‘रोल्पा गुराँस साहित्य मेला २०७६’ र तीन कविता

बुधबार, बैशाख १८, २०७६



काठमाडौं ।  बैशाख १५, १६ र १७ गते रोल्पा नगरपालिकको आयोजनामा ‘रोल्पा गुराँस साहित्य मेला २०७६’ सम्पन्न भएको छ । ३ दिने उक्त मेलामा पहिलो दिन  ‘रचना वहार’, रोल्पाको विद्रोह र साहित्यका बारेमा बहस, दोश्रो राष्ट्रिय कविता प्रतियोगिता, ‘साहित्यमा प्रगतिशील चेत’ विषयक बहस, ‘औंसीमा जुनका गीत’ साँगीतिक सांझ आदि कार्यक्रम संचालन भए ।

दोस्रो दिन ‘कविताको खलियो’ समकालीन कविताको लेखनका बारेमा बहस, रोल्पाको रैथाने संस्कृतिका बारेमा बहस, ‘वाह ओखरेनी’ गजल साँझ कार्यक्रमहरु सम्पन्न भए । त्यस्तै  ‘गुराँस कविता वाचन’, ‘परिवर्तनका लागि सिर्जना जस्ता कार्यक्रम तेस्रो दिन सम्पन्न भयो ।

दोश्रो राष्ट्रिय कविता प्रतियोगिताका लागि प्राप्त भएको १ सय ८८ कविताहरुमध्ये  १० उत्कृष्ट कविताहरु छनौट गरी प्रतियोगितामा समावेश गराइएको थियो ।

छनोटमा परेका कविहरु:

१. अस्मिता श्रेष्ठ (सिन्धुपाल्चोक)
२. ओजस्वी आचार्य (पर्वत)
३.  के. आर. ढकाल (तनहुँ)
४.  गीता पुडासैनी (नुवाकोट)
५. तारानाथ पराजुली (पर्वत)
६. पवन ढुंगाना (सिन्धुपाल्चोक)
७. मानुषी रेग्मी (दाङ )
८. मोहन सङ्ग्राम (खोटाङ)
९. मोहित जोशी (कैलाली)
१०. सुन्दर शिरिष (सिन्धुपाल्चोक)

खोटाङका कवि मोहन पोख्रेल ‘संग्राम’ प्रथम भए । उनले ‘झोलामा देश’ शीर्षको कविता सुनाएका थिए । दोस्रो र तेस्रोमा क्रमशः धनगढीका मोहित जोशी र सिन्धुपाल्चोकका पवन ढुंगाना भए । जोशीले ‘औलाको सहर’ र ढुंगानाले ‘म नै सर्वहारा’ शीर्षकका कविता सुनाए । नुवाकोटकी गीता पुडासैनीको ‘म रोल्पा’ र सिन्धुपाल्चोकका सुन्दर शिरीषको ‘अक्षरको समाजशास्त्र’ कविताले सान्त्वना स्थान प्राप्त गरे ।

प्रथम, द्वितीय, तृतीय र सान्त्वना कविले क्रमशः ४० हजार रुपैयाँ, ३० हजार रुपैयाँ, २० हजार रुपैयाँ र १० हजार रुपैयाँ पाए ।

‘पर्यटनका लागि साहित्य’ सन्देशसहित आयोजित मेलामा कवि विप्लव प्रतीक, मोमिला जोशी, स्मेह सायमी, देवी नेपाल, अभय श्रेष्ठ, रावत, बाबु त्रिपाठी, राज शाह, प्रज्ज्वल अधिकारी लगायतले पनि आफ्ना कविता प्रस्तुत गरेका थिए ।

प्रथम कविता-  ‘झोलामा देश’ (मोहन सङ्ग्राम)

‘झोलामा देश’

अत्यन्तै सजग भएर

बर्षाैँदेखी

हिडिरहेको छ एउटा मान्छे

झोलामा देश बोकेर

उसलाई डर छ

अलिकती हल्लियो भने

रारा छचल्किन्छ

अलिकती निहुरियो भने

सरगरमाथाले बिझाउँछ

दाहिने गोजीमा राखेको टिस्टा कहाँ हरायो?

देब्रे गोजीमा राखेको काँगडा कहाँ खस्यो ?

उ हरेक पटक फरक फरक जवाफ दिन्छ

घडीले दिने जवाफजस्तो

झोलाबाट निकालेर एक खिल्ली युवाहरु

देशको नक्साजस्तै कागजमा बेर्छ

हात तन्काएर खाडीको आगोमा झोस्छ

हात खुम्च्याएर आँखा चिम्लेर चुस्छ

धुवाँ आफु लिन्छ खरानी झोलामा राख्छ

कहिलेकाँही

जब उसलाई थकाइ लाग्छ

झोलालाई अगाडी राखेर

बिश्राम लिन्छ मुलायम चौरमा

र झोलामा भगवानको चारो हालिदिन्छ

झोलाभित्र झगडा हुन्छ

आ–आफ्नो भगवानकोलागी

जव झोलाभित्र

भगवानको रुची घट्छ

उसले एकमुठ्ठी पुर्खाको हड्डी बटुल्छ

र झोलाभित्र हुर्याउछ

फेरी घम्साघम्सी हुन्छ झोलाभित्र

आ–आफ्ना पुर्खाहरुको लागी

बेला बेला झोलाभित्र

नाकको उचाई

आँखाको आयतन

जिब्रोको गती

यस्तै विषयहरुमा झगडा हुन्छ

यो सब देखेर

उसलाई आनन्द महशुस हुन्छ

जस्तो कि

भर्खरै ठुलो युद्ध जितेर

उ पिपलको फेदमुनी स्वास लिईरहेको छ

जस्तो कि

बर्षौँपछि भेटिएकी

आफ्नी प्रेमिकाको काखमा

उ निदाएको छ

झोलाभित्र गुञ्जिने बन्दुकको ध्वनी

उसलाई गितजस्तो लाग्छ

झोला भित्र खेलिने रगतको होली

नाटक सम्झेर हेर्छ

झोलाभित्र सारंगी बज्यो भने

उसको कान पाक्छ

झोलाभित्र सेतो परेवा देख्यो भने

उसको सातो जान्छ

कुकुरलाई हड्डी देखाएझैँ

कुनै सुन्दर बस्तु देखाउँछ बाहिरैबाट

झोलाभित्र एकछिन ताली बज्छ

त्यो ध्वनीमा उ नाच्न थाल्छ

कहिले झोलाभित्र सानो प्वाल पारिदिन्छ

झोलाको एउटा कुना उज्यालो हुन्छ

अँध्यारोमा परेकाहरुले आन्दोलन गर्छन्

त्यो संगीतमा उ निदाउछ

दक्षिणतिर उत्सव हुँदा

झोला उत्तर तिर फर्काउँछ

उत्तरतिर उत्सव हुँदा

झोला दक्षिणतिर कोल्टाउछ

दुवैतिर शान्त भयो भने

गोजीबाट कालो चस्मा झिकेर

आँखामा लगाउछ

शिर ठाडो बनाउँछ

हात माथी उठाउँछ

र मन्द हाँसो हाँस्छ

यसरी

छुट्टाछुट्टै अनुहारमा

फरक फरक हुलियामा

बर्षौँदेखी हिडिरहेछ एउटा मान्छे

झोलामा देश बोकेर ।

——————————————————————

दोस्रो कविता – ‘औलाको सहरमा’ (मोहित जोशी)

औलाको सहरमा

कुनै पुरानो सुनसान गल्ली
सडकको छातीमा छताछुल्ल छन केही थोपा रगतहरु,
छातीको बिचमा लम्पसार छ एक काटिएको औला ।
मानौ त्यो सडक एक सहिद हो,
जो मरिरहदा पनि रगताम्य हात छातीमा राखेर देश सम्झिरहेछ ।

बिचरो औलो,
भर्खरै प्रियाको कपाल सुमसुम्याएर आएको थियो
वा थियो प्रिया बाटै अपहेलित र एक्लो पारिएको,
र सडकमा लेखेको छ प्रियाले मात्रै बुझ्ने भाषामा रगतले प्रेमपत्र।
कुनै देशप्रेमी जवान खाडीमा श्रम बेच्न बाध्य मजदुरको औला,
मेसिनले काट्टिदा उछिट्टीएर यहाँ झरेको हुनसक्छ ?
र त अहिले पनि देशद्रोहिहरुलाई सावधान भन्दै तेर्सीरहेछ !

त्यो औलाको धर्म के होला?
आफ्नो सबै मनोकांक्षा बन्द हातमा लगि ईश्वर अगि जाने औला,
त जे दिन्छस त्यस्मै संतुष्ट छौ, हात खुला फिजाउने औला,
मस्तिष्क, छाती अनि आफ्नो दुई काध क्रमशः छुने औला;
मन्दिर, मस्जिद, चर्च सबै ठाउँ पुगेका औला,
जसले पल्टाइसकेछन गीता, कुरान, बाइबल सबैका पाना ।
समुहमा हुदा मात्र हुदोहो औलाको धर्म,
सिर्फ एक औलाको त कुनै धर्म हुदोरैनछ।
अहिले त डराउदैछन होला स्वयम् नित्सेका औलाहरु पनि
उसैले लेखेको “द गे साइन्स”को बिच पृष्ठ पल्टाउदै!

कोदालोलाई कलम बनाइ धर्तीका पानामा कविता फलाइरहेको औला; कृषकको हो कि कविको?
एक भोको वृद्द मजदुरको पेन्टिङ लाखौमा बिक्री हुदा पनि भोकै सुत्यो त्यो मजदुर,
मानवताको क्यान्भासमा गरिबीको रङ दल्न कुची बनेका औला; माफियाको हो कि चित्रकारको?
अहिंसाको पाठ पढाउन खरी बिर्सेर छ्डी समातेका औला; गुरु कै त हुन ?
कस्तो औला थियो होला?
कसरी चिन्ने
फुल रोप्ने र चुड्ने दुवै औला उस्तै त देखिन्छन?
जीवन जीउन कुनै औला रसी बनाएर बेचिरहेछन,
र कुनै उस्तै औला जीवन त्याग्न त्यै रसी किनिदिन्छ,
र जीवन जीउन पनि नसक्ने, मर्न पनि नसक्ने औलाहरु रसी नपुग्दै अट्किन्छन रक्सीका बोतलहरुमा !
विद्रोहको नाममा, प्यारको नाममा
कुनै औला कलम समाउछन, कुनै कुची समाउछन र उस्तै कुनै औला किन बन्दुक समाउछन?
उस्तै उस्तै औला, कुनै आमाको पाइतला छुने, कुनै प्रियाको कपाल चलाउने, अनि कुनै वेश्याको अङ्ग खेलाउने ।
खै कुन थियो होला औला देशको झन्डा सिउने कि सडकमा टायर बाल्ने ?
बुवाले छोरो पढाउन औलो बेच्छ,
छोरो पढ्छ, जागिर खान्छ, पैसा कमाउछ किन्न त्यै औला,
उसलाई हान्नु थियो जिउदै बुवाको मृत्युपत्रमा ल्याप्चे
र वसियतमा सिग्नेचर गर्छन छोराका औलाहरु
उफ औलाहरु; पढेलेखेका सिग्नेचर गर्ने / अनपढ ल्याप्चे हान्ने
औलाको कुनै पेसा हुदोरैनछ ।

कति जवान भए हिजोआज औलाहरु,
कमाइमा रमाउने औला कमिसनमा रमाइरहेछन,
कतै प्रेम सुन्दा बाआमाको फोटो पर्सबाट निकाल्ने औलाहरु आज किन भौतारिरहेछन रत्नपार्क जाने गाडीको डन्डी समाउन?
सानो उमेरमा उमेरकै कारण मद्दत गर्न नसक्दा दुखिहुने औलाहरु आज किन क्यामेरा खोजीरहेछन?
किन देशद्रोही विरुद्द मुठ्ठी कसिनु पर्ने औलाहरु व्यस्त भए फेसबुकमा टिप्पणी लेख्न ।
छ्या यी औलाहरु के भए?
बुढा भए, बिमार भए, कि बेसरम भए?

औलाको सहर हो यो ।
कुन होला त्यो सडकमा तेर्सिएको काटिएको औला??
एकता देखाउने कि एक्लो छु भन्ने,
आरोप लगाउने कि सावधान भन्ने?

प्रश्न र विचारको द्वन्द सुनाउदै थिए औलालाई,
आक्रोशित हुँदै परबाट उफ्रिदै आयो एक बुढी औलो,
देखे जसको नङमा थियो सजिएको देशको सम्मान
अनि बोल्न थाल्यो औला:
“एक भोट थिए; दिइ त सके!
म पनि कुनै त्यही औला थिए,
रदिफाको, राधाको, क्रिसटिनाको,
साजिदको, गोपालको, डेभिडको
लेखकको, नेताको, गुन्डोको”
औलाको नङमै कैद छ भाषणको त्यो गणतन्त्र,
स्वतन्त्रता शब्दमै कैद रहेछ!
जस्तै स्वतन्त्र हुन्छु भन्दै टाढिएकी उ कैद छे उसकै बाडुल्कीहरुमा।
हिटलरले ग्यासच्यामबर कोलोनी गराएको भन्दा थाह हुनसक्लान प्रतिकुल षड्यन्त्रहरु,
निस्ससिनु तर नउठाउनु औला,
गणतन्त्र गणतन्त्र गणतन्त्र
हैन गलततन्त्र गलततन्त्र गलततन्त्र!
गलततन्त्रमा गलतको बिरुद्ध उठाउदा कटिदैछन औलाहरु
र काटिदा हेरिन्न औलाको नहुने धर्म अनि पेसा,
अचेल औलाको हेरिदोरहेछ त फगत एक भोट।

बिगबिगी छ काटिएका औलाहरुको,
औला भएर पनि काटिए सरह नै हुन्छ फुर्वा थारुलाई
जब नागरिकताले राहत दिन्छ भन्ने सुनेर सिविरमा गएको उसलाई
मागिन्छ उसको परिचय, बुवाको नागरिकता र नाम।
किन भेटिन्छ सरकारको औला पराइको पाउमा अनि सन्तानको घाटीमा?
किन युद्द विराम, सत्ता परिवर्तन भइसकेपछी फेरी समाउन खोज्दैछन बन्दुक छापामारका औलाहरु?

सिर्फ एक औलाले त यति भयावह मच्चाएछ,
मन्दिरको घन्टी छोयो भन्दै काटीरहेछन कि रामहरु शुद्र सम्बुकको औला?
चुडिएका कलिला फूलमा किन भेटिन्छ माली कै औलाका छापहरु?
कास यो औला कुनै माली दुस्सासनको हुन्थ्यो!
कतै आमाको सारीमा पनि छन कि परायाका औलाहरु?
र त जन्मिरहेछन कपुतहरु?
जो छोड्दैछन नेपाललाई वृद्दाश्रममा ।
कतै सिमानामा घोचिरहेछन कि छिमेकीका औलाहरु,
र त बाराखरी क्रमको बाहाना बनाएर नेपाल भन्दा पहिले सिकाइदैछ औलाहरुलाई लेख्न भारत।
मानचित्ररमा दुब्लाइ रहेछ मेरो देश, सानो देखिदैछ,
भारी भएकाछन सिमानाका सहिदका सालिकहरु।
कतै कुनै बेला झुक्नै नमान्ने नेपाली शिर जस्तै एकता देखाइरहने पृथ्वीनारायण शाहको औला त्यहि त होइन??

आवज सुनिने रोग सधै सिजोफ्रेनिया हुदैन,
कान त भित्ताहरुका पनि हुन्छन,
जब मलाई लाग्छ म आवजहरु सुन्दैछु
म भन्न चाहन्छु सधै,
महोदय, मुख पनि हुन्छ भित्ताहरुको!
सुनसान रहने यो गल्लीमा आज भित्ताहरु चिच्याइरहेछन।
औला चिच्याइरहेछ।
र अहिले म हात खल्ती भित्र राखेर सुरक्षित पार्दैछु आफ्नो औला।

——————————————————————

तेस्रो कविता – ‘म नै सर्वहारा’ (पवन ढुंगाना)

म नै सर्वहारा

म भित्र छ आगो म भित्रै छ पानी

नबल्दै म निभ्ने पुरानो कहानी

सदा क्रुद्द मेरा  सुधा रक्तधारा

म भोको म नाङ्गो म नै सर्वहारा ।

म कालो म रातो म सेतो पहेँलो

तुफानी म आफैं म आफैं डढेलो

अध्याँरो छिचोल्ने म नै जुन तारा

म प्यासी उदासी म नै सर्वहारा ।

म विद्रोह गर्ने जुझारु सु-योद्दा

नयाँ जीत कोर्ने म नै युद्द यौटा

कहाँ बल्छ आगो ? म भित्रै छ ज्वाला

म नै मेघ कालो म नै सर्वहारा ।

यहाँ फुल फुल्छन् हुँदैनन् वसन्त

छ उद्दानमा के ? छ मेरै सुगन्ध

म नै क्रान्तीको गीत, संगीत सारा

सधैको म नारा म नै सर्वहारा ।

भिजेको छ आँखा जलेको छ छाती

सधैं कर्म गर्दै म बाच्ने तथापी

म बाँच्दै ? कि मार्दै ? छु एकै छ पारा

न ज्यूँदो न मुर्दा म नै सर्वहारा ।

कतै भोक भित्र हराएँ कुनै दिन

कतै शोक चिर्दै कराएँ कुनै दिन

म नै शान्त आकाश, साग किनारा

म विष्फोट आफैँ, म नै सर्वहारा ।

सुनौलो बिहानी सुनौलो प्रथाको

म नै दीप पहिलो नयाँ सभ्यताको

म हूँ क्रोध कालो म  नै साम्य रारा

छु चट्टान जस्तै म नै सर्वहारा ।

म तोड्दैछु किल्ला जहाँ छन् कुरीति

म हूँ क्रान्तिको पूर्णताको विभूति

छ आवाज मेरो स्वतन्त्र सहारा

ननिभ्ने म तारा म नै सर्वहारा  ।

——————————————————————

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata