लगातार सात खेलमा रोनाल्डोको गोल, युभेन्टस विजयी

सोमवार, माघ ६, २०७६



क्रिष्टियानो रोनाल्डोले इटालियन सिरी एमा लगातार गोल गर्ने क्रम जारी राखेका छन् । उनले पछिल्ला सात खेलमा गोल गरेका छन् ।

लिग अन्तर्गत गएराति भएको खेलमा युभेन्टसले पार्मालाई २–१ ले पराजित गर्दा दुवै गोल रोनाल्डोले गरे ।

घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा एक गोल गरेका रोनाल्डोले दोस्रो हाफमा व्यक्तिगत दोस्रो गोल गरेका हुन् ।

रोनाल्डोले ४३ र ५८ औं मिनेटमा गोल गरेका हुन् । यस्तै पार्माका लागि आन्द्रेआस कोर्नेइउसले ५५ औं मिनेटमा एक गोल फर्काए ।

रोनाल्डो सन् २००५ यता युभेन्टसका लागि सिरी ए मा लगातार सात खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । सन् २००५ मा डेविड ट्रेजेगुएतले लगातार ९ खेलमा गोल गरेका थिए ।

जितपछि शीर्ष स्थानको युभेन्टसको २० खेलबाट ५१ अंक भएको छ । उ दोस्रो स्थानको इन्टर मिलान भन्दा चार अंकले अघि छ । आइतबार राति नै भएको खेलमा इन्टर मिलान लिचेसँग १–१ को बराबरीमा रोकियो ।

गएरातिका अन्य खेलमा एसी मिलानले युडिनेसलाई ३–२ तथा रोमाले जेनोआलाई ३–१ ले पराजित गरेको छ । यस्तै बोलोग्ना र हेलास भेरोनाले १–१ तथा काग्लिएरी र ब्रेसियाले २–२ को बराबरी खेलेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments