साकेला पर्व शुरु

सोमवार, बैशाख १७, २०७५



खोटाङ । किरात मुदायको महान् पर्व साकेला उभौली आजदेखि शुरू भएको छ । सोमबार दिक्तेलस्थित किरात राई यायोख्खाको कार्यालय भवन अगाडिको प्राङ्गणमा विधिवत् रुपले साकेला सिली शुरु गरेपछि धुमधामका साथ मनाउने गरिएको छ ।

‘खेतीपाती सप्रियोस्, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित पितृ तथा भूमिको पूजाआजा गरी महिनादिनसम्म उभौली पर्व मनाउने प्रचलन छ । साकेला पर्वको अवसरमा परम्परागत वेशभूषामा सजिएका दाजुभाइ, दिदीबहिनी, बुबाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला नाच्ने गरिन्छ ।

साकेला थानमा भूमिको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला सिली नाचिन्छ । अहिले किरात बसोबास रहेको प्रत्येक गाउँ युवायुवती, केटाकेटी, बूढापाकाको जमघट तथा साकेला गीत र नाचले गुञ्जयमान बनेको छ ।

साकेला पर्व अन्नबाली छर्ने बेला अर्थात् वैशाख पूर्णिमा र उठाउने बेला मंसिर पूर्णिमामा दुई पटक मनाइन्छ । साकेला पर्वको अवसर पारेर आज मझुवागढीमा साकेला सिली प्रदर्शनीको आयोजना गरिएको किरात राई यायोख्खा खोटाङका अध्यक्ष अञ्जना राईले जानकारी दिईन ।

मझुवागढीसँगै जिल्लाको ऐतिहासिकस्थल तुवाचुङ जायाजुङ, रुपाकोट, जन्तेढुङ्गा, छोङ्खालगायतका ठाउँमा साकेला सिली नाचिन्छ । महिनाभर मनाइने साकेला पर्वको अवसर पारेर कतिपय गाउँमा बृहत् सिली प्रदर्शनीसमेत गरिन्छ ।

साकेला पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङलगायत किरात समुदायको बसोबास रहेको ठाउँमा धुमधामका साथ मनाउने गरिएको छ । साकेला किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य पर्व मान्ने गरेका छन् ।

साकेला किराती जातिको मात्र चाड मानिँदै आइए पनि पछिल्लो समय जातीय सद्भाव तथा सांस्कृतिक सहअस्तित्व कायम राख्दै पछिल्लो समय सबै जातजाति उभौली चाडको खुशियाली साट्दै शुभकामना आदानप्रदान गर्न थालेका छन् । आफन्त, साथीभाइ, नरनाता, छरछिमेकबीच पारिवारिक तथा व्यक्ति–व्यक्तिबीच शुभकामना आदानप्रदान गर्ने क्रम बढेको हो ।

47 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank