श्रम र रोजगारको क्षेत्रमा देखिएको परिस्थितिको समाधानका लागि सरकार, निजी क्षेत्र र श्रमिक सङगठनबीच नियमित छलफल भइरहेको जानकारी दिए । उनले श्रमिकको तलब कटौतीमा टे«ड युनियन सहमत हुन नसक्ने भन्दै श्रमिक भोकभोकै परिरहेको अस्थामा पूरै तलबको व्यवस्था गर्न सरकारसँग माग गरे । सरकारले लकडाउनलाई सार्वजनिक बिदा घोषणा गरेर तलब दिनुपर्ने भन्ने निर्णयलाई अक्षरशः कार्यान्वयन गरिनुपर्नेमा पनि अध्यक्ष आचार्यले जोड दिए ।

सरकारले चैत महिनाको पूरै तलब दिन भनेर उद्योगलाई निर्देशन दिए पनि श्रमिकले चैत महिनाको ३० प्रतिशत मात्रै तलब पाएको उनको दाबी छ । अध्यक्ष आचार्यका अनुसार सबै क्षेत्रमा गरेर देशभर हाल ४० लाख श्रमिक रहेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ रोजगारदाता परिषद्का सभापति चन्दप्रसाद ढकालले सबै उद्योगधन्दा गएको चैतदेखि नै बन्द भएकाले हाल श्रमिकलाई ५० प्रतिशत तलब दिनसक्ने अवस्था नरहेको बताए ।

उनले अहिलेको यो जटिल परिस्थितिमा उद्योग बचाउन सरकार र श्रमिक दुवै सकारात्मक हुनुपर्ने भएकाले यसमा सबैको सहयोग रहनुुपर्ने आवश्यकता औँल्याए । उनले उद्योग नै रहेनन् भने देशको अर्थतन्त्र तहसनहस हुने, श्रमिकको रोजगारी गुम्ने र श्रमिक भएनन् भने उद्योग सञ्चालन गर्न नसकिने भएकाले यो अवस्थामा तीन पक्षले नै केही प्रतिशत त्याग गरेर अहिलेको समस्या समाधान गरिनुपर्ने बताए ।  गोरखापत्र दैनिक

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments