रुकुमको घटनाको ढाकछेप र दोषी उम्कन सक्ने अवस्था सरकारबाट हुँदैन- गृहमन्त्री

बुधबार, जेष्ठ २१, २०७७



काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले रुकुम पश्चिम घटनामा संलगनलाई कडाभन्दा कडा कारवाही गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् । सङ्घीय संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा उनले सरकार कानुनको कार्यान्वयन गर्न पूर्ण प्रतिबद्ध रहेको बताएका हुन् ।

मन्त्री थापाले सो घटनाको तीन तहबाट अनुसन्धान चलिरहेको बताए । ‘सङ्घ, प्रदेश र स्थानीय तहबाट छानबिन भइरहेको छ’, उनले भने, ‘नेपाल प्रहरीका साथै गृह मन्त्रालयको सहसचिवको संयोजकत्वमा पनि अनुसन्धान भइरहेको छ ।’ छानबिन अन्तिम चरणमा पुगेको कुरा उनले अझ प्रष्टता देखाए ।

गृहमन्त्री थापाले छानबिन समितिको प्रतिवेदनपछि दोषीमाथि कडा कारवाही हुने र पीडितलाई राज्यका तर्फबाट उचित क्षतिपूर्ति दिइने बताए । ‘घटनाको ढाकछेप र दोषी उम्कन सक्ने अवस्था सरकारबाट हुँदैन’, उनले भने ।

‘उक्त समयमा प्रहरी टुलुटुलु हेरेर बसेको होइन, कमजोरी गर्ने प्रहरीमाथि पनि कारबाही हुन्छ, छानविन समितिले अध्ययन गर्छ’, गृहमन्त्री थापाले भने । कानुनको कार्यान्वयन गर्न थप कडाइ गर्ने उनको भनाइ थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments