सार्कको औचित्य माथि प्रश्न, ३ दशकको यात्रामा सून्य काम

बिहिबार, मंसिर २३, २०७३



सार्क सन् १९८५ डिसेम्बर ८ मा दक्षिण एसियाली राष्ट्रहरुमा विद्यमान गरिवीको अन्त्य गर्ने, समान विकास, यातायात र ब्यापार बिस्तारसँगै हाते–मालो गर्दै अघि बढ्ने बाचाका साथ सुरूआत भएको हो । तर तीन दशकको यात्रा पार गर्दा सार्कले लिएको उद्देश्य खोज्दा भेटिने अवस्था छैन । यसक्षेत्रका जनताले समेत सार्कले यस्तो विषय बोल्न नसक्ने हो भने यसको कुनै औचित्य नरहेको भन्दै सार्कलाई किन अघि बढाउने भन्न थालेका छन् ।

सार्कको चार्टरलाई मात्र ध्यान दिएर बस्ने हो भने यो संस्था पूर्ण रुपमा असान्दर्भिक देखिएको छ । विश्वका करिव सयको हाराहारीमा रहेको यस्तै प्रकारको क्षेत्रीय संगठन हेर्ने हो भने पनि सार्क एक असफल संस्थाको रुपमा चित्रण हुँदैछ । जुन उद्देश्यका निम्ति स्थापित भएको हो, त्यसमा पूर्ण रुपले चुकेको छ ।

सन् १९८५ मा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटान रहेकामा ९ वर्षअघि अफगानिस्तान थपिएको हो । यसमा आठ सदस्यसँंगै नौ पर्यवेक्षकमा चीन, अमेरिका, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, मौरिसस, इरान, म्यानमार र युरोपेली महासंघ (इयू) छन् । समान सार्वभौमिकता, अखण्डता, राष्ट्रिय स्वतन्त्रता, आन्तरिक मामिला, दखल नदिने प्रतिवद्धता सबैप्रकारको समस्याको शान्तिपूर्ण समाधानमा विश्वास संयुक्त राष्ट्रसंघको बडापत्रमा आधारित बुँदामा अडेर सार्क स्थापना भएको हो ।

तर, सार्कले यसलाई आत्मसात गर्न सकेको छैन् । ठूला र शक्तिशाली मुलुकको चेपुवामा साना मुलुक पर्ने गरेको छ यसका छायामा सार्क पनि छ ।

हरेक वर्ष आजकै दिन (डिसेम्बर ८) र यसको शिखर सम्मेलनका बखत मात्र सार्कको नाम लिने गरिन्छ । अर्थात, अन्य बेला गतिविधि शुन्यप्रायस छ । सार्क स्थापनामा सक्रिय भूमिका निर्वाह गरेको नेपाल अध्यक्ष छ । सार्कको मुख्यालय पनि काठमाडौंमा छ । संयोगले सार्क महासचिव पनि नेपालकै भएका बखत ‘उपयोगी’ हुनुपथ्र्याे, तर व्यवहारमा त्यसो हुन सकेन । सम्मेलनका बेलाका प्रतिबद्धता कार्यान्वयन नहुने, केवल वाचाका लागि वाचा गर्नेे उद्देश्यसहित घोषणापत्र जारी गर्ने थलोमा सीमित हुँदैछ ।

पूर्वपरराष्ट्र मन्त्री भेखबहादुर थापाले सार्कका वर्तमान औचित्य पुष्टि हुन गाह्रो रहेको बताउछन् ।डा. अर्थ्विद विश्वम्भर प्याकुरेल सार्क दुई भागमा बाडिएको बताउँछन् । उनले भने,‘अहिले सार्क दुई भागमा बाँडिएको छ, एउटा सार्क २ छ जहाँ भारत र पाकिस्तान मात्रै छन, अर्को सार्क ६ छ त्यसमा भारत र पाकिस्तानवाहेकका राष्ट्रहरु छन् ।’ पराष्ट्रविद डा. निश्चलनाथ पाण्डेले सार्क अहिले मरणासन्न र चीर निद्रामा रहेको टिप्पणी गरे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments